हेनरी फोर्डको प्रभाव

188
Shares

धेरै मानिसहरू सोच्दछन् कि हेनरी फोर्डले कार आविष्कार गरेका हुन्, तर यो सत्य होइन । जर्मन आविष्कारक गट्लिब डाइम्लर र कार्ल बेन्जले फोर्डले सन् १८९६ मा कार बनाउनु अघि नै ११ वर्ष अगाडि पहिलो पटक पेट्रोलबाट चल्ने कार बनाएका थिए । फोर्डले त्यो कार बनाउने कारखाना प्रणाली पनि आविष्कार गरेका थिएनन्, त्यो प्रणाली अरूले पहिले नै प्रयोग गरेका थिए । तर, फोर्डले के गरे भने पहिलेका अवधारणा र विचारहरूलाई सुधार गरे । उनले अझ राम्रो र सस्तो कारहरू बनाए । एउटा विशाल कारखाना बनाए, जसले चल्ने उत्पादन लाइन (मुभिङ प्रोडक्सन लाइन) प्रयोग गथ्र्यो ।

सन् १८६३ मा डेट्रोइट नजिकै जन्मेका फोर्ड सानै उमेरदेखि मेसिनहरूप्रति आकर्षित थिए । उनी १६ वर्षको उमेरमा खेतीपाती छोडेर डेट्रोइट गए । जहाँ उनले सही उपकरणहरूको महत्व सिके । यद्यपि उनी पछि फेरि खेतीपातीमै फर्किएका पनि थिए । तर, उनको ध्यान खेतीमा नभएर मेसिनमा नै केन्द्रित रह्यो । सन् १८९१ मा उनले “साइलेन्ट अटो” भनिने पेट्रोल इन्जिन देखेपछि त्यो इन्जिनले आफैँ चल्ने सवारीसाधन चलाउने कल्पना गरे । इन्जिनको बारेमा अझ धेरै सिक्न सकुन् भनेर उनले बिजुली कम्पनीमा काम गर्न थाले । त्यसपछि सन् १८९६ मा उनले पहिलो कार “क्वाड्रिसाइकल” बनाए ।

फोर्डको पहिलो उक्त कार कम्पनी असफल भयो । तर, उनले हार मानेनन् । सबैको ध्यान खिच्नका निम्ति उनले कारहरू बनाउने र गाडी दौड प्रतियोगितामा सहभागी हुने कार्यमा लागे । सन् १९०१ मा उनले एक ठूलो रेस पनि जिते । त्यो जितले उनलाई ख्याति दिलायो र नयाँ कम्पनी स्थापना गर्न सहयोग पु¥यायो । सन् १९०३ मा फोर्ड मोटर कम्पनीले कारहरू बेच्न थाल्यो । त्यसको एक वर्षभित्रै अर्थात् सन् १९०४ सम्ममा त कम्पनी निकै सफल भयो । फोर्डले धेरै मोडेलका कारहरू उत्पादन गरे । तर, उनको मुख्य ध्यान चाहिँ सस्तो र भरपर्दो कार बनाउनमा थियो । सन् १९०७ मा उनले सामान्य मानिसहरूका लागि सस्तो र भरपर्दो कार बनाउने लक्ष्य राखे । हेनरी फोर्डले कार वा एसेम्ब्ली लाइनको आविष्कार नगरे पनि उनले ती दुवैलाई रूपान्तरण गरे । जसले गर्दा कारहरू सबैका लागि सुलभ भए र उत्पादन प्रणाली नै परिवर्तन भयो ।

हेनरी फोर्डका केही रोचक तथ्यहरू:

-फोर्ड धूम्रपान मन पराउँदैनथे र आफ्नो कारखानामा धूम्रपान गर्नेहरूलाई जागिर दिँदैनथे ।

-उनी विशाल सम्पत्तिका मालिक बने र संसारका एक धनी मध्येमा गनिए ।

-उनको दर्शन सामूहिक उत्पादन र पहुँचयोग्य मूल्यमा आधारित थियो ।

-हेनरी फोर्ड संग्रहालय तथा अन्य संग्रहालयहरू उनको नाममा राखिएको छ ।