–सोमबार पुनः वार्ता हुने
–६० भन्दा बढीले ज्यान गुमाए
–दुवै देशमा छायो खुसियाली
काठमाडौं ।
भारत प्रशासित कश्मीरको पहलगाममा गत अप्रिल २२ मा एक नेपालीसहित २६ जनाको ज्यान लिने गरी भएको आतंककारी आक्रमणपछि भड्किएको भारत–पाकिस्तान युद्ध चार दिनपछि अन्त्य भएको छ ।
पहलगाममा भएको आतंककारी आक्रमणको प्रतिशोध लिन भारतले गत मंगलबार मध्यरातमा पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाही शुरु गरेपछि भड्किएको भारत–पाकिस्तान युद्धमाथि शनिबार बिराम लागेको छ । अमेरिकाको मध्यस्थतामा शुक्रबार राती भएको लामो वार्तापछि भारत र पाकिस्तान दुवैले युद्धविराममा सहमति जनाएको हो । दुवै देशको सीमामा लगातार ड्रोन आक्रमण र गोलाबारी जारी रहेको र तनाव उत्कर्षमा पुगेको समयमा दुवै देशले संयमता देखाउँदै युद्धविरामका लागि सहमति गरेका हुन् ।
भारतले पाकिस्तानको तीनवटा हवाई अड्डामा आक्रमण गरेपछि पाकिस्तानले पनि भारतविरुद्ध ‘अपरेसन बुनयान मरसूस’ नामक जवाफी सैन्य कारबाही शुरु गरेको थियो । यो पछिल्लो भारत–पाकिस्तान युद्धमा ६० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । भारतका विदेश सचिव विक्रम मिसरीले युद्धविरामको पुष्टि गर्दै शनिबार दिउँसो ३ बजेर ३५ मिनेटमा पाकिस्तानका डायरेक्टर जनरल अफ मिलिट्री अपरेसन्स (डीजीएमओ) ले भारतको डीजीएमओलाई फोन गरेको र दुवै देशका डीजीएमओबीच भएको टेलिफोन वार्तामा तत्काल लागू हुने गरी युद्धविराम भएको जानकारी दिनुभएको थियो ।
उक्त वार्तामा भएको सहमतिअनुसार शनिबार साँझ ५ बजेदेखि नै दुवै देशको आकाश, जल र स्थल गरी तीनै प्रकारको सैन्य कारबाही रोकिएको छ । युद्धविरामपछिको आगामी रणनीतिबारे पुनः आगामी सोमबार अर्थात् मे १२ तारिखमा दुई देशका डीजीएमओबीच थप वार्ता हुने विदेश सचिव मिसरीले बताउनुभयो । त्यसैगरी पाकिस्तानका उपप्रधान एवं विदेशमन्त्री इसाक डारले पनि सामाजिक सञ्जालमार्फत पाकिस्तानले तत्काल युद्धविराममा सहमति जनाएको जानकारी दिनुभएको छ । उहाँले पाकिस्तानले सधैं आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी यस क्षेत्रको शान्ति र सुरक्षाका लागि प्रयास गरेको दाबी गर्दै युद्धविरामको पुष्टि गर्नुभएको हो । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले राष्ट्रको गौरव र खुसी ल्याउन सफल भएको भन्दै पाकिस्तानी सेनालाई धन्यवाद दिनुभएको छ ।
युद्धविरामको बारेमा सबैभन्दा पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल एक्समा ट्वीट गर्दै जानकारी दिनुभएको थियो । उहाँले अमेरिकी मध्यस्थतामा रातभरि जारी लामो वार्तालापपछि दुवै देश युद्धविरामका लागि सहमत भएको बताउनुभएको थियो । उहाँले दुवै पक्षले पूर्ण र तत्काल युद्धविराममा सहमति जनाएकोमा खुसी व्यक्त गर्दै दुवै देशलाई बुद्धिमता देखाएकोमा बधाई दिनुभएको छ । युद्धविरामको घोषणा भएसँगै भारत र पाकिस्तानमा खुसियाली छाएको छ भने कश्मीरका जनताले शान्तिको सास फेरेका छन् । जम्मु–कश्मीरका राजनीतिक नेताहरुका साथै जनताले युद्धविरामको हर्षोल्लासका साथ स्वागत गरेका छन् ।
कसरी भयो अचानक युद्धविराम ?
