करोडपति अमिन

4.98k
Shares


३ करोड २९ लाख गैरकानुनी सम्पत्ति

काठमाडौं ।

वागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन (करार) पदमा कार्यरत दिनेशप्रसाद यादवले अनियमितता गरी ३ करोड २९ लाख ४५ हजार ७ सय दुई रुपियाँ एकाईस पैसा आम्दानी गरेको पाइएको छ ।

वि.सं २०६३ भदौ ५ गतेदेखि सो पदमा कार्यरत रहेका अमिन यादवले १८ वर्षको अवधिमा विभिन्न जिम्मेवारीमा रहँदा पदको दुरुपयोग गरी सो सम्पत्ति जोडेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादव जागिर प्रवेश गरेको दिनदेखि २०८१ असार ३० गतेसम्मको अवधिमा कमाएका सम्पत्तिको छानबिनको क्रममा गैरकानुनी आम्दानी गरी करोडौं रुपियाँ कमाएको पाइएको हो ।

यादव कार्यरत कार्यालय उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंद्वारा सञ्चालित रहेको छ । यादवको सो अवधिमा कुल आय २ करोड ४२ लाख २० हजार ३ सय एक रुपियाँ ३० पैसा रहेको छ । आयोगले यादवको आयतर्फ तलबी पारिश्रमिक आय, भत्ता, नागरिक लगानी कोषबाट फिर्ता आएको रकम, आवास कर्जा, कृषि आय, गाडी बिक्री, घर बिक्री, जग्गा बिक्रीबाट प्राप्त रकम, सापटी लिएको तथा निजको श्रीमतीले प्राप्त गरेको बैंकको ब्याज रकमलाई आधारका रूपमा लिइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

यादवले सो अवधिमा ५ करोड ७१ लाख ६६ हजार तीन तीन रुपियाँ ५१ रुपियाँ तीन पैसा खर्च गरेको देखिएको छ । आयोगका अनुसार खर्च र लगानीमा आवास कर्जा तिरेको रकम, गरगहना खरिद, घर निर्माण, जग्गा खरिद, बैंक मौज्दात, सेयर खरिद, शैक्षिक खर्च, सवारी साधन खरिद, ऋण सापटी तिरेको, सापटी दिएको, सामाजिक खर्च र पुँजीगत लाभकर तिरेकोलाई आधारका रूपमा लिइएको छ ।

खर्च तथा लगानीबाट वैधानिक आय घटाउँदा ३ करोड २९ लाख ४५ हजार ७ सय दुई रुपियाँ २१ पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत नखुलेको प्रवक्ता पौडेलले बताउनुभयो । यस तथ्यबाट गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर रहेको पनि आयोगको दाबी रहेको छ ।

यादवले सोबाट बढे बढाएको सम्पत्तिसमेत आफ्नी श्रीमती अमृता कुमारी यादवको नाममा राखेको आयोगको अनुसन्धानले देखाएको छ । यादवले स्रोत नखुलेको सम्पत्ति ३ करोड २९ लाख ४५ हजार ७ सय दुई रुपियाँ २१ पैसा बराबर सम्पति बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको जरिवाना र कैद हुने तथा गैरकानुनी रूपमा आर्जन गरेको उल्लिखित सम्पत्ति जफत गरी पाउनसमेत मागदाबी लिइएको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम जफत गर्ने प्रयोजनको लागिमात्र निजको श्रीमती अमृता कुमारी यादवलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।