ललितपुर ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काको पूरक भएको भन्दै लोकतन्त्र कमजोर हुँदा प्रेस स्वतन्त्रता संकटमा पर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा ललितपुरमा आज आयोजित लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको उद्घाटन गर्दै उनले भने, ‘लोकतन्त्र र प्रेस स्वतन्त्रता अनुयास्रित छन् । स्वतन्त्र प्रेसविना लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुँदा प्रेस स्वतन्त्रता संकटमा पर्छ । हामीले असल जिम्मेवार नागरिकको रुपमा लोकतन्त्रको रक्षा गर्दै प्रेस स्वतन्त्रतालाई थप सुदृढ र परिष्कृत गर्न सक्नुपर्छ । लोकतन्त्रका मूल्यहरुलाई संस्थागत गर्दै प्रेसलाई स्वतन्त्र बनाउन निरन्तर प्रयासको खाँचो छ ।’
उनले देश र समाजको उन्नति र समृद्धिको लागि पत्रकारहरुको भुमिका वाच् डकको रुपमा हुनुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सबल बनाउनमा पत्रकारहरुको भुमिका उल्लेखनीय रहेको पनि बताए ।
यसैगरी सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रको मूलभूत मर्मअनुसार काम गर्न नसके यसले आतङकवाद, जातिवाद, पृथकतावाद, अराजकतावाद जन्माउने बताए ।
‘लोकतन्त्रको शत्रु धेरै छ, आतङकवाद लोकतन्त्रको शत्रु हो । अपराधवाद, अराजकता लोकतन्त्रको शत्रु हो । त्यो भन्दा मुख्य शत्रु आफैभित्र छ भन्छु मैले । लोकतन्त्रको संरक्षकहरु त्यसको अभ्यासकर्ता हामीहरु छौ । हामीले लोकतन्त्रको मूलभूत मर्मअनुसार काम गर्न सकेनौ भने लोकतन्त्रले आतङकवाद जन्माउछ । जातिवाद, पृथकतावाद, अराजकतावाद जन्माउछ,’ उनले भने ।
उनले लोकतन्त्रको अभ्यास गर्नेहरुले यसको चुनौतिहरुप्रति गम्भिर भएर काम गर्नुपर्ने बताए । उनले जनता कमजोर हुँदा लोकतन्त्र पनि कमजोर हुदैँ जाने बताए।











प्रतिक्रिया