काठमाडौं।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधारोन्मुख देखिएको छ । गत वर्षको तुलनामा झण्डै १३ प्रतिशतले वृद्धि भई यस वर्ष ६१ दशमलव ८१ प्रतिशत विद्यार्थीले ग्रेड पाएका छन् । एकै वर्षमा झण्डै ४८ प्रतिशतबाट ६१ प्रतिशतमा पुग्नुमा भने केहीले शंका व्यक्त गरेका छन् । यद्यपि, प्रधानमन्त्रीदेखि शिक्षक, विद्यार्थी र अभिभावकलगायतले गम्भीर चासो देखाउँदै पढाइ शैलीमा सुधार गरेको कारण उत्तीर्ण प्रतिशत बढेको बताइएको छ ।
शिक्षाविद् प्राडा बालचन्द्र लुइँटेलले प्रश्नपत्र निर्माण गर्ने शैलीमा परिवर्तन भएका कारण उत्तीर्ण प्रतिशत बढेको जिकिर गर्दै भन्नुभयो– ‘कक्षा कोठामा शिक्षकको उपस्थिति नियमित भएको, पढाउने शैलीमा परिवर्तन र परीक्षाको विषयमा विद्यार्थीलाई लगातार जागरुकता बढाएका कारण सकरात्मक परिवर्तन आएको होे । उत्तरपुस्तिका परीक्षण र पुनः परीक्षणमा गम्भीर भएका कारण पनि उत्तीर्ण प्रतिशत बढेको हो ।’
पूर्व शिक्षासचिव डा. खगराज बरालले गत वर्षको लेटरग्रेडिङ प्रणालीमा आएको परिवर्तनका कारण उत्कृष्ट परीक्षाफल आएको टिप्पणी गर्दै भन्नुभयो– ‘लेटरग्रेडिङ प्रणाली लागू हुनुअघि सबै विद्यार्थी पास हुने आशमा पढाइ खस्केको थियो । अहिले एनजी (नन इलिजेबल ) को व्यवस्था गरेपछि सुधार भएको छ । नयाँ व्यवस्थाअनुसार एनजी आए फेरि परीक्षा दिनुपर्ने हुन्छ । अर्थात एनजी भन्नाले अनुत्तीर्ण वा सोसरह हो । एनजी ल्याउने विद्यार्थीले फेरि परीक्षा दिनुपर्ने भएपछि विद्यालयले पढाइमा कडाइ गन थालेको हो ।’ एनजीको व्यवस्थासँगै उत्तीर्ण हुनेगरी पढाउने संस्कारमा सुधार आएपछि उत्तीर्ण प्रतिशत बढ्नु स्वाभाविक भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘यो वर्ष ६१ प्रतिशत पुगेको छ । आउँदो वर्ष थप वृद्धि भएमा परीक्षामा सुधार भएको मान्न सकिन्छ । होइन भने यो वर्ष उत्तीर्ण गराउनको लागिमात्र प्रतिशत बढाएको आशंका बढ्छ ।’
शिक्षाविज्ञ एवं लिट्टल एन्जल्स स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्माले ४८ बाट ६१ प्रतिशत उत्तीर्ण हुनुलाई एसईई सुधार भएको मान्नुपर्ने धारणा राख्दै भन्नुभयो– ‘सबै सरोकारवालाको चाहानाका कारण उत्कृष्ट नजिता आएको हो । चाहेको भए गत वर्ष पनि हुनसक्थ्यो तर सरकारी विद्यालय सुधार गर्न नसकेका कारण समस्या परेको हो । १३ प्रतिशत बढ्नु कुनै ठूलो विषय होइन, विद्यालयमा प्रअ, शिक्षक र विद्यार्थीको अथक प्रयासले आगामी वर्षमा थप बढ्न सक्छ ।’ उहाँले प्रधानमन्त्रीको निर्देशन, मन्त्रीलगायत सबै निकायकोे लगातार प्रयासपछि परीक्षा सुधारिएको बताउनुभयो ।
अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले अहिले व्यापक सुधार भएछ भन्ने अवस्था नभएको दाबी गर्दै अर्को वर्षकोे नतिजाले मात्र सुधार भएको वा नभएको भन्न सकिने बताउनुभयो । यति धेरै प्रतिशत बढ्नुले शंका उब्जाएको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘कृपाङ्क बढी दिइएको हो कि ? सुधार भएको हो, अर्को वर्षको नतिजाले बताउँछ । एक वर्षमा १० प्रतिशत बढ्छ, एकै पटक यति धेरै ग्राफ कसरी माथि आयो ? १३ प्रतिशत किन बढ्यो ? भन्ने विषयमा अझै अनुसन्धान गर्नुपर्छ ।’
राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा सुधार भएको भन्दै ६१ प्रतिशत उत्तीर्ण गराएको हो । यो वर्ष नियमिततर्फ ४ लाख ३८ हजार ८सय ६ जना सहभागी थिए । गत वर्ष ४७ दशमलव ८७ प्रतिशत मात्र उत्तीर्ण भएका थिए । २०८१ सालको एसईईको तुलनामा यसवर्ष १३ दशमलव ९५ प्रतिशत बढी उत्तीर्ण छन् ।
गत वर्ष २ लाख २२ हजार ७ सय ७२ जनाले ननग्रेड (एनजी) पाएका थिए । यस वर्ष १ लाख ६७ हजार ५ सय ९७ जनाले ननग्रेड पाएका छन् । ननग्रेड ल्याएका विद्यार्थीले आगामी साउन २९ गते पूरक परीक्षा दिने व्यवस्था गरेको छ । यो वर्षबाट गत वर्ष जारी निर्देशिकामा भएको संशोधनकै आधारमा मौका परीक्षामा सहभागी हुन पाउनेछन् । यो वर्षबाट दुईवटा मात्रै होइन जतिवटा विषय लागे पनि पूरक परीक्षामा सहभागी हुन पाउनेछन् ।
अघिल्लो वर्ष भएको संशोधनले दुई विषयमा मात्रै पूरक परीक्षा दिन पाउने व्यवस्थालाई बदलेर दुईभन्दा बढी विषयमा ननग्रेडेड ल्याउने विद्यार्थी पनि मौका परीक्षामा सहभागी हुन पाउने बनाइएको छ ।
यो वर्षको परीक्षामा सबैभन्दा धेरै ननग्रेडेड ल्याउने परीक्षार्थी मधेस प्रदेश र सबैभन्दा कम वागमती प्रदेशका रहेका छन् । परीक्षा बोर्डका अनुसार मधेस प्रदेशमा नियमिततर्फ सहभागी ५९ हजार ७ सय ४९ विद्यार्थीमध्ये ४२ हजार ७ सय ७९ जना ननग्रेडेड भएका छन् । त्यस्तै, वागमतीमा परीक्षामा सहभागी १ लाख १९ हजार ५ सय १७ विद्यार्थी सहभागी भएकोमा २० हजार ९ सय ४७ जना ननग्रेडेड भएका छन् । यस्तै, गण्डकी प्रदेशमा ४७ हजार ८ सय ४९ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ११ हजार ३ सय २८ विद्यार्थी ननग्रेडेड भएका छन् ।
कोशीमा ४७ हजार ८ सय ३५ मध्ये २३ हजार ६ सय ३१ ननग्रेडेड भएका छन् । लुम्बिनीमा ५७ हजार ६ सय ८७ मध्ये २८ हजार २सय ७४, कर्णालीमा ४६ हजार ४ सय ५५ मध्ये १३ हजार ७ सय ६५ र सुदूर पश्चिममा ५९ हजार ८ सय ४ मध्ये २६ हजार ८ सय ७४ जना विद्यार्थी ननग्रेडेड भएका छन् यो वर्षको परीक्षामा सबैभन्दा बढी गणित विषयमा ननग्रडेड आएको छ ।
गणितमा ननग्रेडेड ल्याउनेको संख्या १ लाख २८ हजार २ सय १५ जना छन् भने दोस्रो अंग्रेजीमा ८० हजार ६ सय ७२, विज्ञानमा ७९ हजार २ सय ७१, नेपालीमा ५४ हजार ७ सय ३५ र सामाजिकमा ४२ हजार १ सय ५० परीक्षार्थीले ननग्रेड पाएका छन् । एसईई कार्यालयले नतिजा चित्त नबुझे असार २३ गतेभित्र पुनर्योगका लागि आवेदन दिन सकिने जनाएको छ । यो वर्षको पूरक परीक्षा साउन २९ गतेबाट सञ्चालन हुनेछ ।
परीक्षामा उत्तीर्ण हुने विद्यार्थीले नतिजामा सैद्धान्तिकतर्फ ७५ अङकको परीक्षामा ३५ प्रतिशत अर्थात २७ अङक नल्याए एनजी उल्लेख गरिने छ । एनजी उल्लेख भएका विद्यार्थी अनुत्तीर्ण सरह हुन् । उनीहरूले पुनः उत्तीर्ण भएपछि मात्र माथिल्लो कक्षामा पढ्न पाउने व्यवस्था छ । सरकारले लेटर ग्रेडिङ–२०७८ लागू गराएपछि पहिलो पटक यस्तो व्यवस्था भएको हो ।

प्रश्नपत्र निर्माण शैलीमा परिवर्तनले गर्दा नतिजामा सुधार भएको हो ।
प्राडा बालचन्द्र लुुइँटेल, शिक्षाविद्

लेटरग्रेडिङ लागू भएपछि पढाउने संस्कार सुधारियो ।
डा. खगराज बराल, पूर्व शिक्षा सचिव

अचम्म मान्नुपर्दैन, पढाइको स्तर बढाएका छौं ।
मुकुन्दराज शर्मा, शिक्षाविद्

अर्को वर्षको नतिजाले के भन्छ, त्यसपछि मात्र सुधार भएको नभएको यकिन गर्न सकिन्छ ।
सुप्रभात भण्डारी, अध्यक्ष अभिभावक महासंघ











प्रतिक्रिया