वृद्ध भत्ताको अनियमिततामा गाविस अध्यक्षसहित १७ जनाविरुद्ध मुद्दा

१० वर्षपछि भ्रष्टाचार ठहर


काठमाडौं।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वृद्ध भत्ता अनियमितता भएको आरोपमा १० वर्षपछि बाँकेको साविक नरैनापुर गाविसका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा तत्कालीन गाविस सचिवहरू सावितराम कुर्मी, अशोककुमार श्रीवास्तवसहित भत्ता बुझिलिने १४ जना छन् ।
अख्तियारका अनुसार सो गाविसले २०५७÷५८ देखि २०७२÷७३ सम्म उमेर नपुगेका, नागरिकता नभएका, भारतमा विवाह गरी गएकालाई नक्कली परिचय पत्र बनाएर ६ लाख ५६ हजार ७ सय रुपियाँ वितरण गरी हानिनोक्सानी गरेको पुष्टि भएको हो । तत्कालीन अध्यक्ष तथा सचिवहरू तथा भत्ता बुझ्नेहरूले समेत मिलेमतो गरी नक्कली विवरण बनाएर भत्ता वितरण गरिएको थियो ।

अख्तियारले भत्ता बुझेका ५ जनाको मृत्यु भएकाले उनीहरूको बिगो तत्कालीन सचिव सावितराम कुर्मीबाट असुलउपर गर्ने गरी मागदाबी गरिएको जनाएको छ ।