काठमाडौं ।
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-७ भरवलिया गाउँमा सोमबार साँझ भएको पिकअप भ्यान दुर्घटनामा परी एक बालिकासहित दुई जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार लु १ च २७६३ नम्बरको पिकअप भ्यान शिवगढिया मोडमा अनियन्त्रित भई पल्टिँदा गैँडहवा गाउँपालिका-१ की १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका-६ की ४८ वर्षीया जानमती यादवको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मध्ये तीन जनाको उपचार लुम्बिनीस्थित लाइफ केअर अस्पतालमा भइरहेको छ भने अन्य १९ जनालाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, रानीगाउँमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।
दुर्घटनाका प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा गुडिरहेको पिकअप भ्यान मोडमा पुग्दा सन्तुलन गुमाई पल्टिएको थियो । भ्यानमा सवार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरमा मुण्डन संस्कार सकेर घर फर्कंदै थिए । दुर्घटनापछि सवारी चालक कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका-४ बिठुवा निवासी २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ ।
प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार सामान बोक्न प्रयोग हुने उक्त भ्यानमा क्षमताभन्दा बढी यात्रु चढेकाले भारवहन सीमा नाघेर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।











प्रतिक्रिया