नगद कारोबार घट्दै, विद्युतीय भुक्तानीमा आकर्षण


काठमाडौं ।

भुक्तानी प्रणालीमा गरिएको आधुनिकीकरणसँगै पछिल्ला वर्षहरूमा नेपालमा नगद कारोबार घट्दै उच्च गतिमा विद्युतीय भुक्तानीको क्रम बढेको छ । बैकिङ पूर्वाधार र प्रविधिको विकास तथा कानुनी व्यवस्था सुदृढ हुँदै गएसँगै विद्युतीय भुक्तानी सेवा प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ।

राष्ट्र बैंकका अनुसार अहिलेसम्म मोबाइल बैंकिङ खाताको संख्या २ करोड ६५ लाख, डेबिट कार्डको संख्या १ करोड ३४ लाख र वालेट खाताको संख्या २ करोड ५८ लाख पुगेको छ । मोबाइल बैंकिङ ग्राहकको जनसंख्यामा अनुपात २०७७ साउनको ४० प्रतिशतबाट बढेर ८९ प्रतिशत पुगेको छ । त्यस्तै, वालेट खाताको अनुपात २२ प्रतिशतबाट ८६ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो पाँच वर्षको तथ्यांकमा २०७७ साउनदेखि २०८१ माघसम्म वालेट खातामा ४.१२ गुणा, प्रिपेड कार्डमा ३.८८ गुणा र मोबाइल बैंकिङमा २.३२ गुणा वृद्धि भएको छ। यसैगरी नगदरहित कारोबारलाई प्रश्रय दिन क्यूआर कोडमार्फत भुक्तानीलाई प्राथमिकता दिइएसँगै उक्त माध्यममा पनि तीव्र विस्तार भएको देखिएको छ ।

२०७८ असारमा २ लाख ८२ हजार मात्र रहेको क्यूआर मर्चेन्टको संख्या २०८१ पुससम्ममा २३ लाख ४२ हजार पुगेको छ । आर्थिक वर्ष २०७७-७८ मा ५५ लाख क्यूआर कारोबारबाट २० अर्ब २८ करोड रुपियाँको कारोबार भएकोमा २०८०-८१ मा १६ करोड ९३ लाख कारोबारमार्फत् करिब ५ सय अर्ब रुपियाँ बराबरको कारोबार भएको छ। विद्युतीय कारोबारको औसत वृद्धि दर पनि उच्च छ । आर्थिक वर्ष २०७८-७९ देखि २०८०-८१ सम्म विद्युतीय कारोबार संख्यामा औसत ४३.५ प्रतिशत वृद्धि भएको छ भने रकममा २३.७ प्रतिशतले बढेको छ। क्यूआर कोडमार्फत हुने कारोबारको संख्यामा वार्षिक करिब २३० प्रतिशत र रकममा २१० प्रतिशतको औसत वृद्धि देखिएको छ ।

यसैगरी एटीएमबाट हुने नगद भुक्तानीको हिस्सा २०७७-७८ मा १६.३५ प्रतिशतबाट घटेर २०८०-८१ मा ९.७ प्रतिशतमा झरेको छ। सो अवधिमा मोबाइल बैंकिङबाट हुने कारोबारको हिस्सा २४ प्रतिशतबाट ३१ प्रतिशत पुगेको छ भने क्यूआर कोडबाट हुने कारोबार १ प्रतिशतबाट १२ प्रतिशत पुगेको छ। रिटेल पेमेन्ट स्वीच सञ्चालनमा आएसँगै देशभरका भुक्तानी प्रणालीहरू एकीकृत हुँदै गएका छन्। ठूला रकमको कारोबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ प्रणाली मार्फत २०८०-८१ मा ८ लाख ९ हजार कारोबार गरी ३८५ खर्ब २० अर्ब रुपियाँ भुक्तानी गरिएको छ।

अन्तरदेशीय कारोबारको सहजता वृद्धिमा पनि महत्वपूर्ण प्रगति देखिएको छ । भारतसँगको सहकार्यमा फोनपे पेमेन्ट सर्भिस लिमिटेडमार्फत क्यूआर कोड आधारित अन्तरदेशीय भुक्तानी प्रणाली सञ्चालनमा आएको छ। २०८० फागुनबाट सुरू भएको यस प्रणालीमार्फत २०८१ माघ मसान्तसम्ममा ५ लाख १९ हजार कारोबारबाट १ अर्ब ४९ करोड रुपियाँको कारोबार सम्पन्न भएको छ । त्यस्तै अलिपे, विच्याट, युनियनपे मार्फत एक वर्षको अवधिमा १०.१२ करोड बराबरको करिब ५१०० कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले विदेशमा जारी भएका भुक्तानी उपकरणहरूको प्रयोग गरी नेपालमा भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनका लागि भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई स्वीकृति प्रदान गरेसँगै उक्त कारोबार भएको हो । ‘यूपीआई अक्वायरिङ सेवा’ (विदेशीले नेपालमा क्यूआर प्रयोग गरी तिर्ने रकम)बाट मात्रै ५ लाख १९ हजार ३१ कारोबार भएको थियो । यसबाट करिब १ अर्ब ४९ करोड रुपैयाँ बराबर रकम प्राप्त भएको छ ।

साथै नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेडलाई भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) प्रणालीसँग आबद्ध भई गरिएको छ । राष्ट्र बैंकले ९ वटा भुक्तानी प्रणाली सञ्चालक र २५ वटा भुक्तानी सेवा प्रदायक संस्था, २० वटा वाणिज्य बैंक, १७ विकास बैंक, १५ वित्त कम्पनी र ११ वटा लघुवित्त वित्तीय संस्थाले भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त गरेका छन्। नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारको सुरक्षालाई उच्च प्राथमिकता दिँदै साइबर सुरक्षासम्बन्धी संरचना तथा नियमनलाई पनि सुदृढ बनाइरहेको जनाएको छ ।