–विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्री, विज्ञ र सरोकारवाला गरी ५ सयभन्दा बढीको सहभागिता रहने
–प्रधानमन्त्रीकै अध्यक्षतामा स्टेरिङ कमिटी
–१२ वटा प्यानल छलफल, चारवटा साइड इभेन्ट र थिमेटिक राउन्ड टेबल
काठमाडौं ।
जलवायु परिवर्तनका कारण संकटमा परेका पर्वतीय तथा तटीय मुलुकहरूको आवाजलाई विश्वसामु बुलन्द पार्न नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद २०२५’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
सगरमाथा केवल भूगोल होइन, जलवायु न्यायको प्रतीक हो । यही दृष्टिकोणबाट सगरमाथाको फेदीबाट शुरु हुन लागेको यो संवाद नेपाल मात्र होइन, सम्पूर्ण पृथ्वीका पर्वतीय र सिमान्त समुदायको जीवनरक्षा र आवाजका लागि ऐतिहासिक अवसर बन्ने अपेक्षा गरिएको छ ।
‘जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्य’ भन्ने मूल नारासहितको यो उच्चस्तरीय अन्तर्राष्ट्रिय संवाद आगामी जेठ २ देखि ४ गतेसम्म राजधानी काठमाडौंमा हँुदै छ । संवादलाई सफल पार्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गठन गरिएको सगरमाथा संवाद सचिवालयले दिएको जानकारीअनुसार तीनदिने संवादमा विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्री, विज्ञ र सरोकारवाला गरी ५ सयभन्दा बढीको सहभागिता रहनेछ ।
अन्तर्राष्ट्रिय स्तरको सो कार्यक्रमलाई सफल पार्न सरकारले अत्यन्तै महत्व दिँदै आएको छ । झन्डै ५० देशका ३ सय उच्चपदस्थ अन्तर्राष्ट्रिय पाहुनालाई कार्यक्रमका लागि निमन्त्रणा गरिएको छ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता तथा उच्च पदस्थहरु सदस्य रहेको स्टेरिङ कमिटी, परराष्ट्रमन्त्री आरजु राणा देउवाको अध्यक्षतामा व्यवस्थापन समिति तथा सरकारका मुख्य सचिव एकनारायण अर्यालको नियमित रेखदेख र निर्देशन हुने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा सगरमाथा संवाद सचिवालय बनाएर तयारीलाई अन्तिम चरणमा पु¥याएको हो ।
स्टेरिङ कमिटीका सदस्यसमेत रहनुभएका मुख्य सचिव एकनारायण अर्यालले अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवाद कार्यक्रम पूर्ण सफल हुने र यसले जलवायु न्याय तथा संसारभरिका राष्ट्रहरुबीच एउटै साझा बुझाइ बनाउने र हिमालको मुद्दालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष मुखरित गराउने गरी प्रभावकारी सन्देश दिने विश्वास गरिएको बताउनुभयो । सो कार्यक्रमका लागि विश्वका विभिन्न देशबाट राष्ट्रप्रमुख, मन्त्री, विज्ञ र सरोकारवालासहित २ सय ५० बढी प्रतिनिधिको सहभागिता सुनिश्चित भइसकेको छ भने नेपालबाट सरोकारवाला पक्षको सहभागिताबारे अन्तिम निर्णय गर्न बाँकी नै रहेको सचिवालयका सदस्य–सचिव महेश्वर ढकालले जानकारी दिनुभयो ।
सदस्य सचिव ढकालका अनुसार जेठ २ गते हुने उद्घाटन सत्रमा उच्चस्तरीय प्रतिनिधिहरूको सम्बोधनपछि मन्त्रीहरुले सम्बोधन गर्ने गरी प्लेनरी सेसन राखिएको छ । सो कार्यक्रममा विज्ञहरुमार्फत १२ वटा प्यानल छलफल, ४ वटा साइड इभेन्ट र थिमेटिक राउन्ड टेबलका माध्यमबाट जलवायु परिवर्तनको बहुआयमिक असरमाथि गहन बहस हुनेछ । संवादमा जलवायु न्याय र कूटनीति, पर्वतीय जीवन, हिमनदी संरक्षण, वातावरणीय न्याय, ग्रिन इकोनोमी र अन्तरदेशीय सहकार्य, जलवायु न्याय र मानवको भविष्य, जलवायु परिवर्तनमा एजेन्डामा सहकार्य र समन्वय, खाद्य सुरक्षा र जलवायु परिवर्तन, जलवायु परिवर्तन युवा शक्ति विज्ञान, प्रविधि र आविष्कार जस्ता विषय केन्द्रमा रहनेछन् ।
नेपालले यो संवादलाई विशेष महत्व दिएको छ । सरकारबाट यसअघि नै १७ वटा रणनीतिक निर्णय लिइसकिएको छ भने आवश्यक अवधारणापत्र तयार पारिसकिएको छ । पर्वतीय मुलुक नेपालबाटै जलवायु परिवर्तनका प्रभावबारे विश्वस्तरमा गम्भीर सन्देश विश्व समुदायमा पु¥याउने लक्ष्य राखिएको छ । पेरिस सम्झौताअनुसार शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिने विश्व लक्ष्य भए पनि सन् २०५० भित्रै हिमाली क्षेत्रमा तापक्रम १.८ डिग्रीभन्दा माथि पुग्ने प्रक्षेपण वैज्ञानिकहरूले गरिसकेका छन् ।
यसले गर्दा हिमालका दुई तिहाइभन्दा बढी हिम–भण्डारहरू पग्लिने जोखिम उच्च रहेको विज्ञहरू बताउँछन् । यो अवस्था विशेष गरी जलस्रोत, कृषि, जैविक विविधता र मानव जीवनमा गहिरो असर पार्न सक्ने भएकाले नेपालले विश्वव्यापी चेतना जगाउने प्रयासका रूपमा सगरमाथा संवादलाई अघि सारेको हो । नेपालले दुई दुई वर्षमा यस्तो कार्यक्रमलाई निरन्तरता दिने निर्णयसमेत गरिसकेको छ ।
के–के हुन्छ सगरमाथा संवादका तीन दिनमा ?
