खोटाङ।
खोटाङको लिची उत्पादन हुने क्षेत्रहरुमा यो बर्ष एक बोट बराबर ४५ हजार रुपैयाँ बराबरसम्मको बिक्री भएको छ । रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका खड्गप्रसाद रेग्मीले यस वर्ष एउटै बोटमा फलेको लिची ४५ हजारमा ठेकेदारलाई घरैबाट बिक्री गरेका हुन् ।
रावाबेँसी गाउँपालिकामा यस वर्ष १ सय ८४ मेट्रिक्टन लिची उत्पादन भएको छ । छ वडा रहेको यो गाउँपालिकाको वडा नं. १ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक्टन लिची उत्पादन भएको जनाइएको छ । कुभिण्डेमा ११ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले बताए ।
रावाबेँसी गाउँपालिकामा उत्पादित लिची जिल्लाका विभिन्न हाटबजार तथा काठमाडौँ र पूर्वी तराईका विभिन्न जिल्ला निर्यात हुने गरेको छ । विभिन्न जिल्लाबाट आउने ठेकेदारहरुले बोटबाटै प्रति दाना एक रुपैंयााँका दरले खरिद गर्ने गरेको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जनाए ।

लिची उत्पादनको केन्द्र मानिने उक्त गाउँपालिकामा यस वर्ष लिची बिक्रीबाट झण्डै एक करोड रुपैयाँ रकम भित्रिएको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ । प्रति केजी ५२ रुपैंयाँले हिसाब गर्दा ९५ लाख ६८ हजारभन्दा बढी आम्दानी देखिएकोे कृषि शाखा प्रमुख बास्तोलाको भनाई छ । स्थानीय कृषकले भने लिचीबाट एक करोडभन्दा बढी रकम भित्रिएको दाबी गरेका छन् । स्थानीय कृषकले गाडी रिजर्भ गरेर दिक्तेलबजार तथा हलेसीबजारमा लगेर प्रति केजी एक सय रुपैंयाँमा लिची बिक्री गर्ने गरेका छन् ।
एक पटक रोपिएका बिरुवाले लामो समयसम्म उत्पादन दिइरहने भएकाले जिल्लाका कृषकहरुसमेत लिचीको व्यावसायिक खेतीमा आकर्षित हुन थालेका छन् । लिची उत्पादनबाट राम्रो आम्दानी हुने भएपछि स्थानीय सरकारले कृषकलाई लिचीका बिरुवा उत्पादन तथा खरिद गरेर निःशुल्क उपलब्ध गराउँदै आएको छ ।











प्रतिक्रिया