आलमसहित चार जनाले सफाइ पाए 

17.86k
Shares

रौतहट ।

 जन्मकैदको सजाय भोग्दै आएका मोहम्मद अफताब आलमसहित चार जनाले उच्च अदालत जनकपुर अस्थायी इजलास बाट बुधवार सफाइ पाएका छन् । पाँच  बर्ष आठ महिना आठ दिन कारागार जीवन बिताएका आलम अदालतको फैसलासंगै निर्दोष साबित भएका छन् । 

०६४ चैत्र २८ गते भएको पहिलो संबिधान सभा निर्बाचनको अघिल्लो दिन बम बिस्फोटमा परी घाईते भएकाहरुलाई जिउँदै ईटा भटामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत गौरले मोहम्मद अफताल आलमसहितलाई ०८१ वैशाख १४ गते जन्मकैदको फैसला गरेपनि बुधवार उच्च अदालत जनकपुरको अस्थायी इजलास बीरगजले बुधवार निर्दोष साबित गर्दै रिहा गर्ने फैसला गरेको हो ।

 उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधवार आलमसहित उनका भाई मोहम्मद महताद आलम, शेख सराज र बद्रि सहनीलाई जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।

 विधि विज्ञान प्रयोगशालाको परीक्षणबाट समेत ईटाभटाको खरानीमा केही नदेखिएकाले सफाइ दिने निर्णय गरिएको जनाइएको छ । उच्च अदालत बिरगजका तहसलीदार ध्रुब सुबेदीले चारजनाले सफाइ पाएको बताए । आलमलाई घट्नाको १२ बर्ष पछि २०७६ असोजमा पक्राउ गरेर जिउँदै इटाभटामा मान्छे जलाएको आरोपमा मुद्दा चलाइएको थियो । जिल्ला अदालत रौतहट गरेको जन्मकैदको फैसला प्रति आलमका परिबार न्यायको लागि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्ज पुगेका थिए ।