रवि लामिछानेको तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट, सोमबार पेसी


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् ।आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनले आइतबार रिट दर्ता गराएका हुन् ।

उनलाई रिहा गर्न माग गर्दै आइतबार निवेदन दर्ता भएको र सोमबारलाई पेसी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

लामिछाने अहिले भैरहवा कारागारमा छन् । बुटवलको सुप्रिम सहकारीबाट गोर्खा मिडियामा गएको रकम खर्च गर्ने भूमिकामा रहेको भन्दै सहकारी ठगीको मुद्दामा उनी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

जिल्ला अदालतले उनलाई एक करोड रुपैयाँ धरौटीमा छाडेकोमा उच्च अदालतले गत २२ चैतमा उनलाई थुनामा पठाउने आदेश दिएको थियो। सोही दिन राति प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उच्च अदालतको आदेशविरुद्ध उनले सर्वोच्चमा निवेदन दिइसकेका छन् । त्यसमा आदेश हुन समय लाग्ने भएपछि उनले बन्दी प्रत्यक्षीकरणको रिट पनि दर्ता गराएका हुन् ।

रविलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरेको थियो । तर उक्त आदेश उच्च अदालतले बदर गरेर उनलाई थुनामै पठाउने आदेश दिएकै दिन रवि काठमाडौँबाट पक्राउ परेका थिए । उनी हाल कारागार कार्यालय रुपन्देहीमा छन् ।