दुई देशबीचको सीमा क्षेत्रमा बढ्दै गएको तनावलाई समाप्त गरी शान्तिपूर्ण समाधानका लागि अमेरिकाले भारत र पाकिस्तानसँग लगातार वार्ता गर्दै आएको थियो । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस. जयशंकर केही दिनअघिदेखि नै अमेरिकी समकक्षीसँग लगातार वार्तामा थिए भने अमेरिकी रक्षामन्त्री पनि लगातार पाकिस्तानका सेना प्रमुखसँग लगातार वार्तामा थिए । त्यसैको फलस्वरुप दुई देशबीच सैन्य कारबाही चर्किरहेको समयमा पनि कूटनीतिक प्रयासबाट अचानक युद्धविराम सम्भव भएको हो ।
भारतीय विदेशमन्त्री एस जयशंकरले एक्समा ट्विट गर्दै शनिबार बिहान अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग वार्ता भएको पुष्टि गर्नुभएको छ । अमेरिकी विदेशमन्त्री रुबियोले पनि दुई देशबीचको युद्ध रोक्न आफू भारतीय विदेशमन्त्री जयशंकरका साथै पाकिस्तानका सेना प्रमुख जनरल आसिम मुनिरसँग निरन्तर वार्तामा रहेको पुष्टि गर्नुभएको छ । उहाँले दुवै पक्षलाई एकआपसमा सीधैै वार्ता गरेर समाधान खोज्न आग्रह गरिरहनुभएको थियो । उहाँले दुवै पक्षबीच कुनै पनि आशंका नरहोस् भन्दै दुवै पक्षलाई एकआपसमा सीधै वार्ताका वातावरण बनाइदिनुका साथै भविष्यमा कुनै विवाद आएमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।
अमेरिका मात्रै होइन, दुवै पक्षलाई वार्तामा बस्न र आपसी छलफलबाट शान्तिपूर्ण समाधान निकाली शान्ति सुरक्षा बहाल गर्न जी–७ का अन्य सदस्य राष्ट्रहरु क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, ब्रिटेन र युरोपेली संघका विदेश मन्त्रीहरूले पनि दुवै पक्षलाई अपिल गरेका थिए । त्यसैगरी साउदी अरबको विदेश मन्त्री प्रिन्स फैसल बिन फरहानले पनि भारतीय विदेशमन्त्री र पाकिस्तानी विदेशमन्त्रीसँग युद्धविराम गरी शान्ति बहालीका लागि आग्रह गर्नुभएको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ ।
युद्धविरामपछि पनि कश्मिरमा गोलाबारी भएको दावी
भारत र पाकिस्तानबीच युद्धविराम लागु भएको तीन घण्टै नबित्दै पाकिस्तानले युद्धविराम उल्लंघन गरेको भारतीय संचारमाध्यमहरुले आरोप लगाएका थिए । भारतीय संचारमाध्यमहरुका अनुसार राति ८ बजेदेखि नै जम्मु–कश्मिरको अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएसपुरा, साम्बा र उधमपुरमा पाकिस्तानी पक्षबाट गोलाबारी भएको थियो । ती संचारमाध्यमहरुका अनुसार उधमपुरमा ड्रोन आक्रमण समेत भएको थियो ।
जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पनि श्रीनगरमा चार पाँच विष्फोटनको आवाज आएको पुष्टि गर्नुभएको थियो । तर ड्रोन आक्रमण वा गोलाबारी भएकै हो भन्ने पुष्टि भने हुन सकेको छैन। त्यहाँका स्थानीय बासिन्दाहरुले अल जजिरासँग विष्फोटनको आवाज सुनिएको पुष्टि गरेका थिए । तर श्रीनगरको धेरै स्थानमा विद्युत आपूर्ति बन्द भएकोले त्यो ड्रोन आक्रमण नै भएको हो वा होइन भन्ने स्पष्ट हुन नसकेको पनि बताएका थिए। युद्ध विराम भइसकेको अवस्थामा दुबै पक्षबाट आक्रमणबारे कुनै पनि जानकारी नआएको र साइरन पनि नबजेकोले आफूहरु अलमलमा परेको र आतंकित भएको उनीहरुले बताएका थिए ।











प्रतिक्रिया