०८४ बाट क्रान्तिको नयाँ चरण सुरु हुन्छ : अध्यक्ष दाहाल


काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो वर्ष ०८४ लाई नेपाली क्रान्तिको एउटा नयाँ चरणको रूपमा अघि बढाउने दाबी गर्नुभएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित नेकपा (माओवादी केन्द्र) पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले मुलुकमा नयाँ क्रान्तिको शंखघोष गर्न ०८४ महत्वपूर्ण बन्ने स्पष्ट पार्नुभयो।

उहाँले महिला, उत्पीडित, आदिवासी, जनजाति लगायत सबै उत्पीडित वर्गका निम्ति उठाइएको क्रान्तिको झन्डामा संगीतले ठूलो भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले जनयुद्धताका भाषण, दर्शन, सिद्धान्तभन्दा पनि गीत, सङ्गीत र नृत्यले जनभावनालाई जोड्न प्रभावकारी भूमिका खेलेको स्मरण गराउँदै आगामी निर्वाचनमा पनि त्यही माध्यमले निर्णायक भूमिका खेल्ने बताउनुभयो।

‘आउने ०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ,’ अध्यक्ष दाहालले भन्नुभयो, ‘मलाई विश्वास छ, कमरेडहरूको रूपमा तपाईँहरूले पनि आफ्नो भूमिका पूरा गर्नुहुनेछ।’

अध्यक्ष दाहालले पर्सा जिल्लाबाट पार्टीको विजय यात्रा सुरु भएको दाबी गर्दै कार्यकर्तालाई आगामी निर्वाचनका लागि अझ सक्रिय हुन आह्वान गर्नुभयो।