कृषि क्षेत्रको समग्र सुधारबाट मात्र भोकमरीको अन्त्य गर्न सकिन्छ : कृषिमन्त्री अधिकारी 


 काठमाडौं ।

  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको समग्र सुधारबाट मात्र भोकमरीको अन्तय गर्न सकिने वताएका छन् । आज ललितपुरमा  विश्व भोकमरी सूचकाङ्क प्रतिवेदन –२०२४  सार्वजनिक गर्दे मन्त्री अधिकारीले नेपालले भोकमरी र कुपोषण न्यूनीकरणको दीर्घकालीन लक्ष्यमा उल्लेखनीय प्रगति हासिल गरेको भए पनि अझै दुर्गम भेगहरुमा खाध अभाव , वाल कुपोषण , पोषण शिक्षाको अभाव , कृषि प्रणालीको असमानता आदि चुनौतीका रुपमा रहेको उल्लेख गरे । 

कृषि जैविक विविधताको क्षयीकरण, कृषि रसायनहरुको बढ्दो तथा जोखिम युक्त प्रयोगका साथै मानवीय तथा जलवायु परिवर्तनले हाम्रो वातावरणीय, मानवीय तथा पर्यावरणीय क्षमतामा ह्रास हुँदै गएको भन्दै मन्त्री अधिकारीले यसको सम्बोधनका लागि सबैको सामुहिक प्रयास  आवश्यक रहेको छ ,भने । 

मन्त्री अधिकारीले अभियानमूलक माटो सुधार तथा ब्यवस्थापन कार्यक्रम, प्राङ्गारिक मलको उत्पादन तथा उपयोगको प्रवद्र्धन ,स्थानीय तहहरुमा उत्पादन भएको उपजको प्रांगारिक प्रमाणीकरण तथा प्रयोगशाला परीक्षण शुल्कमा सहुलियत , रासायनिक विषादीको विकल्पका रुपमा वानस्पतिक र जैविक विषादीको उत्पादन र प्रयोगलाई व्यापक गर्ने जस्ता कार्यक्रमहरुलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी दिँदै जलवायु उत्थानशील, दिगो, लैंगिक उत्तरदायी, कृषिमा अझै लगानी आवश्यक रहेको बताए । 

कृषि उत्पादन प्रणालीलाई दिगो र पर्यावरणमैत्री बनाउन पर्यावरणीय कृषि प्रवर्धनको मार्गचित्र आवश्यक भएकाले यस तर्फ मन्त्रालयले  कार्य गरेको पनि मन्त्री अधिकारीले बताए ।नेपाललाई भोकमरी  र कुपोषणमुक्त राष्ट्र बनाउन सरकारी, गैर सरकारी, निजी क्षेत्र, नागरिक समाज संस्था, तथा स्थानीय समुदायहरू बीच बहु–क्षेत्रीय सहकार्य अपरिहार्य रहेको र  यसले सबै नागरिकमा खाद्य पहुँच सुनिश्चित गर्ने पनि मन्त्री अधिकारीले उल्लेख गरे ।

सार्वजनिक प्रतिवेदनले नेपालको  भोकमरी सुचकाकं १४.७ मा झरेको देखाएको छ । सन २००० मा नेपालको सुचकाकं ३७.१ मा रहेको थियो।  तथ्यांकले  नेपालको अवस्थामा मध्यम श्रेणीको सुधार देखिएको छ  ।