दासढुंगा काण्डको ३० वर्ष

हत्या कि दुर्घटना ? अझै रहश्यमय !

940
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको ज्यान गएको चर्चित दासढुंगा घटना ३० वर्ष पूरा भएको छ । तर, आजसम्म पनि त्यो दुर्घटना थियो कि सुनियोजित हत्या भन्ने प्रश्नको जवाफ फेला परेको छैन । अनुसन्धानका थुप्रै प्रयास भए, तर निष्कर्षमा कोही पुग्न सकेका छैनन् ।

२०५० साल जेठ ३ गते राति चितवनको दासढुंगानजिक नारायणगढ–मुग्लिन सडकखण्डमा भण्डारी र आश्रित चढेको गाडी त्रिशूली नदीमा खस्दा उहाँहरूको ज्यान गएको थियो । त्यस दुर्घटनाबाट गाडीका चालक अमर लामामात्रै बच्न सफल हुनुभएको थियो । तर, लामाको २०६५ सालमा रहस्यमय परिस्थितिमा भएको हत्यापछि घटनाले नयाँ मोड लियो । लामाको हत्याले यस घटनालाई अझ रहस्यमय बनाईदिएको छ ।

विगत तीन दशकमा घटनाको छानबिन गर्न अनेकौं समिति गठन भए । तर, कुनै समितिले ठोस प्रमाणसहित निष्कर्ष दिन सकेन । अदालत र सरकारका विभिन्न संयन्त्रहरूले समेत घटनाबारे गहिरो सत्य पत्ता लगाउने प्रयास गरे पनि नतिजा शून्य नै रह्यो ।
भण्डारीको निधनपछि एमालेले सदनदेखि सडकसम्म ‘यो हत्या हो’ भन्दै आन्दोलन ग¥यो । तर, कालक्रममा त्यही पार्टीका नेताहरू सरकारमा पुग्दा यो मुद्दा बिर्सिएको जस्तो देखिन्छ । ३० वर्षको अवधिमा मनमोहन अधिकारीदेखि केपी ओलीसम्म एमाले पृष्ठभूमिका नेताहरू प्रधानमन्त्री बने । तर, कसैले पनि घटनाको दोषी पत्ता लगाउन सकेनन् ।

उक्त घटनालाई अझै रहस्यको घेरामा राख्ने अर्को पक्ष भनेको भण्डारीकी धर्मपत्नी विद्या भण्डारी दुई कार्यकालसम्म राष्ट्रपतिको जिम्मेवारीमा रहेर पनि यसबारे मौन नै बस्नु हो । उहाँले मदनको स्मृतिमा राजनीतिक कार्यक्रममा भाग लिए पनि हत्याका विषयमा स्पष्ट अभिव्यक्ति दिनुभएको छैन ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शनिवार एक वक्तव्य जारी गर्दै अमर लामाको हत्यापछि घटनालाई ‘झनै रहस्यमय’ बनाएको टिप्पणी गर्नुभएको छ । उहाँले सत्य पत्ता लगाउने अन्तिम प्रयत्न गर्न जरुरी रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने फेरि एकपटक दाबी गर्नुभएको छ ‘मदन भण्डारीका हत्यारा एक दिन अवश्य पत्ता लाग्नेछन् ।’ तर, विगतका त्यस्ता अभिव्यक्तिहरूजस्तै यो पनि आश्वासनमै सीमित हुने कि भन्ने शंका जनस्तरमा कायमै रहेको छ ।

मदन भण्डारीलाई ‘जनताको बहुदलीय जनवाद’ को प्रणेता मानिन्छ । तर, उहाँका विचारको स्मरण र अध्ययन एक दिनको औपचारिक कार्यक्रममा मात्र सीमित हुन थालेको आलोचना हुँदै आएको छ । विश्लेषकहरू भन्छन्, ‘यदि भण्डारीका विचारलाई अमर बनाउने हो भने त्यसको संस्थागत अभ्यास र नीतिगत रूपान्तरण आवश्यक पर्छ, एक दिने भाषणले मात्र पुग्दैन ।’

राजनीतिक विश्लेषक दिनेश शर्मा भन्नुहुन्छ– ‘३० वर्षसम्म निष्कर्ष ननिस्कनु आफैँमा शंकास्पद हो । यदि, यो साँच्चै दुर्घटना हो भने स्पष्ट प्रमाणसहित जनतालाई बुझाउनु पथ्र्यो, होइन भने हत्याराको खोजीमा किन निष्क्रियता देखाइयो ?’ हरेक वर्षको जेठ ३ मा ‘स्मृति’ गर्ने परम्पराभन्दा पनि घटनाको निष्पक्ष अनुसन्धान र पारदर्शी निष्कर्ष आवश्यक छ । नत्र भने यो राष्ट्रले आफ्ना नेताको मृत्युको सत्य कहिल्यै थाहा नपाउने विडम्बनामा अल्झिरहनेछ ।