गणतन्त्रमाथि झोसिएको आगो

1.03k
Shares

चैत्र १५ गते काठमाडौंको तीनकुनेमा आगजनी, तोडफोड र हिंसा मच्चियो । एकजना श्रमजीवी पत्रकार र अर्का एक युवक गरी दुईजनाको दुःखद निधन भयो । एकजना युवा सबिन महर्जन प्रहरीको गोलीबाट मारिए भने अर्का युवा पत्रकार सुरेश रजक राजावादीहरुले आगो लगाएको घरमा जिउँदै जलाएर मारिए । यी दुवै हत्या जघन्य अपराध थिए ।

घटनामा सुरक्षाकर्मी र आन्दोलनकारी गरी कैयौँ व्यक्ति घाइते भए । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सोही दिन विभिन्न ठाउँमा लुटपाट र आगजनीसमेत गरिए । कार्यक्रम राजावादीहरुले आयोजना गरेका थिए र त्यसका मुख्य कमान्डर राजनीतिक चेत नभएका, हुल्लडबाज, सधैँ ठोक्ने, सिध्याइदिनेजस्ता आपराधिक प्रवृत्तिका प्रवचन दिँदै आएका दुर्गा प्रसाईं थिए । यद्यपि सो कार्यक्रमलाई अन्य सबै राजावादी दल तथा विभिन्न समूहले समर्थन जनाएका थिए ।

त्यो दिन जति पनि घटना घटे ती प्रसाईंकै कारणले घटेको देखिन्छ । यद्यपि सरकार र सुरक्षा निकाय पनि कतिपय सवालमा चुकेकोचाहिँ सत्य नै हो । तर घटनाको जिम्मेवारी प्रसाईं र आयोजक समूहले लिन मानेको छैन । राजावादीहरुले सरकार र सुरक्षा निकायको दमनका कारण स्थिति उत्तेजक बन्न गएकाले विभिन्न घटना घटेको दाबी गर्दै त्यसको जिम्मेवारी सरकारी पक्षले लिनुपर्ने बताउँदै आएको छ ।

राजावादीहरुले मच्चाएको लुटपाटलाई भने कुनै पनि सचेत नेपालीले समर्थन गर्नै सक्दैन । उनीहरुले जसरी लुटपाट मच्चाए, त्यो अक्षम्य अपराध नै थियो । सरकारले लुटेराहरुलाई खोजतलास गरी कडा कारबाही गर्नुपर्छ र दण्डहीनताको अवस्था अन्त्य गर्नुपर्छ । घटना त घट्यो, त्यसले गर्दा राजावादी र पूर्वराजा ज्ञानेन्द्रले ठूलो क्षति व्यहोर्नुपरेको छ । पूर्वराजा र राजावादीहरुले अहिलेसम्म सञ्चित गर्दै आइरहेको शक्तिलाई १५ चैत्रको हिंसा, लुटपाट र आगजनीका घटनाले निमेषभरमा नै समाप्त पारिदिएको छ ।

यद्यपि त्यो कार्यक्रममा त्यति धेरै मानिस आएर सरकारलाई किन चुनौती दिए त ? भन्ने बारेमा हाम्रा गणतन्त्रवादीहरुले गम्भीर समीक्षा गरेको देखिएन । उनीहरु आफू सच्चिने कोशिश नै गरेको पाइएन, उल्टो राजावादी र पूर्वराजालाई सत्तोसराप र कारबाहीको धम्की दिँदै गणतन्त्रवादी नेताहरुले दिन बिताउन थालेका छन् ।

हिंसा मच्चाउने राजावादी र पूर्वराजालाई कारबाही गर्ने विषयहरु चर्काइरहँदा उनीहरुले मुुलुकमा सुशासनका रंगहरु भर्ने, नागरिकलाई सहज सेवा दिने, बेरोजगारी समस्या समाधान गरी रोजगारी सिर्जना गर्ने, स्वास्थ्य, शिक्षामा देखिएका विकृति अन्त्य गर्ने, महँगी नियन्त्रण गर्ने, किसान, श्रमिक र मजदुरका समस्याहरुलाई समाधान गर्ने, सरकारका महत्वपूर्ण निकायमा हाम्रा होइन राम्रा मान्छे राख्ने, विकास निर्माणका कार्यलाई द्रुत गतिमा अघि बढाउने, भ्रष्टाचारीमाथि कठोर बन्नेलगायतका काममा सरकारले गम्भीर छलफल र बहस गर्नुपथ्र्यो ।

