युरोपका विभिन्न देश पठाउने भन्दै नेपाल ल्याएर ठगी गरेको आरोपमा पाँच बंगलादेशी नागरिक पक्राउ


काठमाडौँ।

युरोपका विभिन्न देशहरू पठाउने भन्दै बंगलादेशी नागरिकलाई नेपाल ल्याएर ठगी गरेको आरोपमा सोही देशका पाँच जना जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ५० वर्षीय मोहमद मुस्ताफिजुर रहमान, ४१ वर्षीय मोहमद फर्साद हुसैन चौधरी, ४६ वर्षीय अबु युसुफ एमडी हान्सिफ र ४० वर्षीय अजिम मोलिक छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो ।

उनीहरूले अस्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानियालगायतका देशहरूमा पठाउने भन्दै नेपाल ल्याएर ठगी गरेको आरोप छ । प्रतिव्यक्ति ३ हजार ५ सय अमेरिकी डलर लिएर आउन भन्दै नेपाल बोलाएर उनीहरूले ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता अंगुर जिसीले बताए ।

यो समूहले १३ बंगलादेशी नागरिकबाट ४५ हजार ५ सय अमेरिकी डलर लिएर ठगी गरेको बताइएको छ ।उनीहरूको साथबाट प्रहरीले नौ हजार ८५० अमेरिकी डलर, बंगलादेशी ३९ हजार ९०५ र २५ हजार नेपाली रुपैयाँ , राहदानी थान-१९,बिभिन्न कम्पनीको मोबाइल थान-४ बरामद गरेको छ ।

यसैगरी यो समूहले अहिलेसम्म ३८ जनालाई ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाईएको छ।