अपराध नियन्त्रण प्रणाली र सत्ता–प्रशासनबीच सेटिङको शंका

2.07k
Shares

काठमाडौं ।

त्यत्रो सुन प्रकरण भयो, मान्छे देशभित्रै खुलेआम हिँडिरह्यो, प्रहरीले किन देखेन, यस्ता काण्ड किन ओझेलमा परिरहे ? यो अहिले आम चासोको विषय बनेकोे छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचबाट २०८० साउन २ गते बाहिरिएको ६१ किलो सुन काण्डले फेरि मुलुकको अपराध नियन्त्रण प्रणाली र सत्ता–प्रशासनबीचको मिलेमतोको शंका गहिरिएको छ । सुनकाण्डमा प्रत्यक्ष संलग्नता देखिएकी रोल्पाकी अमला रोका दुई वर्षभन्दा लामो समयसम्म नेपालमै खुलेआम बस्दै आएकी थिइन् । तर, प्रहरी भने उनलाई ‘फरार’ सूचीमा राख्दै आएको थियो । आखिर उनी किन अहिलेसम्म समातिइनन् । यो अहिले चर्चाको विषय बनेको छ । यसलाई कतिपयले हाई लेबलको सेटिङको नतिजाका रूपमा लिएका छन् ।

२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एउटा स्कुटरमा लोड गरिएको सुन सहजै बाहिरिएको थियो । साउन ४ मा चिनियाँ नागरिक लिङ चुवान पक्राउ परे । उनले दिएको बयानबाट बेल्जियमका तिब्बती मूलका नागरिक दावा छिरिङ र उनकी पत्नी अमला रोकाको संलग्नता खुल्यो । दावा तत्काल पक्राउ परे, तर अमला भने नाटकीय ढंगले फरार भइन् । सीआईबीका अनुसार उनी टोखा क्षेत्रको एक फ्ल्याटमा निर्वाध जीवन बिताउँदै थिइन् ।

सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुुवेर खापुङले प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेकी रोकालाई पक्राउ गरी अदालतको जिम्मा लगाउने र बाँकी फैसला भने अदालतले गर्ने बताउनुभयो । रोका सशस्त्र द्वन्द्वकालमा माओवादी कार्यकर्ता थिइन् । उनका तत्कालीन पति सुजन प्रकाश द्वन्द्वमै मारिए । त्यसपछि उनी काठमाडौं बस्दै आएकी थिइन् र माओवादी सम्पर्क संगठनमार्फत सक्रिय रहिन् ।

रोकाको दोस्रो विवाह भने चिनियाँ नेटवर्कसँग जोडिएका दावा छिरिङसँग भयो । उनले रोकाकै सहयोगमा काभ्रेबाट नक्कली नाममा नेपाली नागरिकता लिए । त्यसपछि दुवैले मिलेर ‘होटल भियना’ सञ्चालन गरे, जहाँ सुन तस्करीदेखि विदेशी गिरोहसँगको समन्वय हुने प्रहरी अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार दावाका आपराधिक कामहरूलाई सहयोग गर्नु रोकाको मुख्य भूमिका थियो । कानुनतः उनको स्वामित्वमा रहेको ठमेलस्थित होटल भियना त्यस्तो कामका लागि प्रयोग हुन्थ्यो ।

२०७६ मा १२२ जना चिनियाँ नागरिक पक्राउ परेको कलसेन्टर प्रकरणमा पनि दावा छिरिङको भूमिका थियो । तर उनी जोगिए । उल्टै चिनियाँ दूतावासले नेपाल प्रहरीलाई जानकारी दिएपछि समेत प्रमुख योजनाकारमाथि कारबाही हुन सकेन । दावासँग प्रहरीका उच्च अधिकारीको सिधा सम्पर्क थियो । त्यति बेला तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन होटल भियनामा देखिनु अमलाको ‘सम्पर्क शक्ति’ को प्रमाणका रूपमा लिने गरिएको छ ।

उक्त सुन सुनकाण्डमा माओवादी नेताहरू कृष्णबहादुर महरा र वर्षमान पुनको नाम बारम्बार सार्वजनिक भए पनि उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइएन । विश्लेषकहरू भन्छन्– ‘यो काण्ड आपराधिक मात्र होइन, राजनीतिक संरक्षण र सत्ता संरचनाको दुरुपयोगको गहिरो नमुना हो । रोकाको फरार अवस्था कृत्रिम थियो, उच्च तहको दबाबमा उनलाई समातिएको थिएन ।’

थुनामा २५, को–को चोखिँदै ?

सुनकाण्डमा प्रहरीले २९ जनालाई मुद्दा चलायो । २५ जना थुनामा परे । पछि ७ जना सर्वोच्चको आदेशमा छुटे । अमला र जीवन चलाउने फरार सूचीमा परे । चलाउनेको नाममा इन्टरपोल नोटिस जारी छ । तर, अमला भने विमानस्थल नजिकैको टोखामा खुलेआम बसिरहेकी थिइन् । २३ महिनापछि अमला पक्राउ परे पनि, अब अदालतको बहानामा छानबिन कमजोर पार्ने, थोरै समय थुनामा राखेर रिहा गर्ने रणनीति हुन सक्छ भन्ने आशंका उब्जिएको छ ।