चीन–अमेरिका व्यापार युद्ध अन्त्यतिर

विश्व बजारमा आशावादी संकेतहरू देखा पर्दै


काठमाडौं ।

विश्व राजनीति एक निर्णायक मोडमा पुगेको छ । एकातिर भारत र पाकिस्तानबीच युद्धविरामपछि वार्ता आरम्भ भएको छ, अर्कोतिर रुस–युक्रेनबीच तीन वर्ष लामो द्वन्द्व बिर्सिएर शान्तिका संकेत देखा पर्न थालेका छन् ।

यस्तो संवेदनशील बेला, चीन र अमेरिकाबीचको व्यापार युद्ध अन्त्य गर्नेतर्फ देखा परेको सहमतिले विश्वभर बिस्तारिँदै गएको आर्थिक अस्थिरतालाई एक हदसम्म नियन्त्रणमा ल्याउने आशा गरिएको छ ।

दुई दिनसम्म चलेको जेनेभा वार्तापछि चिनियाँ उपप्रधानमन्त्री हे लाइफेङले पहिलोपटक खुलस्त रूपमा व्यापार वार्तामा ‘सकारात्मक प्रगति’ भएको घोषणा गर्नुभयो । उहाँको नेतृत्वमा चीनले अमेरिकी टोलीसँग प्रमुख सहमतिहरूको शृंखलामा हस्ताक्षर गरेको पुष्टि गरिएको हो । हेले पत्रकारहरूलाई जानकारी दिँदै भन्नुभयो– ‘हामी दुवै पक्ष अब साझा वक्तव्यमार्फत सहमति सार्वजनिक गर्दै छौँ ।’

अमेरिकाले गत अप्रिल ८ को कार्यकारी आदेश १४२५९ र ९ अप्रिल ९ को आदेश १४२६६ अन्तर्गत चिनियाँ सामानहरूमा लगाएको ९१५ वटा वस्तुमा लगाएको हटाउन तयार भएको छ । अप्रिल २ को आदेश १४२५७ अन्तर्गतको ३४५ वटा वस्तुहरूमध्ये २४५ कर ९० दिनका लागि निलम्बनमा, बाँकी १०५ कर यथावत् कायम राख्ने सहमति भएको छ । जवाफमा, चीनले अमेरिकी सामानमा लगाइएको ९१ प्रतिशत प्रति–कर हटाउने निर्णय गरेको छ । साथै, चीनले गैरकर नीतिहरू पनि हटाउँदै कर कटौतीसँग सन्तुलन मिलाउने घोषणा गरेको छ ।

‘करको जवाफमा कर’ भन्ने टिट फर ट्याट व्यापार रणनीतिले विश्व बजारलाई झन्डै एक दशकदेखि अस्थिर पारेको थियो । अब पहिलो पटक, दुवै मुलुकले यस्तो प्रतिशोधी संरचना भत्काउँदै तीन अंकीय करलाई दुई अंकीय स्तरमा झार्ने सहमति गरेका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार अबदेखि अमेरिकामा चिनियाँ वस्तुमा ३० प्रतिशत र चीनमा अमेरिकी वस्तुमा १० प्रतिशत कर मात्रै लाग्नेछ ।

यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद कर नीतिका प्रतिक्रियामा आएको हो । ट्रम्पले गत महिना चीनमा आयात हुने वस्तुमा १४५ प्रतिशतसम्म कर लगाउने घोषणा गरेका थिए । बदलामा, बेइजिङले पनि अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाएको थियो । अहिले भने, ट्रम्प प्रशासन नै कर कटौतीमा सहमत हुनु अन्तर्राष्ट्रिय दबाब र आन्तरिक बजार संकटको संकेतका रुपमा हेरिएको छ ।

अहिलेको विश्व राजनीतिक परिदृश्यमा अमेरिका–युरोप, अमेरिका–चीन, अमेरिका–अफ्रिका सम्बन्धमा तनावका अनेक आयाम देखिँदै गएका छन् । यस्तो समयमै, चीन–अमेरिका बीचको यो सकारात्मक संकेतले विश्व बजार, मुद्रा सन्तुलन, आपूर्ति शृंखला र तेल बजारमा समेत स्थिरता ल्याउने आशा गरिएको छ । युन्नान विश्वविद्यालयका एक प्राध्यापकका अनुसार, ‘धम्की र बलजफ्ती टिकाउ हुँदैन । न्यायपूर्ण संवाद नै दिगो समाधान हो ।’ ती प्राध्यापकले भने आजको चीन कुनै पनि जबर्जस्ती वा धम्कीको उत्तर दिन सक्षम छ । तर अझै पनि अमेरिका र चीनको अर्थतन्त्र पूर्ण रूपमा अलग हुन बाँकी छ ।

श्व व्यापार संगठनका प्रमुख नगोजी ओकोन्जो–इवेलाले पनि वार्तालाई ‘दुई ठूला शक्तिबीचको ऐतिहासिक समन्वय’ को रूपमा हेरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो कदम केवल चीन–अमेरिकाको होइन, विश्वका सबै साना र मध्यम अर्थतन्त्रहरूको हितमा हो ।’

जेनेभाको यो वार्ता सन् २०१८ मा शुरु भएको व्यापार युद्ध अन्त्य गर्ने दिशातर्फको एक निर्णायक मोड हो । यसले विश्वको आर्थिक मन्दीको भय कम गर्दै विश्वासको वातावरण निर्माण गर्ने सम्भावना बढाएको छ । यदि सहमतिहरू व्यवहारमा उतारिए भने, ट्रम्पको दोस्रो कार्यकालको सबैभन्दा सकारात्मक कूटनीतिक उपलब्धि यही हुने देखिएको छ ।