काठमाडौं ।
कक्षा १२ को परीक्षा अन्ततः सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई परीक्षा सार्न निर्देशन दिएलगतै मंगलबार राति बोर्डको बैठक बसेर परीक्षा सार्ने निर्णय गरेको हो । उक्त निर्णयसँंगै बोर्डले परीक्षा वैशाख २१ गतेदेखि शुरु गर्ने निर्णय गरेको छ ।
अध्यक्ष शर्माले नेपाल समाचारपत्रसँग कुरा गर्दै प्राविधिक कारणले परीक्षा ९ दिनपछि सरेको जानकारी दिनुभयो । अघिल्लो वर्ष पनि कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि नै शुरु भएको थियो । यसअघि पनि शिक्षक महासंघको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले केही दिन स्थगित गर्ने तयारी गरेको थियो ।
तर मंगलबार बिहान प्रधानमन्त्री कार्यालयले दबाब दिएपछि बोर्डले जसरी भए पनि परीक्षा निर्धारित कार्यक्रमअनुसार वैशाख ११ गतेबाट नै शुरु गर्ने निर्णय गरेको थियो । तर राति एकाएक बिहान गरेको निर्णयलाई सच्याउँदै परीक्षा सार्ने निर्णय भएको हो । यसअघि परीक्षा बोर्डले केही दिन स्थगित गरी वैशाख १६ अथवा १९ गतेबाट शुरू गर्ने गरी परीक्षा लिने प्रस्ताव तयार गरेको थियो ।
यसअघि अघिल्लो दिन शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि अनिर्णीत भएको बोर्डले तोकिएकै मितिमा परीक्षा लिने कि केही दिन सार्ने भन्ने अन्योल सिर्जना भएको थियो । विद्यालय बन्द गरेर प्रधान अध्यापकदेखि सबै शिक्षक आन्दोलनमा छन् । केन्द्राध्यक्ष निर्देशिका पुस्तिका, २०८१ मा जिल्ला विकास तथा समन्वय इकाईको भूमिका अन्तर्गत ईकाई प्रमुखद्वारा जिल्ला परीक्षा समन्वय समितिको निर्णयअनुसार प्रत्येक केन्द्रका लागि माध्यामिक विद्यालयका प्रअ वा कम्तीमा माध्यमिक स्तरका एकजना शिक्षकलाई परीक्षा सञ्चालनको लागि केन्द्राध्यक्ष नियुक्ति गर्ने उल्लेख छ ।
सोही आधारमा प्रअ वा मावि शिक्षक नै केन्द्राध्यक्ष हुनुपर्ने व्यवस्था छ । सबै सरकारी शिक्षक आन्दोलित भएकोले केन्द्राध्यक्ष नभएको विद्यालयमा परीक्षा हुने हो कि नहुने भन्ने अन्योल अझै छ । बोर्ड प्रदेश कार्यालयले हिजो मंगलवारबाट प्रअलाई टेलिफोन गरी केन्द्राध्यक्षको पत्र बुझ्न गरेको आग्रहलाई प्रअहरूले इन्कार गरेका थिए । एक प्रअले नेपाल समाचारपत्रसँग भने– ‘हामी आन्दोलनमा छौं केन्द्राध्यक्ष स्वीकार गर्दैनौं ।’
सरकारले तीनै तहका सरकार र कर्मचारीको सहयोगमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । तर, कानुनविपरीत निजामती कर्मचारीलाई केन्द्राध्यक्ष बनाएर परीक्षा गर्नसक्ने अवस्था छैन । बोर्ड बैठकले तोकेकै मितिबाट परीक्षा सञ्चालन हुने जनाएपछि प्रदेश कार्यालयले आफ्नो प्रदेशका सबै विद्यालयका प्रअलाई बोलाएर इकाईमार्फत केन्द्राध्यक्षको चिठ्ठी दिन शुरू गरेको छ । ‘पत्र तयार भयो तर शिक्षकले मानेका छैनन्’–बोर्डका एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने ।
उहाँका अनुसार शिक्षकले आन्दोलन फिर्ता लिएर विद्यालय नपुगेसम्म परीक्षा हुन सम्भव छैन । तैपनि सबै किसिमको प्रयास छ । प्रादेशिक कार्यालयले केन्द्राध्यक्षको पत्र तयार गरेको छ भने विद्यालयले प्रवेशपत्र दिन शुरू गरेको छ । कानुनमा प्रअ नै केन्द्राध्यक्ष हुनुपर्ने व्यवस्था रहेको भए पनि बोर्डले जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारीको निर्देशनमा केन्द्राध्यक्ष तोक्ने तयारी छ ।
परीक्षामा प्रधानमन्त्री ओलीले राज्यले सबै किसिमको सुरक्षा दिने बताउनुभएको छ । परीक्षा सञ्चालन गर्ने विषय अब प्रमुख जिल्ला अधिकारीको हातमा पुगेको छ । उहाँकै निर्देशनअनुसार परीक्षा हुनेछ । यसपटक १२ कक्षाको परीक्षा दिने विद्यार्थीको संख्या ५ लाख ५३ हजार छ भने १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको छ । शिक्षाऐन जारी गर्न माग गर्दै २० चैतदेखि शिक्षक तथा कर्मचारीहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।











प्रतिक्रिया