काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यपक्षले अत्यधिक प्रतिशोध साँधेको भन्दै विरोध र टिकाटिप्पणी हुने क्रम बढेको छ । सो पार्टीका नेताहरुले रिहाइको माग गरिरहेको अवस्थामा पार्टी इतरका अन्य व्यक्तिहरुले मिश्रमाथि राज्य पक्षबाट चरम ज्यादती र प्रतिशोध साँधिएको टिप्पणी गर्न थालेका हुन् ।
मिश्रलाई थुन्नका लागि अदालतले अहिलेसम्म ७ पटक म्याद थप गरेको छ । उहाँ ४० दिनभन्दा बढी समय हिरासतमा बसिसक्नुभएको छ । यो सबै भइरहँदा जति सकिन्छ धेरै दिन थुन्नकै लागि यस्तो गरेको हुन सक्ने आरोप सरकारी पक्षमाथि लाग्न थालेको छ । गत चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनमा सहभागी भएकै बदला उहाँसँग लिन थालिएको छ ।
मिश्र आफैं कुनै तोडफोड र आगजनीमा संलग्न थिएनन् तर उनलाई गम्भीर अपराधीजस्तै व्यवहार गर्न थालिएको छ र सोही अनुसार विभिन्न मुद्दासमेत लगाइएको छ । सरकारले त्यो दिन भएको हिंसामा मिश्र जिम्मेवार रहेको दाबी गर्दै आएको छ ।
मिश्रलाई अदालतले ०८१ चैत १७ गते ५ दिन, चैत २० गते ६ दिन, चैत २६ गते १५ दिन, २०८२ वैशाख १० गते ३ दिन, वैशाख १४ गते ७ दिन, वैशाख २१ गते ५ दिन, वैशाख २५ गते ५ दिन गरी सातपटकसम्म थुनामा पठाउन आदेश दिएको थियो ।
बीबीसीका पूर्वपत्रकार मिश्रले विकृति र विसंगतिका विरुद्ध नेताहरुलाई प्रश्न सोधेर हायलकायल पार्ने गर्थे तर अहिले मिश्र राज्य पक्षबाट हायलकायल भइरहेका छन् । मिश्रले आफूमाथि घोर अन्याय भएको बताउने गरेका छन् । वैशाख १४ गते मिश्रलाई अदालत पेस गरिएको थियो । मिश्रको हातमा त्यति बेलादेखि नै हतकडी लगाइएको थियो । ठूलै अपराधी जस्तै हरेक दिन मिश्रलाई हतकडी लगाएर अदालत लैजाने गरिएको छ ।
राप्रपाले त पटकपटक आफ्ना नेता तथा कार्यकर्तालाई रिहा गर्न माग गर्दै सरकारलाई चेतावनी दिँदै आएको छ । राप्रपाले आफ्ना नेताको रिहाइका लागि विभिन्न प्रदर्शन तथा कार्यक्रमहरु गर्दै आएको छ । राजावादी दल तथा संगठनहरूले जेठ १५ गतेबाट अर्को जनआन्दोलन घोषणा गरिसकेका छन् । उनीहरुले राजसंस्था र हिन्दु राज्य पुनस्र्थापना गरेरै छोड्ने दाबी गरेका छन् ।
कुन कुन कसूरमा हुँदै छ मिश्रमाथि अनुसन्धान ?
वैशाख २५ गते अघि रवीन्द्र मिश्रविरुद्ध राज्यविरुद्धको कसुर, संगठित अपराधको कसूरमा अनुसन्धान भइरहेको थियो । यी दुई कसूरमा उनको बयान पनि भइसकेको थियो ।
तर २५ गते अदालत पेस गर्दा प्रहरीले अर्को कसूर पनि थप गरेको छ । त्यो हो, आपराधिक उपद्रव । अर्को कसुर पनि थप गरिएपछि मिश्रले इजलासमा न्यायाधीशकै अगाडि आफ्नो निधारमा राज्यले अर्को एउटा कालो टीका लगाइदिएको भन्दै दुःखेसो पोखेका थिए ।











प्रतिक्रिया