बुटवल।
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित गर्दै यही भूमि विश्वव्यापी ज्ञानको सुरुवात भएको ठाउँ भएको बताएका छन्। अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाणिनिको जन्मस्थान अर्घाखाँची भएकोमा कुनै शंका नरहेको प्रस्ट पारे ।
’यो भूमि पावन छ, पुण्य छ, देवभूमि हो, यहाँबाटै ज्ञानको सुरुवात भयो, प्रधानमन्त्री ओलीले भने –’विश्वका व्याकरणका पिता पाणिनि यही भूमिमा जन्मनु भएको हो । अरु सबै व्याकरणहरूले पाणिनिको सूत्रलाई आधार मानेका छन् ।
प्रधानमन्त्री ओलीले पाणिनिको योगदान असाधारण रहेको उल्लेख गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेष गरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भैरहेको बताए ।

’पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुवातसँगै संगीत र लयको विकास भयो ,उनले भने ।
उनले पाणिनिले मात्र नभई शिव, सिंग ऋषि, पतञ्जलि, र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिलाई समुचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिने स्पष्ट पारे । नेपाल सरकारले यस क्षेत्रको विकासको लागि ध्यान दिएको स्पष्ट पारे । धार्मिक र पर्यटकीय स्थलको रुपमा विकास गर्न जोड दिने बताए ।
पाणिनिको जन्म पाकिस्तानमा भएको भन्ने भ्रम मात्रै भएको बताए ।’ऋषिहरू ध्यान र तपस्याको लागि उपयुक्त भूमि खोज्थे, व्याकरण बनाउन सजिलो ठाउँ हेरेर गएका होइनन् । शिवका डमरुको ध्वनि सुनेर व्याकरण सृजना गर्ने पाणिनिको साधना यहीँ भएको हो ।
महर्षि पाणिनि मन्दिरको शिलान्यास
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिका–१ स्थित पाणिनि तपोभूमिमा निर्माण हुन लागेको महर्षि पाणिनि मन्दिरको शिलान्यास गरेका छन् । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालय, रुपन्देहीको लगानीमा निर्माण हुन थालेको मन्दिरको शिलान्यास गरेका हुन्।
पाणिनिलाई संस्कृत व्याकरणका पिता मानिँदै आएको छ, र यस स्थललाई ध्यानभूमि, ज्ञानभूमि तथा देवभूमिका रूपमा प्रचारप्रसार गर्दै धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित २७ लाख ४५ हजार ७ सय २६ रुपैयाँ १५ पैसाको लागतमा मन्दिर बन्न थालेको हो ।











प्रतिक्रिया