त्रिवि ऐनको कारण स्थगित भयो त्रिविसभा

7.61k
Shares

-बाधक कुलपति होइन, ऐन हो

-उपकुलपतिको दौडमा अर्याल, उप्रेती र अधिकारी

-केही दिनमै उपकुलपतिको टुंगो लाग्ने

काठमाडौं।

त्रिभुवन विश्व विद्यालयका उपकुलपतिको सिनेट बैठक स्थगितका विषयमा सिनेट सदस्यहरूले विभिन्न अड्कलबाजी गरे तापनि त्रिवि ऐन र तीन महिने उपकुलपतिलाई दिइएको पत्र बाधक रहेकोले बैठक स्थगित भएको हो ।

केही सिनेट सदस्यले केही दिनपछि बिदा हुन लागेका उपकुलपति प्राडा खड्ग केसीले आफूअनुकूल र त्रिविलाई दीर्घकालीन असर पर्ने निर्णय गर्न लागेको गुनासो गरेपछि र कानुन बाधक रहेको कारण थाहा पाएपछि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओेलीले बैठक स्थगित गर्न निर्देशन दिनुभएको हो ।
उच्च स्रोतका अनुसार उपकुलपति प्राडा केसीले छलफल नगरी सुटुक्क नीति तथा कार्यक्रम र बजेट ल्याउन बैठक बोलाउनुभएको थियो । तर, ऐनले कामचलाउ उपकुलपतिले बजेट ल्याउन मिल्ने कानुनी आधार खडा नगरेको कारण बैठक स्थगित भएको हो ।

त्रिवि ऐन २०४९को दफा २१ को उपदफा ‘ख¬’ मा ‘त्रिवि ऐनमा जेसुकै लेखिएको भए तापनि विश्वविद्यालयको कुनै पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी सह–कुलपतिको परामर्शमा कुलपतिले र अन्य पदाधिकारीको जिम्मेवारी उपकुलपतिले विश्वविद्यालयको कुनै वरिष्ठतम प्राध्यापकलाई तोक्नेछ’ भनिएको छ । सोही आधारमा कुलपति एवं प्रधानमन्त्री ओलीले सिनेट बैठक स्थगित गर्न निर्देशन दिनुभएको हो ।

त्रिविमा रेक्टरसमेत निमित्तको भरमा छ । उपकुलपति प्राडा केसीले मानविकी तथा सामाजिक संकायका डीन प्राडा दुबिनन्द ढकाललाई निमित्त रेक्टरको जिम्मेवारी दिनुभएको थियो । उपकुलपति र रेक्टर नै काम चलाउ भएको कारण सिनेट बैठक गर्न कानुनी अड्चन आउने भन्दै बैठक स्थगित भएको त्रिवि स्रोतले जनायो । तीन महिने उपकुलपति प्राडा केसीको कार्यकाल आगामी साउन २ गते सकिने उल्लेख गर्दै स्रोतले भने– ‘कुलपति एवं प्रधानमन्त्री ओलीले आउँदो हप्तामा उपकुलपति नियुक्ति गर्ने सम्भावना छ । उहाँले नयाँ उपकुलपति नियुक्ति भएपछि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने जनाउनुभएको हो । सोही आधारमा बैठक स्थगित भएको हो । अब नवनियुक्त उपकुलपतिले बजेट, नीति तथा कार्यक्रम र ग्रेसलिस्ट पास गर्न सिनेट बैठक बोलाउनु हुनेछ ।’

कुलपति ओलीले तत्काल उपकुलपति नियुक्ति गर्ने योजना अघि सारेपछि आइतबारको बैठक स्थगित भएको हो । त्यसअघि नै नयाँ उपकुलपति नियुक्तिगर्ने गृहकार्य शुरू भएको छ । स्रोतका अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनौट समिति गठन भएको छ । सो समितिले केहीको नाम सिफारिस गर्ने तयारी गरेको छ । स्रोतका अनुसार छनौट समितिले विनील अर्याल, दिल्ली उप्रेती, योगेन्द्र राईको र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिव अधिकारीको नाम अघि बढाएको जनाएको छ । यद्यपि, समितिले कसको नाम सिफारिस गर्ने तयारीमा छ भन्ने विषय पूरै गोप्य राखेको छ ।

