काठमाडौं ।
गणतन्त्रलाई स्वीकार गर्दै मन्त्रीसम्म भएका राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र फर्काउने भन्दै केही समययता राजधानी केन्द्रित आन्दोलन गर्दै आएको छ ।
चैत १५ गते विवादास्पद मेडिकल माफिया दुर्गा प्रसार्इं र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत २९ वटा विभिन्न समूहले राजतन्त्रका साथै हिन्दु राज्य कायम गर्ने नाममा लुटपाट र हिंसा मच्चाएको थियो ।
चैत १५ गतेको पहिलो आन्दोलन नै प्रत्युत्पादक भएपछि तितरबितर भएको पूर्वपञ्चहरूको समूह पुनः एकत्रित हुँदै गणतन्त्रविरुद्ध हुंकार शुरू गरेका छन् । राजतन्त्र पुनःस्थापनाको माग गर्दै आन्दोलनमा उत्रिएका राप्रपाका नेताहरूले गणतन्त्रभित्र राजतन्त्र रहने भएकाले राजतन्त्र पुनःस्थापना नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
मंगलवार बल्खुमा आयोजित विरोध प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रवादीमाथि गम्भीर आरोप लगाउँदै वैशाख ७ गतेबाट हुने आन्दोलनले निर्णायक मोड लिने बताउनुभयो । गणतन्त्रमाथि विभिन्न आरोप लगाएका अध्यक्ष लिङ्देनले चैत १५ गतेको हिंसात्मक आन्दोलनलाई वैधानिकता दिने प्रयत्न गर्दै सुरक्षा निकायका उपल्लो तहका अधिकृतमाथि तुच्छ आरोप लगाउनसमेत भ्याउनु भएको थियो ।
चैत १५ गतेजस्तै लुटपाट र हिंसाजन्य घटना नहोस् भन्ने उद्देश्यले सुरक्षा निकायको बाक्लो उपस्थिति रहेको बल्खुमा सहभागी राप्रपाका नेता तथा कार्यकर्ताले काठमाडौंका मेयर बालेन्द्र साहदेखि प्रधानमन्त्री केपी ओलीसम्मको आलोचना गर्न भ्याएका थिए । राजतन्त्र पुनःस्थापना भएसम्म सडकमा नै बस्ने र सडकमा नै खानेसम्मका भाषण गर्न भ्याएका राप्रपाका नेताहरूले आन्दोलनमा घुसपैठ गरेको भन्दै ४ जनालाई समातेर प्रहरीको जिम्मा लगाएका थिए । पक्राउ परेर प्रहरीको जिम्मा लगाएका ४ जना युवा कुनै पनि राजनीतिक पार्टीमा संलग्न नरहेको प्रहरीले जानकारी दिएको छ ।
सोचेजति जनता विरोध सभामा नआएपछि नेताहरूले गणतन्त्रका नाइकेहरूलाई जेल हालेर छोड्ने र त्यसका लागि तयारी अवस्थामा रहन पनि गाणतन्त्रवादीहरूलाई चेतावनी दिएका थिए । चैत १५ गतेको घटनापछि अत्तिएका स्थानीय व्यापारीहरूले राप्रपाको आन्दोलन नसकिएसम्म आफ्नो व्यवसाय बन्द गरेका थिए ।
कार्यक्रममा राप्रपका उपाध्यक्ष बुद्धिमान तामाङले वर्तमान सत्ताले राप्रपालाई पेल्दै गए चुनावी प्रक्रिया त्यागेर विद्रोह गर्ने चेतावनीसमेत दिनुभएको थियोे । उहाँले संविधानमा नभएको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको कुरा गर्ने ओली र कार्यकारी राष्ट्रपतिको कुरा गर्ने प्रचण्डमाथि कारबाही गर्न नसक्ने यो सत्ताले हामीले संवैधानिक राजतन्त्र चाहियोभन्दा दमन गर्ने यस्तै अवस्था रहने हो भने भोलि जे पनि हुन सक्ने चेतावनी दिनुभयो । कार्यक्रममा सहभागी नेताहरूले नेपालमा राजतन्त्र पुनःस्थापना नभए नेपाललाई बंगलादेश र श्रीलंका बनाइदिने चेतावनी दिएका थिए ।
राणा र मिश्र थप १५ दिन हिरासतमा
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा थप १५ दिन हिरासतमा बस्नुपर्ने भएको छ । काठमाडौं जिल्ला अदालतले राप्रपाका नेताहरू मिश्र र राणालाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको तथा उक्साएको आरोपमा प्रहरीले उनीहरूलाई सोही राति पक्राउ गरेको थियो । काठमाडौं अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार उक्त आरोपमा पक्राउ गरिएका नेताद्वयसहित २० जनालाई अनुसन्धानका निम्ति थप १५ दिनको म्याद थप गरिएको छ । प्रहरीले चैत १५ गते भाटभटेनी लुटपाट, विभिन्न आगजनी तथा हिंसात्मक घटनामा संलग्न रहेर फरार रहेका ७४ जनालाई मंगलवार बिहानसम्ममा पक्राउ गरेको छ ।











प्रतिक्रिया