रिक्त एआईजीका लागि आठ डिआइजीको आवेदन 


काठमाडौँ ।

 सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि आठ जना नायव महानिरीक्षकले आवेदन दिएका छन् । बढुवा समितिको सचिवालयले गत वैशाख १४ गते सात दिनको समय दिएर आवेदन भर्न आह्वान गरेको थियो । 

आवेदन भर्नेमा डिआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीसहित ८ जना रहेका छन । अन्य डिआईजीहरुमा  लक्ष्मणबहादुर सिंह,  प्रदीपकुमार पाल, सशस्त्र प्रहरी बलको पहिलो इन्स्पेक्टर बेसिकका सुरेशकुमार श्रेष्ठ र अञ्जनी पोखरेलले एआईजीको लागि आवेदन दिएका छन् ।

३० वर्षे सेवा अवधिका कारण एआईजी चन्द्रप्रकाश गौतम वैशाख २ गते अनिवार्य अवकाश गएसँगै रिक्त एक पदमा बढुवा हुने भएको हो । बढुवा भए तीन वर्षपछि भावी संगठन प्रमुखको दाबेदार र नभए विभिन्न मितिमै डीआईजीबाटै अवकाशमा जानुपर्ने भएकाले पनि यो बढुवा विशेष बन्न पुगेको छ । 

अहिले रिक्त एक एआईजीमा बढुवा हुने व्यक्ति २०८४ साल चैत १७ पछि संगठन प्रमुख बन्ने बलियो आधार हुने भएकाले पनि यो बढुवा निकै पेचिलो बनेको छ । विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर राजु अर्याल १७ वैशाख २०८३ देखि अनिवार्य अवकाशमा गएपछि हालका एआईजी  नारायणदत्त पौडेल, वंशी दाहालमध्येबाट एकजना आईजीपी बन्ने छन । 

बढुवाका मुख्य दाबेदार मानिएका गिरी संगठनभित्र इमान्दार अधिकृतको रुपमा चिनिन्छन । हालका डिआईजी मध्ये सबै भन्दा सिनियर रहेका गिरीको एआईजी हुने संभावना बलियो रहेको छ । संगठनभित्र कसैलाई पनि नबिझाउने अधिकृतको रुपमा चिनिएका गिरीको एआईजीहुने संभावना बलियो रहेको छ । 

आवेदन भर्ने आठ जनामध्ये गिरी, ठाडामगर, नेम्वाङ र सुवेदीको गत पुस २२ गते मात्रै एक वर्ष म्याद थप गरिएको थियो । सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग)  अनुसार सशस्त्रका डीआईजीको पदावधि चार वर्षको हुन्छ । तर, नियमावलीको दफा ६५ कै (ग) को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)  को सिफारिसमा नेपाल सरकारले एआईजी र डीआईजी पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने व्यवस्थाअनुसार उनीहरूको एक वर्ष पदावधि थप भएको थियो । उनीहरू एआईजीमा बढुवा नभए आगामी २१ पुसमा डीआईजीबाटै अवकाशमा जानेछन् । 

त्यसपछि भने अहिले एआईजीमा बढुवा हुने व्यक्ति सबैभन्दा सिनियर एआईजी हुने भएकाले संगठन प्रमुख बन्ने सम्भावना बलियो रहेको छ ।  जसका कारण अहिलेको एआईजी बढुवामा भावी नेतृत्व पनि जोडिएपछि बढुवा निकै सकसपूर्ण बनेको हो । यो अवस्थामा सि.सं.१, २ का टोलीसमेत आईजीपी  बन्ने अवस्था नभई पदावधिकै कारण अवकाशमा जानु पर्ने भएकाले सि।सं। १ को टोलीले पनि यो बढुवालाई ‘गर कि मर’को रूपमा लिएको छ । 

बढुवाका लागि ८ जनाले आवेदन दिएको भए पनि गिरी र  ठाडामगरबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

बढुवाको मुख्य दाबेदारमध्ये  ठाडामगर  विवादित पात्र हुन् । जातीयताको चर्को कुरा गर्ने  ठाडामगर थप विवादित अधिकृतको रुपमा संगठनभित्र चिनिन्छन । शैलेन्द्र खनाल आईजीपी हुँदा उनलाई स्पष्टीकरण समेत सोधिएको थियो । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको प्रमुख रहेका बेला तत्कालीन एसएसपी ठाडामगरमाथि सामाजिक सञ्जाल फेसबुकमा अमेरिकाका बहालवाला राष्ट्रपति ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर पोस्ट गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो । ट्रम्प अहिले पुनः राष्ट्रपति छन् । उनीमाथि नम्बर २ छिन्नमस्ता बाहिनीको बाहिनीपति हुँदा तस्करी खुलाएको गम्भीर आरोप  लागेको छ । 

एआईजी बन्न आवेदन दिएका सि।सं। १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका श्रेष्ठमाथि सातदोबाटो गणको गणपति हुँदा रासन घोटालाको अभियोग लागेको थियो । गत १५ चैतमा तीनकुनेमा भएको घटनामा पनि सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोप पनि उनीमाथि छ । यद्यपि, उनी आफूलाई काबिल अफिसर भन्न रुचाउँछन् । तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठका खास मान्छेका रुपमा चिनिएका श्रेष्ठ डिआईजी बढुवामा एक नम्वरमा आउन सफल भएका थिए । उनी कमाण्डमा ध्यान दिन नसक्ने अफिसरको रुपमा परिचित छन । 

यस्तै, पोखरेललाई पनि नेताहरूसँग उठबस गरेको भन्दै सशस्त्र मुख्यालयले स्पष्टीकरण सोधेको थियो । श्रेष्ठ र पोखरेल दुबैमाथि यसअघि गत पुसमा चार वर्षे पदावधिका कारण अवकाशमा जान लागेका चार डीआईजीको म्याद नथप्न चर्को लबिङ गरेको आरोप लागेको थियो । 

उनीहरूसँगै डीआईजीमा बढुवा भएका उनीहरूकै ब्याचमेट दीपेन्द्र शाह र पुरुषोत्तम थापाले भने आवेदन नै दिएनन् । सशस्त्रको पहिलो इन्स्पेक्टर बेसिकका ९ जनामध्ये ६ जना अहिले डीआईजी छन् ।