गम्भीर मानवीय र भौतिक क्षति निम्तियो

भारत–पाकिस्तान युद्धको प्रभाव

17.3k
Shares

काठमाडौं ।

दक्षिण एसियाली शक्ति राष्ट्रहरू भारत र पाकिस्तानबीच पछिल्लो समय बढेको तनाव औपचारिक युद्धतर्फ गइरहेको संकेत देखिन थालेको छ । पहलगामस्थित आतंकवादी आक्रमणपछि शुरू भएको द्वन्द्वले दुई देशलाई पुनः एकपटक युद्धको नजिक पु¥याएको छ । यसबीच दुवै मुलुकले हवाई हमला शुरू गरेका छन्, जसले मानवीय र भौतिक क्षतिको गम्भीर अवस्था निम्त्याएको छ ।

युद्धको पृष्ठभूमि
यस तनावको सुरुआत जम्मु–कश्मीरको पहलगाम क्षेत्रमा भएको घातक आक्रमणमा परी १ नेपालीसहित २६ भारतीयको मृत्यु भएको थियो । सो आक्रमणमा २६ जनाको मृत्यु भएपछि भारतले दोष पाकिस्तान समर्थित आतंकवादी समूह ‘जैस–ए–मोहम्मद’माथि लगाउँदै प्रतिशोधस्वरूप हवाई हमला प्रारम्भ ग¥यो ।

भारतीय वायुसेनाले पाकिस्तानको बालाकोट क्षेत्रमा आतंकवादी शिविर लक्षित गरी हमला गरेको दाबी गरेको छ । पाकिस्तानले उक्त दाबीलाई ‘राजनीतिक प्रचार’को संज्ञा दिँदै आफ्ना भू–भागमा कुनै पनि आतंकवादी केन्द्र नभएको जनाएको छ ।

हवाई द्वन्द्वमा मानवीय र भौतिक क्षति
हालसम्म भएको हवाई हमला र प्रतिहमलामा दुवै पक्षले सैन्य हताहती बेहोरेका छन् । भारतले ५ वटा फाइटर जेट (तीमध्ये २ मिग–२९, २ सुखोई–३० र १ तेजस) क्षतिग्रस्त भएको स्वीकार गरेको छ भने पाकिस्तानले आफ्नो ३ वटा एफ–१६ लडाकु विमान गुमाएको पुष्टि गरेको छ ।

भारतीय मिडियाले कराँचीस्थित पाकिस्तानको एक हवाई ट्राफिक कन्ट्रोल सिस्टम ध्वस्त पारिएको दाबी गर्दै आएको छ । यद्यपि, स्वतन्त्र स्रोतबाट यसको पुष्टि हुन बाँकी छ । पाकिस्तानले भने भारतको आरोपलाई खारेज गर्दै कराँची विमानस्थल र हवाई नियन्त्रक प्रणाली चालू रहेको जनाएको छ ।

नागरिक क्षति र मानवीय संकट
हालसम्म प्राप्त तथ्यांकअनुसार भारतमा ४८ जना र पाकिस्तानमा ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ, । जसमा अधिकांश सैनिक छन् । तर, दुवै देशका सीमावर्ती क्षेत्रका सर्वसाधारण पनि प्रभावित भएका छन् । भारतको जम्मु, अमृतसर र राजस्थानका गाउँहरू खाली गराइएको छ भने पाकिस्तानको सियालकोट, बहावलनगर र लाहौरका सीमावर्ती बस्तीहरूमा आंशिक पलायन शुरू भएको छ ।

स्थल युद्धको तयारी
हालका गतिविधि हेर्दा दुवै मुलुक स्थल युद्धका लागि पनि तयारी अवस्थामा देखिन्छन् । भारतले पञ्जाब, राजस्थान र जम्मु क्षेत्रमा ५० हजारभन्दा बढी सैनिक परिचालन गरेको छ । पाकिस्तानले पनि आफ्नो नर्थ कमान्डअन्तर्गतका फौजलाई अलर्ट राख्दै दक्षिण र उत्तर वायु बेसहरू सक्रिय बनाएको छ ।
भारतीय रक्षा मन्त्रालयका एक उच्च अधिकारीका अनुसार दीर्घकालीन युद्धको तयारी गर्न भनिएको छ । पाकिस्तानको सेनाले पनि रक्षा मन्त्रालयलाई ‘अत्यावश्यक आपूर्ति र लामो अवधिको रणनीति तयारी’का लागि निर्देशन दिएको बताइएको छ ।

