हुम्ला हिमपहिरो प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउन गृहमन्त्रीको निर्देशन


काठमाडौँ।

गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरूलाई तत्काल राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएका छन्।

सोमबार गृह मन्त्रालयमा बसेको बैठकले पहिरोबाट विस्थापितहरूलाई तत्काल त्रिपाल र खाद्यान्न लगायतका राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

मन्त्री लेखकले विस्थापितका लागि तत्काल हेलिकप्टरबाट राहत सामग्री र स्थलगत अध्ययनका लागि प्राविधिक टोली समेत पठाउन निर्देशन दिए ।

बैठकमा मन्त्री लेखकले तत्काल विस्थापितहरूलाई खाने-बस्ने व्यवस्था गर्न र प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर रिपोर्ट तयार गर्न समेत निर्देशन दिए ।

राहत तथा स्थलगत अध्ययनका लागि कर्णाली प्रदेश सरकारसँग आवश्यक समन्वय गर्न मातहतका निकायलाई उनले निर्देशन समेत दिए ।

हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमताल फुटेर लेदोसहितको पहिरोले स्थानीय विस्थापित भएका छन् । अहिलेसम्म सो क्षेत्रमा ३२ जना विस्थापित भएका छन् ।

त्यसैगरी बैठकमा मन्त्री लेखकले प्रि-मनसुन पूर्व नै विपद् प्रतिकार्यका लागि आवश्यक तयारी र समन्वय थाल्न निर्देशन दिए ।

उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सात वटै प्रदेश र ७७ वटै जिल्लाका सुरक्षा समितिसँग छलफल गरी प्रि-मनसुन पूर्व नै तयारी थाल्न निर्देशन दिए ।

साथै विपद् प्रतिकार्यमा निजी संघ, सस्थाहरूसँग भएको स्रोत साधन र क्षमतालाई समेत उपयोग गर्ने गरी समन्वय तथा सहकार्य गर्ने व्यवस्था मिलाउन मन्त्री लेखकले जोडदिए ।

त्यसैगरी बैठकमा बोल्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले तत्काल राहत वितरणलाई अघि बढाउन जोड दिए । उनले जलवायु परिर्वतनका कारण हिमाली क्षेत्रमा उच्च जोखिम रहेको बताए ।