सगरमाथा संवाद सचिवालयले तीनदिने कार्यक्रम सेडुल सार्वजनिक गरिसकेको छ । जस अनुसार जेठ २ गते होटल सोल्टीमा बिहान साढे ९ बजेदेखि ११ बजेसम्म उद्घाटन कार्यक्रम हुनेछ । सोही क्रममा उच्चस्तरीय प्रतिनिधिले पालैपालो संक्षिप्त मन्तव्य राख्नेछन् । त्यसलगत्तै प्लेनरी सेसन शुरु हुनेछ । प्लेनरी सेसनको विषय जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य रहनेछ । उच्चस्तरीय सत्रमा सम्बोधन गर्न नपाएका वा छुटेका उच्चस्तरका अतिथिहरूलाई यो सेसनमा समय दिइनेछ । यस कार्यक्रममा विदेशी देशका वन तथा परराष्ट्रमन्त्रीसमेत सहभागी हुनेछन् । यही सेसनमा जलवायु परिवर्तनको क्षेत्रमा काम गरेका विज्ञहरूले पनि आफ्नो धारणा राख्नेछन् ।
सगरमाथा संवादको मुख्य विषय नै जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्य हो । यही विषयभित्र रहेर पाँचवटा थिममा १२ वटा सेसन र तीनवटा प्लेनरी सेसन चल्नेछन् । दुई दिनसम्म सञ्चालन हुने सेसनमा राष्ट्रिय अन्तर्राष्ट्रिय अतिथिले आफ्नो धारणा प्रस्तुत् गर्नेछन् । जेठ ४ गते बिहान सगरमाथा संवादमा सहभागी उच्चस्तरका पाहुनालाई हवाई उडानमार्फत सगरमाथाको अवलोकन गराउने कार्यक्रम छ । सो अवलोकनपछि सगरमाथा संवाद २०२५ घोषणापत्र जारी गरी कार्यक्रम समापन गरिनेछ ।
पहिलो दिन के–के हुन्छ ?
उच्चस्तरीय र प्लेनरी सेसन सकिएपछि पर्वतभन्दा बाहिर ः पर्वतलाई महासागरसँग जोड्दै’ थिममा रहेर चारवटा सेसन सञ्चालन हुनेछन् । जसमा हिमनदीहरूलाई संरक्षणको जरुरी, उच्च पहाडी भूभागलाई टापुहरूसँग जोड्दै, खाद्य सुरक्षा र जलवायु अनुकूल कृषि, हिमालमा समुदायको नेतृत्वमा जलवायु सुधारका पहलहरू विषयमा सेसन चल्नेछन् ।
दोस्रो दिन के–के हुन्छ ?
दोस्रो दिन नौ बजेबाटै सेसन शुरू हुन्छ । चारबाट थिममा ८ वटा सेसनमा सहभागी हुन सकिनेछ । हरित अर्थतन्त्रभित्र रहेर ‘सशक्त भविष्य ः स्वच्छ ऊर्जाको उपयोग’ र ‘पर्वतको प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण’ विषयमा सेसन सञ्चालन हुनेछ । त्यसलगत्तै जलवायु परिवर्तन र हानि नोक्सानीबाट बच्ने र न्यूनीकरण गर्ने उपायको थिममा ‘हिमालको जोखिम र मूल्याङ्कन, हिमालमा हुने क्षति र त्यसको सम्बोधन’ विषयमा सेसन सञ्चालन हुनेछ । यसैगरी मानव जीवनको भविष्य र जलवायु न्याय विषयमा दिगो सहर तथा समुदाय, समावेशी भविष्य निर्माण ः लैंगिक र अन्तरपुस्तागत समानता, हिमाली लचिलोपनका लागि विज्ञान र प्रविधिलाई जोड्ने काम र दिगो पर्वतीय अर्थतन्त्र गरी चारवटा सेसन सञ्चालन हुने छन् । यसैगरी क्षेत्रीय तथा विश्वव्यापी साझेदारीमा विभिन्न क्षेत्रका विज्ञहरूले सामूहिक छलफल गर्नेछन् ।
तेस्रो दिन के हुन्छ ?
तेस्रो दिन अर्थात् जेठ ४ गते बिहान सगरमाथा संवादमा सहभागी उच्चस्तरका पाहुनालाई हवाई उडानमार्फत सगरमाथाको अवलोकन गराउने कार्यक्रम छ । सो अवलोकनपछि सगरमाथा संवाद २०२५ घोषणापत्र जारी गरी कार्यक्रम समापन गरिनेछ ।











प्रतिक्रिया