जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन गर्ने राजावादी समूहको घोषणा


काठमाडौँ।

राजावादी समूहले यही जेठ १५ गतेदेखि राजसंस्था पुन:स्थापनाका लागि भन्दै अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच राजसंस्था पुन:स्थापनाका लागि भन्दै बनाइएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ‘सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने’ घोषणा गरेका हुन् ।

आन्दोलनको संयोजन सुवेदी नेतृत्वको समितिमार्फत नै हुने पनि बताइएको छ । संयोजक सुवेदीले उक्त आन्दोलन शान्तिपूर्ण हुने बताए । त्यस्तै आन्दोलनको स्वरूप भद्र अवज्ञा र सत्याग्रह हुने पनि उनले बताए । उनले भने, ‘हाम्रो आन्दोलन कुनै दल वा सरकारका विरुद्ध होइन । निरकुंशता र सर्वसत्तावादको अन्त्य गरी तथा जनतामा निहित सार्वभौमसत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ तुल्याई जनतालाई व्यवहारिक रूपमा देशको मालिक भएको अनुभूति दिलाउनु आन्दोलनको मुख्य ध्येय हुनेछ ।’

त्यस्तै समितिले गत चैत १५ गते तीनकुने प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतको रिहाइ माग गरेको छ ।