पोखरा विमानस्थलमा झन्डै १० अर्ब अनियमितताको आशंका

संसदीय उपसमितिको छानबिन अन्तिम चरणमा


–अख्तियारद्वारा कागजपत्र नियन्त्रणमा, महानिर्देशकसँग बयान
–विभिन्न ११ शीर्षकमा झन्डै १० अर्बभन्दा बढी अनियमित किसिमले खर्च
–छिनेडाँडा काट्न सम्झौताविपरीत ३२ करोड २ लाख भुक्तानी
–उच्च नेतृत्वकै आडमा महानिर्देशक अधिकारीको लुट धन्दा

काठमाडौं ।

संसद्को सार्वजनिक लेखा समितिअन्तर्गत रहेको उपसमितिले नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी कन्स्ट्रक्सनको मिलेमतोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का प्रक्रियादेखि निर्माणसम्मका अवधिमा झन्डै १० अर्ब अनियमितता भएको हुन सक्ने निष्कर्षसहितको प्रतिवेदनको मस्यौदा अन्तिम चरणमा पु¥याएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौंको भ्रष्टाचार भएको भन्ने विषयहरू उठेपछि लेखा समितिले उपसमिति बनाएर छानबिन गरेको थियो । यो विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ । अख्तियारले छानबिनको क्रममा केही महिना अघिमात्रै विमानस्थलमा छापा मारेर केही फाइलहरू नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान जारी राखेको अख्तियारले विमानस्थल निर्माणको सुरुआती चरणमा आयोजना प्रमुख भएर काम गरेका र पछि उच्च राजनीतिक नेतृत्वलाई रिझाएर प्राधिकरणका महानिर्देशक बन्न सफल भएका प्रदीप अधिकारीलगायतसँग पटकपटक बयान लिइसकेको छ । लेखा समितिअन्तर्गतको उपसमितिले १० अर्ब रुपियाँ अनियमितता हुन सक्ने आशंका गर्दै त्यसको विस्तृत अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुनुपर्ने निष्कर्ष निकालेको हो ।

उपसमितिका एक सदस्यका अनुसार विमानस्थल निर्माणका क्रममा एसी जडान, नाली निर्माण र माटो खन्ने काममा, इन्धन ट्यांकी, परामर्श खर्च, कर राजस्व छुटका नाममा झन्डै १० अर्ब रुपियाँ अनियमित किसिमले खर्च भएको पाइएको हो । उपसमितिले तयार पारेको प्रतिवेदनमा छिनेडाँडा कटानका लागिमात्रै ३२ करोड २ लाख रुपियाँ खर्च भएको देखाइएको छ । यसै गरी माटो खन्ने भर्ने तथा अन्यत्रबाट माटो ल्याउने कार्यका लागिमात्रै डेढ करोड अमेरिकी डलर खर्च भएको देखाएर अनियमितता गरिएको उपसमितिका ती सदस्यले बताए ।

समितिले विभिन्न ११ वटा शीर्षकमा झन्डै १० अर्बभन्दा बढी अनियमित किसिमले खर्च भएको आंैल्याएको हो । प्रायःजसो सबै शीर्षकमा अनियमितता भएको र सम्झौताविपरीत कर छुट दिएर राजस्व चुहावटसमेत गरेको पाइएको छानबिन उपसमितिका ती सदस्यले जानकारी दिए ।

प्रतिवेदनमा औंल्याइएअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र ठेकेदार चिनियाँ कम्पनीबीचको सम्झौताअनुसार, ‘अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन सबै सुविधा र पूर्वाधारहरू निर्माण गर्ने दायित्व ठेकेदारको हुने’ भन्ने नियमअनुसार विमानस्थलको अगाडि पर्ने छिनेडाँडा ठेकेदारले नै काट्नुपर्नेमा सम्झौताविपरीत प्राधिकरणले ३२ करोड २ लाख रुपियाँ छुट्टै निर्माण व्यवसायीलाई भुक्तानी गरेको थियो ।

यसै गरी एसी जडानमा समेत परियोजनाबाटै हुनुपर्ने सम्झौताविपरीत प्राधिकरणले एचभीएसी सिस्टम जडानका लागि भन्दै ७ लाख ४२ हजार ६५९ अमेरिकी डलर भुक्तानी गरेको थियो । यसै गरी नाली निर्माणका नाममा भएको १ अर्बभन्दा बढी खर्चमा समेत ठूलो अनियमितता भएको लेखा उपसमितिको ठहर छ ।

