कामपा प्रहरी प्रमुख पाण्डे ६ महिना निलम्बन, आजबाट विष्णु जोशी प्रमुख 

प्रशासन विभाग प्रमुख काफ्लेको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन

40.23k
Shares

काठमाडौं । 

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई ६ महिनाको लागि निलम्बन गरेको छ । कामपा प्रमुख प्रशासकीय अधिकृत सरोज गुँरागाईले प्रहरी प्रमुख पाण्डेलाई ६ महिनासम्मको लागि निलम्बन गरेका हुन् । 

 निलम्बन गरेसंगै प्रशासन विभाग प्रमुख ध्रुव काफ्लेको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेको छ । यसअघि प्रहरी प्रमुख पाण्डेलाई प्रपअ गुँरागाईले बैशाख ५ गते ७ दिने स्पष्टीकरण सोधेका थिए । पाण्डेले ७ दिनमै लिखित जवाफ पेस गरेका थिए। पाण्डेले दिएको जवाफ चित्तबुझ्दो नभएपछि ६ महिने निलम्बन गरिएको हो । पाण्डेलाई हिजो मंगलबार निलम्बन गरिएको पत्र दिएको थियो । 

 निलम्बन भएपछि कामपामा प्रहरी प्रमुख प्रपअ गुँरागाईले निलम्बन गरेको पत्रमा २०८१ साल चैत्र २१ गतेका दिन काठमाडौं महानगरपालिका कार्यालय परिसरमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा घटाइएको अवाञ्छित एवं गैह्रकानूनी घटनामा कामपा प्रहरी प्रमुख पाण्डेको प्रत्यक्ष सम्लग्नता रहेको उल्लेख छ ।  पाण्डेको निलम्बन भएसंगै नगर प्रहरी उपरीक्षक  विष्णुराज जोशीलाई आज मंगलबारबाटै लागु हुनेगरी महाननगरीय प्रहरी बल प्रमुखको जिम्मेवारी दिइएको छ । 

 प्रहरी प्रमुख पाण्डेको अगुवाईमा  सो घटना भएको आरोप लगाइएको छ । प्रहरी प्रमुख पाण्डेले दिएको  स्पष्टीकरण तथ्यपरक एवं प्रमाणयुक्त नभई शाब्दिक खण्डन गर्ने देखिएको छ । पाण्डेले पेस गरेको  स्पष्टीकरण चित्त बुझ्दो नभएको कारण थप प्रमाण र सत्यतथ्य पत्ता लगाउन समिति गठन गरेको उल्लेख छ । पाण्डेले पेस गरेको  पत्र विश्वास योग्य नभएको समेत निलम्बन पत्रमा उल्लेख छ ।

जाँचबुझबाट प्राप्त प्रतिवेदनका आधारमा यस पछिका कारबाही अगाडि बढाउनु कानुनसम्मत हुने देखिएकाले महानगर प्रहरी ऐन, २०८० को दफा ३९ को उपदफा (४) बमोजिम जाँचबुझ समिति गठन भएको उल्लेख छ । 

 जाँचबुझ समितिको काममा अनुचित प्रभाव नपरोस् भन्नाका खातिर तथा जाँचबुझका क्रममा आवश्यक पर्ने सुचना एवं प्रमाण कागज बुझ्ने कार्यमा सहजताका लागि सोही ऐनको दफा ३९ को उपदफा (५) ले दिएको अधिकार प्रयोग गरी तपाँईलाई आजकै मितिदेखि लागु हुने गरी जाँचबुझ समितिले आवश्यक जाँचबुझ गरी प्रतिवेदन पेस नगरेसम्म बढीमा ६ महिनाका लागि निलम्बन गरेको उल्लेख छ ।