प्रधानमन्त्री  ओलीद्वारा सगरमाथा आरोहणमा जान लागेका सशस्त्र प्रहरी सहायक निरीक्षक छत्याललाई  झन्डा हस्तान्तरण


काठमाडौँ। 

 प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जान लागेका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्त बहादुर छत्याललाई ‘सगरमाथा संवाद’को झन्डा हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज (आइतबार ) प्रधानमन्त्री ओलीले झन्डा हस्तान्तरण गर्नुकासाथै सगरमाथा सफल आरोहणको शुभकामनासहित हार्दिक बिदाइ गरेका हुन् । 

तराई  पहाड हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देशसहित  सगरमाथा आरोहणमा जान लागेका सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नं. १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत छन् । कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याल तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेत उपस्थिति रहेको थियो । 

यसअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले  प्रधान कार्यालय हल्चोक स्वयम्भूमा  सहायक निरीक्षक  छत्याललाई सशस्त्र प्रहरी बल नेपालको झन्डा हस्तान्तरण गरी हार्दिक बिदाइ गरेका थिए। उनी  सगरमाथा आरोहणको लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।