प्रतिवेदनअनुसार खनेको माटो रन–वे, ट्याक्सी–वे, नालीलगायतका ठाउँमा भर्नसमेत गैरकानुनी रूपमा ४४ लाख ३५ हजार अमेरिकी डलर भुक्तानी भएको पाइएको छ । यस्तै, विमानस्थलमा बाहिर बाटोमा माटो नै नल्याइको तर माटो ल्याएको भन्दै ५५ लाख अमेरिकी डलर भुक्तानी भएको थियो । उपसमितिले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकरीलाई तत्काल लिलम्बन गरी अनुसन्धान अघि बढाउनुपर्ने सुझाव दिएको छ ।

अधिकारी २०७१ साल देखि २०७४ सालसम्म पोखरा विमानस्थलमा आयोजना प्रमुख रहनुभएको थियो । त्यसपछि उच्च तहका नेताहरूसँग सेटिङ मिलाई उहाँ २०७८ सालमा प्राधिकरणको महानिर्देशक बन्न सफल हुनुभएको थियो । उच्च तहको राजनीतिक नेतृत्वको आशीर्वादमा लुट मच्चाइरहेका अधिकारीबाट नेतृत्वले पनि मनग्यै आर्थिक फाइदा लिइरहेको दाबी स्रोतको छ ।

स्रोतका अनुसार अधिकारी र उहाँको समूहले मन्त्रिपरिषद्, अर्थ र पर्यटन मन्त्रालयसँग सेटिङ गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तय गरिएको लागत अनुमानभन्दा ८६ प्रतिशत बढी रकम निर्धारण गरेर ‘इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी)’ मोडलमा सीएएमसीसँग निर्माण सम्झौता गरेको थियो । तर, त्यसलाई परिवर्तन गरेर ‘बिल अफ क्वान्टिटी (बीओक्यू)’ का आधारमा चिनियाँ निर्माण कम्पनीलाई ठूलो रकम गैरकानुनी रूपमा भुक्तानी गरेको ठहर समेत छानबिन उपसमितिको छ ।

उपसमितिको प्रतिवेदनअनुसार विमानस्थल निर्माणका क्रममा चिनियाँ निर्माण कम्पनीलाई भन्सार र मूल्य अभिवृद्धि करमा छुट दिएर अर्थ मन्त्रालयले राज्यलाई दुई अर्ब रुपियाँभन्दा बढी आर्थिक व्ययभारमा पारेको समेत औंल्याइएको छ ।
पोखरा विमानस्थल निर्माणका लागि सुरुआतमा प्राधिकरणले १७५ मिलियन डलर लागत अनुमान गरेको थियो । विमानस्थल बनाउन ऋण दिन तयार चीनको एक्जिम बैंकको सर्तअनुसार चिनियाँ निर्माण कम्पनीहरूलाई मात्र प्रतिस्पर्धा गर्न दिइएको थियो ।

प्रतिस्पर्धामा रहेका तीनमध्ये सबैभन्दा कम बोलकबोल गर्ने चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले ३०५ मिलियन अमेरिकी डलर प्रस्ताव गरेको थियो । सीएएमसीको प्रस्ताव प्राधिकरणले गरेको लागत अनुमानभन्दा धेरै बढी थियो । चिनियाँ प्रस्ताव सार्वजनिक खरिद ऐनविपरीत रहेको थियो ।

संसदीय उपसमितिको छानबिन प्रतिवेदनअनुसार विमानस्थल निर्माण आयोजनाको लागत अनुमानभन्दा बढी प्रस्ताव भएपछि विवाद भएको थियो । त्यसपछि प्राधिकरणले सेटिङकै आधारमा यसअघि गरेकोे लागत अनुमान बढाएर २६४ मिलियन बनाएको थियो । लागत अनुमानभन्दा बढी रकममा ठेक्का सम्झौता गर्न नपाइने कानुनी प्रावधानका कारण प्राधिकरणले लागत अनुमान बढाएको पाइएको उपसमितिको विश्लेषण छ ।