काठमाडौँ,
आज अपरान्हदेखि काठमाडौँ उपत्यकामा आएको तीव्र हावाहुरी र वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सेवा प्रभावित भएको छ। आन्तरिक उडानहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही अन्तर्राष्ट्रिय उडानहरू आकाशमै कुर्दै फन्को मार्न बाध्य भएका छन्।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आठवटा आन्तरिक उडानका विमानहरू ‘डाइभर्ट’ भएका छन्। उनका अनुसार पूर्वतर्फबाट काठमाडौँ आएका विमानहरू पुनः पूर्वतिरै फर्किएका छन् भने काठमाडौँबाट पश्चिमतर्फ उडेका विमानहरू समेत पुनः काठमाडौँ फर्किएका छन्।
डाइभर्ट भएका विमानहरूमा चन्द्रगढी, विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, र सुर्खेत जस्ता गन्तव्यबाट उडेका विमानहरू रहेका छन्।
श्री एयरलाइन्सको विराटनगर–काठमाडौँ उडान विराटनगर नै फर्किएको छ।
यती एयरलाइन्सका दुईवटा उडान पनि गन्तव्यमा नपुगी फिर्ता भएका छन्।
बुद्ध एयरको भद्रपुर–काठमाडौँ र सुर्खेत–काठमाडौँ उडानसमेत आकाशमै फन्को मारी पूर्वस्थित विमानस्थलमा अवतरण गरेका छन्।
वातावरणीय प्रतिकूलताका कारण सुर्खेत, भैरहवा, धनगढी, र नेपालगञ्जका लागि काठमाडौँबाट उडेका विमानहरू पनि फेरि काठमाडौँ फर्कनु परेको प्रवक्ता शेर्पाले जानकारी दिए।
मौसमविद्हरूका अनुसार, पश्चिमी वायु प्रणालीको प्रभावका कारण राजधानीमा मौसम एक्कासि बदलिएर हावाहुरीसहितको वर्षा भएको हो।











प्रतिक्रिया