रेक्टर पद छाडेर तीन महिने उपकुलपतिको जिम्मेवारी लिनुभएका केसी फेरि रेक्टरमै फर्कने हो, वा बिदा लिने भन्ने विषयमा निर्णय भइसकेको छैन । स्रोतले दिएको जानकारीअनुसार विनिल अर्याल उपकुलपति भए केसीले रेक्टर नस्वीकार्ने बुझिएको छ । उपकुलपति केसीले रेक्टर ढकाललाई घुमाउरो रूपमा फेरि आफैं फर्कने गरी रेक्टरको पत्र दिनुभएको थियो । रेक्टरलाई दिएको पत्रमा उपकुलपति केसीले उपकुलपतिको जिम्मेवारी सम्हालेको अवस्थामा सो पदमा मेरो अनुपस्थिति हुने भएकोले वैशाख २ गतेदेखि डीनको अतिरिक्त निमित्त शिक्षाध्यक्षको काम गर्र्नुहुन भनिएको छ ।

उपकुलपति नभए फेरि रेक्टरको पदमा आउन चलखेल गरिरहनुभएका उपकुलपति केसीले जसरी भएपछि आफ्नो पुरानो पद दोहो¥याउन चाहनुहुन्छ । तर, त्रिविका उच्च अधिकारीले उपकुलपति भइसकेका व्यक्ति फेरि रेक्टर पदमा आउन नमिल्नै भन्दै सो पद माओवादीलाई दिन आन्तरिक छलफल गरेको छ ।
स्रोतका अनुसार हालको निमित्त रेक्टर प्राडा ढकाल माओवादीको कोटाबाट डीनमा नियुक्त हुनुभएको हो । अघिल्लो कार्यकालका उपकुलपति प्राडा केशरजंग बरालले त्रिविका केही कर्मचारीसँग आफूसँगै नियुक्त भएका दुई पदाधिकारीले पनि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउने गर्नुभएको छ । पूर्व उपकुलपति बरालले गरेको कुराकानी सुनाउँदै ती पदाधिकारीले भने –‘उहाँहरू (रेक्टर र रजिस्टार) म कमान्डर हुँदा सिपाही हुनुहुन्थ्यो । कमान्डरले राजीनामा दिइसकेको अवस्थामा सिपाही कुर्सीमा बस्नु कुनै औचित्य छैन ।’

दुवै पदाधिकारी पार्टीको चाहनाभन्दा पनि उपकुलपति बरालको चाहनाअनुसार नियुक्ति भएका थिए । आफूले तत्कालिन सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसंग आग्रह गरेको र सोही आधारमा कुलपति एवं प्रम ओलीले उहाँहरू दुवैलाई नियुक्ति दिनुभएको बरालकोे भनाइ छ । उपकुलपति बरालले राजीनामा दिएपछि बिरक्तिएका दुई पदाधिकारी उपकुलपतिलाई फकाउन पोखरास्थित निवाससम्म पुगेका थिए । तर, उपकुलपति बरालले आफू उपकुलपतिको जिम्मेवारीमा नफर्किने स्पष्ट पार्नुभएको थियो । तीन महिने उपकुलपति केसी फेरि उपकुलपतिको दौडमा हुनुहन्छ । कुलपतिसँग टुयुनिङ मिल्न नसकेकोले उहाँ फेरि उपकुलपति हुने सम्भावना न्यून रहेको स्रोतको दाबी छ ।

पछिल्लो समय उपकुलपति प्राडा केसीको काम गराइप्रति कुलपति सन्तुष्ट हुनुहन्न । लामो समयदेखि तीन पदाधिकारीको कार्यकक्षमा लागेको ताला खोल्न नसक्नु, सरोकारवालासँग छलफल नगरी फास्टट्रयाकबाट प्राध्यापक नियुक्ति गर्र्नु उहाँको गलत निर्णय भएको भन्दै उहाँप्रति असन्तुष्ट रहेका अधिकारी पनि केसीलाई उपकुलपति हुन नदिने योजनामा छन् ।