काठमाडौं।
नेपालमा कोभिड–१९ सङ्क्रमणको सुरुवातदेखि अहिलेसम्म करिब पाँच वर्षको अवधिमा १२ हजारभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । पछिल्लो पटक २५ महिनापछि कोभिड संक्रमणबाट यहीँ मंगलबार बिराटनगरको नोबेल अस्पतालमा एक ३९ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएपछि पुनः सतर्कता आवश्यक भएको विज्ञहरू बताउँछन् ।
विश्व व्यापी रुपमा महामारीको रुपमा सन् २०१९मा देखा परेको कोभिड–१९ को नेपालमा पहिलो सङ्क्रमित व्यक्ति २०७६ माघ ९ गते फेला परेका थिए । उनी चीनको वुहानबाट नेपाल फर्किएका ३२ वर्षीय नेपाली विद्यार्थी थिए । त्यसपछिका महिनाहरूमा सङ्क्रमण विस्तार हुँदै गयो ।
त्यतिबेला प्रारम्भिक चरणमा विदेशबाट नेपाल भित्रने यात्रुहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जाँच थालिएको थियो । २०७६ चैत ११ गतेदेखि सरकारले पूर्ण लकडाउनको घोषणा गर्दै सबै सार्वजनिक गतिविधिहरू रोक्यो । यसले जनजीवन ठप्प बनायो — विद्यालय, बजार, कार्यालय, यातायात पूर्ण रूपमा बन्द भए ।
नेपालमा कोभिड १९ बाट पहिलो पटक सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको २०७७ साल जेठ १४ गते मृत्यु पुष्टि भयो । उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुत्केरी भएपछि डिस्चार्ज भइ घर फर्केकी थिइन् । केही दिनपछि जटिल बिरामी भै उनलाई बाह्रविसेका विभिन्न अस्पताल हुँदै धुलिखेल अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा धुलिखेल अस्पतालमा मृत्यु भयो । परीक्षणमा कोभिड पुष्टि भएपछि यो नेपालकै पहिलो कोभिड मृत्यु पुष्टि गरियो ।
उनको शव नेपाली सेनाको टोलीले विशेष सुरक्षा मापदण्ड अपनाएर पशुपति स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको थियो । नवजात शिशु भने सुरक्षित थिए ।
यस पछिको दोस्रो लहर २०७८ सालको वैशाखदेखि नेपालमा दोस्रो लहर सुरु भयो । भारतबाट आएको डेल्टा भेरियन्टले सङ्क्रमण र मृत्युको दर अत्यन्तै बढायो । अस्पतालहरूमा अक्सिजन, बेड र स्वास्थ्यकर्मीको चरम अभाव भयो । हजारौं मानिसले उपचार नपाएर ज्यान गुमाए ।
सुरक्षात्मक सामग्री, अक्सिजन सिलिन्डर र औषधीका लागि भारत, चीन, अमेरिका लगायत देशबाट सहायता ल्यायो ।
खोप अभियान
नेपाल सरकारले फ्रन्टलाइन स्वास्थ्यकर्मीहरू र संचारकर्मीहरुबाट खोप अभियान सुरु ग¥यो । भारतबाट कोभिशिल्ड, चीनबाट सिनोफार्म, अमेरिका÷विश्व स्वास्वास्थ्य संगठनबाट फाइजर र मोडेर्ना खोप प्राप्त भयो । पछि सबै उमेर समूहका आम नागरिकहरूलाई खोप दिइयो ।
२०७८ भदौदेखि सङ्क्रमण दर घट्न थाल्यो र जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्कियो ।
तेस्रो लहरमा ओमिक्रोन भेरियन्ट २०७८ को अन्त्यतिर र २०७९ को सुरुवातमा देखा पर्यो । यसको सङ्क्रमण दर उच्च भए पनि लक्षण सामान्य देखिएको थियो । यस लहरमा अस्पतालहरूको चाप कम देखियो, मुख्यतः खोप प्रभाव र पूर्वसंक्रमणले प्रतिरोधात्मक क्षमता बनायो ।
यो अवधिमा नेपालमा कोभिडबाट थुप्रै विशिष्ट व्यक्तिहरूको निधन भयो । मृत्यु हुनेमा मोहनराज मल्ल – सुदूरपश्चिम प्रदेशका पूर्वगभर्नर, उज्वल थापा – विवेकशील साझा पार्टीका संस्थापक, दिनेशचन्द्र यादव – संविधानसभा सदस्य, इन्जिनियर अली अख्तर मिकरानी – प्रधानमन्त्री सल्लाहकार लगायत रहेका थिए।
२०८२ साल असार १० गते विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ३९ वर्षीया महिलाको कोभिडका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । उनलाई उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा मृत्यु भएपछि परीक्षणमा कोभिड पुष्टि भएको थियो ।
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, हाल देखिएको कोभिड सङ्क्रमण ओमिक्रोन भेरियन्टको नयाँ संस्करण हो । “कोभिड अहिले पनि जोखिममुक्त छैन । विशेषतः बृद्ध, दीर्घरोगी वा कमजोर प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूमा अझै पनि जोखिम रहन्छ,” डा. पुनले भने ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड १९ कारण नेपालमा कुल १२ हजार ३१ जनाको मृत्यु भएको थियो । १० लाख नेपालीमा कोभिड पुष्टि भएको थियो । मृत्यु हुनेमा झण्डै ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला रहेका थिए । तर सङ्क्रमित संख्या महिला पुरुषको दाँजोमा कम थिए र मृत्यु धेरै भएको विश्व स्वास्थ्य संगठनको रिपोर्टमा उल्लेख गरिएकोछ ।
तेस्रो लहरको कोभिड संक्रमणका बेला सरकारले उपकरण, औषधि, अक्सिजन समयमा उपलब्ध गराउँन नसकेका कारण पनि धेरैको ज्यान गयो । यतिमात्र नभै औषधि खरिदमा भएको नेताहरुको मनोमानी मृत्युको अर्को कारण भएको टीका टिप्पणी रहेको थियो । यसले सरकारका जिम्मेवार निकायमा रहेका उच्च पदस्त व्यक्तिहरु समेत अख्तियारको नजरमा परेका थिए ।
नेपालमा कोभिड–१९ को सङ्क्रमणको सुरुवातदेखि हालसम्म, सरकारले धेरै अनुभवहरू हासिल गरेको छ — स्वास्थ्य संरचना सुधार, आकस्मिक प्रतिक्रिया क्षमता र जनचेतनामा प्रगति भएको छ । यद्यपि, नयाँ भेरियन्ट देखा पर्न सक्ने सम्भावना र जोखिम अझै बाँकी छन् ।
स्वास्थ्य विज्ञहरू भन्छन् — “कोभिड गइसकेको छैन, केवल व्यवस्थापन योग्य बनेको हो । सतर्कता कहिल्यै बिर्सनु हुँदैन ।”











प्रतिक्रिया