त्रिविका कर्मचारी चौरमा, पदाधिकारी पुल्चोकमा: लुकी लुकी बजेट निर्माण

16.36k
Shares

–आज योजना परिषद्को बैठक

–२४ दिने उपकुलपतिले नीति ल्याउनु नैतिकताको प्रश्न

–२२ गते बजेट नीति तथा कार्यक्रम

–पाङ्ग्रेघरमा बजेट बन्दै

काठमाडौं

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा खड्ग केसीको टिमले लुकेर बजेट, नीति तथा कार्यक्रम तयार गरिरहेको छ । शिक्षक र कर्मचारीको विश्वास जित्न नसकेका उपकुलपति प्राडा केसीले पुल्चोकस्थित पाङ्ग्रेघरमा बसेर बजेट तयारी गरिरहनुभएको छ ।

जेठ १४ गते तालाबन्दी भएपछि उपकुलपति केसी, रेक्टर प्राडा दुबिनन्द ढकाल र रजिस्टार प्राडा केदार रिजाल कीर्तिपुरस्थित त्रिवि परिसरमा पाइला टेक्नुभएको छैन । तीनमहिने उपकुलपति प्राडा केसीको कार्यकाल अब २४ दिनमात्र बाँकी छ । नयाँ उपकुलपतिले आफ्नो भिजन, योजना र मिसनसहित नीति तथा कार्यक्रम ल्याउनुपर्ने हो । तर, उपकुलपति केसीले तीन सातामात्र बाँकी रहँदा नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा छन् ।

त्यसैको तयारी स्वरूप आज सोमबार योजना परिषद्को बैठक डाकिएको छ । बिहान ८ बजे इन्जिनियरिङ अध्ययन संस्थानमा डाकिएको बैठकमा परिषद्का अध्यक्ष एवं उपकुलपति केसीले योजना प्रस्तुत गर्ने कार्यक्रम छ । त्रिविको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद १३ मा त्रिविको सर्वाङ्गीण विकासका लागि दीर्घकालीन, मध्यकालीन तथा वार्षिक योजना तथा कार्यक्रमको कार्यान्वयनको समीक्षा गर्न परिषद् गठन भएको हो । परिषद्को सदस्य सचिवमा योजना महाशाखा प्रमुख रहने व्यवस्था छ ।

सो बैठकले नीति तथा कार्यक्रम पारित गरेपछि कार्यकारी परिषद्मा पेस हुनेछ । कार्यकारी परिषद्ले पारित गरेपछि असार २२ गते सिनेटमा पेस हुनेछ । प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सिनेट बैठक बस्ने भएको छ । सो बैठकले बजेट र नीति तथा कार्यक्रम पारित गर्नेछ ।
स्रोतका अनुसार उपकुलपति केसीले पदाधिकारी र सीमित कर्मचारीको घेराभित्र बजेट तयारी गरिरहनुभएको छ । आज नीति तथा कार्यक्रम पारित भएसँगै बजेटको बारेमा छलफल गर्न सजिलो हुनेछ । त्रिविमा वार्ता गरेर ताला खुलाउन नसक्ने उपकुलपतिसहितको टिमले के आधारमा कसका लागि कस्तो बजेट तयारी गर्ने हो सिनेटको बैठकमा जानकारी हुनेछ । तर, फेरि उपकुलपति बन्न चलखेल गरिरहेका प्राडा केसीले कर्मचारी, शिक्षक, विभागीय प्रमुखलगायतलाई जानकारी नै नदिई जबरजस्ती बजेट तयारी गरिरनुभएको छ ।

उहाँको तीनमहिने कार्यकाल सकिन २४ दिन बाँकी छ, तैपनि पूरै कार्यकालको उपकुलपति ठानेर बजेट निर्माण गरिरहनुभएको छ । लुकेर बजेट बनाएको के औचित्य ? कर्मचारीलाई खुसी बनाएर आफ्नै कार्यालयमा बसेर बजेट बनाउनु पो मुख्य विषय हो । उपकुलपति केसी अहिले कर्मचारी साथमा नलिई बजेट, नीति तथा कार्यक्रम पारित गर्ने तयारीमा हुनुहुन्छ ।

‘स्वायत्त निकाय त्रिभुवन विश्वविद्यालयको काम कर्तव्य र अधिकार बिर्सेर कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली गुहारेर विश्वविद्यालय सञ्चालन गर्न सजिलो पर्छ भन्ने सोचाइमा रहेका उपकुलपति केसीले अबको २४ दिनमा कति काम गर्नुहुन्छ, हामी हेरिरहेका छांै’ –उच्चस्रोतले भन्यो । हुन त सुरक्षाको घेराभित्र सिनेट राख्नुहोला । सिनेटपछि माग पूरा गर्न दबाब दिइरहेकाले आंशिक प्राध्यापक र विद्यार्थीलाई के उत्तर दिनुहोला ।

उपकुलपति केसीले केही कर्मचारीको सीमित घेराभित्र बजेट तयारी गरिरहनुभएको छ । वार्ता गरेर समस्या समाधान गर्नु त परै जाओस् विभिन्न निकायमा बसेर उहाँले काम गरिरहनुभएको छ । तीनमहिने उपकुलपति केसीले सचिवालय बनाउन सक्नुभएको छैन । कसको सहयोगमा कसरी काम गरिरहनुभएको छ, उत्तर छैन ।

त्यतिमात्र होइन विद्यार्थीसँग वार्ता गर्ने उहाँको चाहना छैन । आफ्नो मातहत कार्यालयका ३ सय जना कर्मचारी कामविहीन हुँदा समस्या समाधान गर्ने उपाय सोचेकै छैन । आंशिक प्राध्यापक, प्राध्यापक संघ, संगठनलगायत निकायसँग कुराकानी गरी समस्या समाधान गर्ने उहाँले सोच्नुभएको छैन ।

‘अहिले दैनिक चौरमा बसेर घर फर्किएका कर्मचारीलाई के कसरी सम्बोधन गर्नुहुन्छ ? उहाँसँगै उत्तर छैन । अघिल्ला उपकुलपतिहरू त कार्यालयमा तालाबन्दी हुनासाथ वार्ताको पहल गर्नुहुन्थो, उहाँ त भागेर कहिले पुल्चोक त कहिले बल्खु पुग्ने गर्नुभएको छ । उपकुलपति केसीलगायतको टिमले काम देखाउन उच्चतहका कर्मचारीलाई पत्तो नदिई बजेट तयारी गरिरहनुभएको छ’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।

वैशाख २ गतेबाट ३ महिने उपकुलपतिको बागडोर सम्हाल्नुभएका प्राडा केसी जेठ १४ गतेबाट विश्वविद्यालय टेक्नुभएको छैन । त्रिविका तीनैजना पदाधिकारी र त्रिवि सेवा आयोग र १० वटा निकायमा काम ठप्प हुँदा उहाँलाई मतलब छैन । तर, उपकुलपति केसी वार्ता गरेर समस्या समाधान गर्नुभन्दा पछि बाहिरै बसेर काम गर्न रुचाएजस्तो देखिन्छ ।