कपिलवस्तुमा भूमिहीन सुकुम्वासीको नापजाँच कार्य तीव्र


कपिलवस्तु ।

कपिलवस्तुमा दशकौँदेखि भूमिहीन रहेका सुकुम्वासी समुदायको जग्गा नापजाँच प्रक्रिया सुरु भएको छ। भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लाका पाँच स्थानीय तहमा सात टोली खटाएर नापी कार्य अगाडि बढाएको छ।

अहिलेसम्म कपिलवस्तु नगरपालिका–६ मा नापी अन्तिम चरणमा पुगेको छ भने बाणगङ्गा, बुद्धभूमि, शिवराज र विजयनगरका विभिन्न वडाहरूमा टोली परिचालित रहेको आयोगका अध्यक्ष झवीलाल पोख्रेलले जानकारी दिनुभयो।

पोख्रेलका अनुसार स्थानीय प्रशासनसँग समन्वयमा छिटो कार्य सम्पन्न गर्ने प्रयास जारी छ। विजयनगर गाउँपालिका–१ को थरौलीमा पाँच दशकदेखि बसोबास गर्दै आएका करिब १८ सय घरधुरीले लालपुर्जा पाउने आशा गरेका छन्।

आयोगका सदस्यहरूले समयमै नापजाँच कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।