श्री कुमारीले प्लानिङलाई रोक्यो


काठमाडौं ।
सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत सातौं स्थानको श्री कुमारी क्लबले शीर्ष स्थानको प्लानिङ ब्वाइज क्लबलाई १–१ को बराबरीमा रोकेको छ ।

आइतबार एन्फा मैदानमा सम्पन्न नवौं चरणको अन्तिम खेलमा श्री कुमारीले पहिलो अग्रता बनाएको थियो । तर, सो अग्रता बचाउन नसक्दा टोलीले अंक बाड्नु परेको थियो । टोलीका लागि यमन महर्जनले ५९औं मिनेटमा गोल गरेका थिए । तर, प्लानिङका लागि ७२औं मिनेटमा प्रताप सिंह राईले बराबरी गोल फर्काए ।

यो नतिजासँगै श्री कुमारी ९ खेलबाट १३ अंक जोड्दै तालिकाको सातौं स्थानमा यथावत रह्यो । २३ अंक जोडेको प्लानिङ दोस्रो स्थानको श्री भगवती क्लबभन्दा २ अंकले अगाडि रहेको छ । प्लानिङ र श्री भगवतीका लागि ए डिभिजन लिगमा बढुवा हुन दुई खेलमा जित हासिल गर्नु नै पर्याप्त हुनेछ ।

मध्यपुरलाई रेलिगेसनको खतरा

यसअघिको खेलमा हार बेहोरेको मध्यपुर युथ एसोसिएसन रेलिगेसनमा पर्ने खतरा बढेको छ । वीरगञ्ज यूनाइटेडले मध्यपुरलाई १–० ले हराएको थियो । टोलीलाई जित दिलाउन अमित बच्चरले निर्णायक गोल गरेका थिए । उनले पहिलो हाफको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा गोल गरेका थिए ।

यो जितसँगै ९ खेलमा वीरगंजले १५ अंक जोडेको छ । रेलिगेसन क्षेत्रभन्दा मात्र एक स्थान माथि रहेको मध्यपुरको समान खेलबाट ८ अंक छ । ७ अंकका साथ टुसाल युवा क्लब र ६ अंक जोडेको सरस्वती युवा क्लब रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेका छन् ।