काठमाडौं ।
राजतन्त्र पुनःस्थापना, हिन्दु राष्ट्रको पुनः घोषणा र संघीयता खारेजको मागसहित सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका ७ जनालाई नै आइतबार साँझ प्रहरीले रिहा गरेको छ ।
राप्रपाले देशव्यापी रूपमा चर्किएको महँगी, भ्रष्टाचार र गणतन्त्रविरुद्ध आवाज उठाउँदै वैकल्पिक शक्ति निर्माणका लागि आन्दोलनको घोषणा गरेको थियो । यसै सन्दर्भमा पार्टीका शीर्ष नेताहरूले सिंहदरबारभित्र नाराबाजी गरेपछि प्रहरीले पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ जनालाई पक्राउ गरेको थियो ।
पक्राउपछि राप्रपाले आपत्ति जनाउँदै केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक डाकेर तत्कालीन परिस्थितिको समीक्षा गरेको छ । बैठकपछि सार्वजनिक विज्ञप्तिमा राप्रपाले आफ्ना नेतामाथिको पक्राउलाई ‘शान्तिपूर्ण आन्दोलनको दमन’ भनेका थियो । विज्ञप्तिमा भनिएको छ–‘लोकतन्त्रका नाममा शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार खोस्ने राज्यसंयन्त्रको रवैया अलोकतान्त्रिक र निरंकुशताको प्रतीक हो ।’
बैठकले देशभर जिल्लास्तरीय समिति र जनसमुदायलाई आन्दोलनमा उत्रन निर्देशन दिएको छ । यसअघि पार्टी अध्यक्ष लिङ्देनको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय स्वाधीनता, धार्मिक र सांस्कृतिक पहिचान जोगाउने लडाइँ अझ सशक्त बनाउने निर्णयसमेत गरेको थियो ।
यसैबीच, काठमाडौं उपत्यकामा थप प्रदर्शनहरू हुन सक्ने आँकलन गर्दै सुरक्षाकर्मीलाई सतर्क अवस्थामा राखिएको छ । काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीले भन्नुभयो– ‘शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई राज्यले सम्मान गर्छ तर अराजक गतिविधिमा कुनै सम्झौता गरिन्न ।’
सरकारले भने यसबारेमा औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन । गृह मन्त्रालयले आन्दोलनमा संयमता अपनाउन आग्रह गरे पनि केही नेताहरूले निषेधित क्षेत्र उल्लंघन गरेपछि पक्राउ गर्नुपरेको जनाएको छ । पक्राउ परेका अध्यक्ष लिङ्देनसहितका नेतालाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो ।
राप्रपाका नेतासँग ज्ञानेन्द्रको भलाकुसारी
पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रवार आफ्नै निवासमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासँग लामो भलाकुसारी गर्नुभएको छ ।
हिन्दु धर्मसहितको राजतन्त्रको माग राख्दै आन्दोलनमा होमिन लागेको राप्रपाका नेताहरूलाई निर्मल निवासमा बोलाएर पूर्वराजा ज्ञानेन्द्रले चैत १५ गतेको आन्दोलनको समीक्षा गर्नुका साथै आगामी दिनको आन्दोलनको बारेमा समेत छलफल भएको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेर गणतन्त्रविरुद्ध जनमत बढ्दै गएको र यही मौकामा आन्दोलनलाई अघि बढाउन लागेको जानकारी गराएका थिए । पूर्वराजा ज्ञानेन्द्रले आन्दोलनमा जाँदा सुरक्षाकर्मीलाई फूलको थुँगा दिन पनि आग्रह गर्नुभएको बताइएको छ ।
मुलुकलाई मुडभेडमा लैजान पूर्वराजा ज्ञानेन्द्रले यसअघि पूर्वपञ्च नवराज सुवेदी र विवादास्पद मेडिकल माफिया दुर्गा प्रसाईंलाई अघि सारेर आन्दोलन गर्दा चैत १५ गते एक पत्रकारसहित २ जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए । अझै पनि गणतन्त्रविरुद्धको आफ्नो गतिविधिलाई पूर्वराजा ज्ञानेन्द्रले तीव्रता दिनुभएको छ । अहिले पूर्वपञ्चहरुले गणतन्त्रविरुद्ध चर्का नारा लगाउँदा पनि नेताहरू निरीह भएर बस्न बाध्य भएका छन् ।











प्रतिक्रिया