विभिन्न स्वास्थ्य समस्याले शहरवासी हैरान

काठमाडौं वायु प्रदूषणमा विश्वकै शीर्ष स्थानमा



सरकारले सतर्कता अपनाउन ग-यो आग्रह

काठमाडौं ।
उपत्यका लगायत देशका प्रमुख शहरहरूमा वायु प्रदूषण चरम सीमामा पुगेपछि विभिन्न स्वास्थ्य समस्याले शहरवासी हैरान हुन थालेका छन् ।

अत्याधिक वायु प्रदुषण्का कारण आँखा पोल्ने तथा चिलाउने, रुघाखोकी र दमको समस्या बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । काठमाडौंका अस्पतालहरूमा बिरामीको चाप बढेको र दीर्घरोगीहरू बढी प्रभावित भएकाले अत्यावश्यक सतर्कता अपनाउन आग्रह गर्दै उहाँले भन्नुभयो,– ‘अहिलेको प्रदूषणका कारण दम, फोक्सो सम्बन्धी रोग बढ्नुका साथै नाक र घाँटीमा समेत समस्या देखा परेकाले दीर्घ रोगी, बालबालिका र गर्भवती महिलाले विशेष सतर्कता अपनाउनुहोला ।’ केही दिनदेखिको उच्च स्तरको वायु प्रदूषणका कारण बिरामी पर्नेहरूको संख्यामा पनि उल्लेख्य रूपमा वृद्धि भएको कारण सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप पनि अत्यधिक बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यता स्वास्थ्य मन्त्रालयले यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान पनि सर्वसाधारणलाई आग्रह गरेको छ । प्राधिकरणले वायु प्रदूषण कम गर्न सार्वजनिक यातायातको प्रयोगमा कमी ल्याउन, फोहोरको उचित व्यवस्थापन, निर्माण कार्यमा धुलो रोकथाम गर्ने उपाय अवलम्बन गर्न आग्रह गर्दै विशेषगरी मध्य पहाडी क्षेत्रमा अत्यधिक मात्रामा बढेको डँडेलो नियन्त्रणका लागि सरकारका सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
उता शिक्षा मन्त्रालयले पनि विद्यालयहरू केही दिनका लागि बन्द गर्नेबारे छलफल भइरहेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन आम नेपालीलाई आग्रह गरेको हो । विश्व वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार नेपाल हाल विश्वकै सबैभन्दा प्रदूषित देशको सूचीमा पहिलो स्थानमा पुगेको छ । नेपालमा बायु प्रदूषणको स्तर ३ सय ४८ एक्यूआई पुगी ‘खतरनाक’ श्रेणीमा परेको हो । अत्यधिक प्रदूषणका कारण वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा दीर्घरोगीहरू बढी जोखिममा रहेको भन्दै स्वास्थ्य मन्त्रालयले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भारतमा गहुँको पराल डढाइएको, कलकारखानाबाट उत्सर्जित धुवाँ नेपाल भित्रिएको र मध्य पहाडमा फैलिएको डढेलोका कारण वायु प्रदूषण भयावह बनेको हो । साथै, काठमाडौं उपत्यका, पोखरा, विराटनगर, र तराईका प्रमुख शहरहरू सबैभन्दा बढी प्रभावित भएका छन् । यसबाट मानिसको स्वास्थ्यका साथै पर्यावरण र अर्थतन्त्रलाई पनि गम्भीर रूपमा प्रभाव परेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा वायु प्रदूषणका कारण वार्षिक ३० हजार जनाले ज्यान गुमाउने गरेका छन् । वायु प्रदूषण नियन्त्रण गर्न यथाशीघ्र प्रभावकारी उपायहरू नअपनाए भविष्यमा स्थिति झनै भयावह बन्न सक्नेतर्फ विज्ञहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।


यसकारण बढिरहेको छ वायु प्रदूषण

यातायातका साधन ४० प्रतिशत (डिजेल-पेट्रोलको धुवाँ, धुलो)
घरायसी प्रदूषण २५ प्रतिशत (काठ, कोइला, लुगा जलाउने)
औद्योगिक प्रदूषण २० प्रतिशत (सिमेन्ट, ईंटा, धातु उद्योग)
निर्माण कार्य १० प्रतिशत (धुलो, डिजल जेनेरेटर)
कृषि क्षेत्र ५ प्रतिशत (पराल, जङ्गलको आगो)


प्रदुषणबाट कसरी बच्ने?
घरबाहिर निस्कनै परेमा मास्क अनिवार्य प्रयोग गर्ने ।
अत्यधिक धुलो र धुवाँ हुने क्षेत्रबाट टाढा रहने ।
बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीलाई विशेष ध्यान दिने ।
सार्वजनिक यातायातको प्रयोग घटाउने ।
घरमै बस्ने बानी बसाल्ने र सकेसम्म सुरक्षित उपायहरू अपनाउने ।