प्रचार युद्ध
भारतीय टेलिभिजन र समाचारमाध्यमहरूले पाकिस्तानलाई ‘कमजोर, रक्षात्मक तथा पराजित’ राष्ट्रका रूपमा चित्रण गरिरहेका छन् । दैनिक बहस कार्यक्रमहरूमा पाकिस्तानको सैन्य क्षमताको उपहास गरिएको छ ।
पाकिस्तानी सञ्चारमाध्यमहरू भने आत्मरक्षात्मक, सावधानीयुक्त र ‘शान्ति चाहने तर युद्धको उत्तर दिन सक्षम’ राष्ट्रको छविमा केन्द्रित छन् । यद्यपि, पाकिस्तानका केही स्वतन्त्र मिडिया विश्लेषकहरूले आफ्नो सरकारलाई ‘डिप्लोम्याटिक आइसोलेसन’बाट जोगिन सक्रिय कूटनीति अपनाउन आग्रह गरेका छन् ।
सम्भावित समाधान
संयुक्त राष्ट्रसंघ, अमेरिका, रूस र चीनले तत्काल संयमता अपनाउन आग्रह गर्दै क्षेत्रीय स्थायित्वको पक्षमा उभिएका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ‘दुवै देशले जनताको सुरक्षालाई प्राथमिकता दिनुपर्ने’ बताएका छन् ।
द्वन्द्व एकाएक नियन्त्रणभन्दा बाहिर जानसक्ने खतरा प्रस्ट देखिएपछि कूटनीतिक पहलहरू तीव्र पारिन थालेका छन् । कतिपय रिपोर्टहरूमा ओमान, साउदी अरेबिया र टर्कीले ‘गोप्य वार्ताको सुरुवात’ गरिसकेको उल्लेख गरिएको छ ।
भारत–पाकिस्तान युद्धको वर्तमान अवस्था हेर्दा द्वन्द्व शीतकालीन युद्धजस्तो ‘सीमित युद्ध’को ढाँचामा शुरू भए पनि यसको परिणति पूर्ण युद्धतर्फ जानसक्ने संकेत देखिएको छ । हवाई हमला र स्थल फौजको परिचालनले द्वन्द्वलाई गम्भीर बनाउँदै छ । यदि, समयमै अन्तर्राष्ट्रिय कूटनीतिक हस्तक्षेप नभए दक्षिण एसियामा पुनः एकपटक मानव–संकट उत्पन्न हुने खतरा प्रबल देखिएको छ ।

सीमा सुरक्षा कडा
पछिल्लो समय क्षेत्रीय सुरक्षा अवस्थालाई मध्यनजर गर्दै नेपाल–भारत सीमामा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले ४८ घण्टाको अवधिमा सीमा क्षेत्रमा ३१२ वटा गस्ती (पट्रोलिङ) तथा १ हजार ८ सय ४४ स्थानमा चेक प्वाइन्ट स्थापना गरेको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता कालिदास धौवजीले दिनुभएको जानकारीअनुसार वैशाख २३ गते मंगलवार बिहानदेखि वैशाख २५ बिहीबार बिहानसम्म भारतीय समकक्षी सशस्त्र सीमा बलसँगको सहकार्यमा ८४ वटा संयुक्त तथा २२८ वटा एकल गस्ती गरिएको हो ।

संयुक्त गस्ती वैशाख २३ मा २० वटा, २४ मा १६ वटा र २५ गते ४८ वटा गरिएको छ । त्यस्तै, एकल गस्ती २३ मा ८९, २४ मा ६४ र २५ मा ७५ वटा गरिएको हो । सोही अवधिमा वैशाख २३ मा ५६४, २४ मा ६४०, र २५ मा फेरि ६४० गरी कुल १ हजार ८ सय ४४ स्थानमा चेक प्वाइन्ट राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार गस्ती तथा चेकजाँच कार्यलाई निरन्तरता दिइँदै छ । नम्बर १ बराह बाहिनी मुख्यालय (सुनसरी), नम्बर २ छिन्नमस्ता (महोत्तरी), नम्बर ३ गढीमाई (मकवानपुर), नम्बर ४ मुक्तिनाथ (कास्की), नम्बर ५ विन्ध्यवासिनी (रूपन्देही) र नम्बर ७ वैद्यनाथ (कैलाली) मातहत रहेका कार्यालयहरूबाट १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो ।

नेपाल प्रहरीले पनि बढायो सतर्कता
सशस्त्र प्रहरीको सक्रियतालाई सघाउँदै नेपाल प्रहरीले पनि आफ्ना सीमा नाका आसपासका इकाइहलाई उच्च सतर्कतामा राखेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले देशभरका प्रमुख नाकाहरूमा रहेको प्रहरी जनशक्तिलाई सचेत र सजग बनाइएको जानकारी दिनुभयो । नेपाल प्रहरीका अनुसार सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप, मानव तस्करी, लागुऔषध ओसारपसार तथा अवैध सामानको आवतजावतमा रोक लगाउने गरी अनुगमन बढाइएको छ ।

समन्वयात्मक सुरक्षा मोडल
सीमा क्षेत्रमा सुरक्षा व्यवस्था बलियो पार्न सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरूसँग समन्वय गर्दै सूचना आदान–प्रदान प्रणालीलाई प्रभावकारी बनाइएको छ ।
साथै, नेपाल–भारत सीमा क्षेत्रमा परम्परागत रूपमा चलिआएको स्थानीय आवतजावतलाई असहज नहोस् भनेर जनमैत्री नीति पनि अपनाइएको बताइएको छ । कानुनी मर्यादाभित्र रहेर सहजीकरण गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।

सुरक्षा सन्तुलन
वर्तमान भू–राजनीतिक अवस्थाका कारण सामाजिक अस्थिरता तथा भारत पाकिस्तानका युद्धका कारण शरणार्थीजस्ता संवेदनशील परिस्थितिमा सीमा क्षेत्रको सुरक्षा संवेदनशील बन्दै आएको छ । यस्तोमा एपीएफ र नेपाल प्रहरीबीचको कार्यविभाजन र समन्वयात्मक रणनीति सुरक्षाको राम्रो उदाहरण मान्न सकिन्छ ।

साथै, खुला सीमाको वास्तविकतालाई सम्बोधन गर्दै अवैध गतिविधिलाई रोक्ने र कानुनी आवतजावतलाई सहज बनाउने सरकारको दोहोरो रणनीति ‘सुरक्षा र सहजीकरण’ बीचको सन्तुलन कायम राख्ने प्रयास हो । तर, सीमा क्षेत्रमा निरन्तर निगरानी, स्थानीय सहयोग र प्रविधिमैत्री सुरक्षाको आवश्यकता अझै रहेको छ । भौतिक चेक प्वाइन्ट मात्र नभई डिजिटल निगरानी प्रणाली तथा स्थानीय जनसहभागितालाई संस्थागत बनाउनु आवश्यक देखिन्छ ।

नेपालद्वारा चिन्ता व्यक्त
भारत प्रशासित काश्मीरको पहलगाममा निर्दोष पर्यटकहरुमाथि भएको आतंककारी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावबारे नेपालले गहिरो चिन्ता व्यक्त गरेको छ ।

भारतले ‘अपरेसन सिंदुर’ नाम दिएर मिसाइल आक्रमण गरेको दुई दिनपछि नेपाल सरकारले दुई छिमेकी राष्ट्रबीचको तनावबारे चिन्ता व्यक्त गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै भारत र पाकिस्तानबीच बढ्दो तनाव कम हुने र यस क्षेत्रमा शान्ति बहाल रहनेमा आशावादी रहेको जनाएको छ । विज्ञप्तिमा नेपालले आतंकवादविरुद्धको लडाइँमा सधैं साथ दिने पनि बताएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘यस दुःखद समयमा नेपाल र भारत साझा शोक र पीडामा एकताबद्ध भएर उभिएका थिए । नेपालले सबै प्रकारका आतंकवादविरुद्धको दृढ अदानअनुरुप बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्ट रुपमा निन्दा गरेको थियो ।’ साथै परराष्ट्र मन्त्रालयले छिमेकी देशहरुविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता दोहो¥याउँदै यस क्षेत्रको शान्तिका लागि दुवै देशलाई अपिल गरेको छ ।