तर प्रधानमन्त्रीले आयोजना गरेको सर्वदलीय बैठकमा यस्ता विषयले प्रवेश नै पाएनन् । गणतन्त्रलाई जोगाउन प्रधानमन्त्रीले सबै गणतन्त्रवादी दलहरुलाई बोलाएर छलफल गर्नुभयो । यो राम्रो हो । हत्या, हिंसा र आगजनी गर्नेलाई कानुनी दायरामा ल्याउने कुरा पनि गर्नुभयो । यो पनि राम्रो हो । तर सर्वदलीय बैठकमा गणतन्त्रवादी सबै दलहरुले किन तीनकुने घटना घट्न पुग्यो ? किन त्यत्रा मान्छेहरु सहभागी भए ? भन्ने बारेमा गहन छलफल र विश्लेषण गर्न उपयुक्त नै ठानेनन् ।

पछिल्ला दिनमा गणतन्त्र सञ्चालनका शासकहरु लुटेराजस्तै बन्न खोजेको आरोप धेरै सर्वसाधारणले लगाउने गरेका छन् । गणतन्त्रवादी दलका नेता, कार्यकर्ता तथा आसेपासेबाहेक अन्य सबै सर्वसाधारण प्रमुख दल र तिनका नेताहरुप्रति खासै सकारात्मक छैनन् । तर गणतन्त्रवादी दलका प्रमुख नेताहरुले धेरै सर्वसाधारण जनता किन हामीप्रति सकारात्मक छैनन् त ? भन्ने विषयलाई कहिल्यै पनि गम्भीरतापूर्वक लिन सकेका छैनन् ।

त्यसैले गणतन्त्र कहीँबाट खतरा छ भने त्यो गणतन्त्रवादी दलकै केही ठूला भनाउँदा टाउके नेताहरुबाटै छ । राजावादीहरु तथा पूर्वराजाबाट गणतन्त्र खतरामा प¥यो भनेर स्याल हुइयाँ मच्चाउनुको कुनै अर्थ छैन । चैत्र १५ को तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको जतिसुकै विरोध भए पनि सो कार्यक्रममा सहभागी हुन आएका सबै मानिस नेपाली जनता नै हुन् । जे–जस्ता हर्कत भए पनि त्यस दिन गणतन्त्रमाथि आगो झोसिएको चाहिँ सत्य हो ।

अब त्यसरी झोसिएको आगो निभाउने हो भने गणतन्त्रवादीहरु आमूलरुपमा रुपान्तरण हुनै पर्छ । आगो निभाउने वा अझै डढेलोझैँ फैलाएर गणतन्त्रलाई भष्म पार्ने ? बल गणतन्त्रवादीकै कोर्टमा छ । साँच्चै नै जनता आजित छन् तर घुम्ने मेचमाथि बसेका शासकहरुमा जनता आजित छन् भन्ने चेत घुस्नै सकेको छैन । विश्वमै उन्नत मानिएको भनिएको संघीय लोकतान्त्रिक गणतन्त्र छोटो समयमा नै बदनाम हुन पुगेको वास्तविकतालाई नकार्न सकिँदैन । गणतन्त्र स्थापना भएपछि बनेका सरकार र प्रधानमन्त्रीहरुले जनचाहनालाई लत्याउँदै, भ्रष्टाचारमा लिप्त हुँदै शासन चलाइरहेको आरोप आमजनताबाट खेपिरहेका छन् ।

हुन पनि उनीहरुका कार्यकर्ताबाहेक सामान्य जनता नेताहरुबाट खासै खुशी देखिँदैनन् । यद्यपि गणतन्त्रको विकल्प राजतन्त्र कदापि पनि हुन सक्दैन । गणतन्त्रको विकल्प भनेको उन्नत र सुशासनयुक्त गणतन्त्र नै हो । नेपाली जनताले हाम्रा ठालु शासकहरुलाई गत २०७९ सालमा भएको स्थानीय तहको निर्वाचन र त्यसपछि भएको प्रतिनिधिसभाको निर्वाचनमा समेत केही सामान्य धक्का दिएका थिए । मुलुकको राजधानी रहेको काठमाडौं महानगरपालिकाको मेयरमा प्रमुख दलका उम्मेदवारलाई हराएर स्वतन्त्र उम्मेदवारलाई जिताउनु प्रमुख दलप्रति शहरिया बासिन्दाको विद्रोह र धक्का थियो ।

त्यसै गरी धरानमा हर्क, धनगढीमा गोपीहरुको जीत पनि त्यस्तै विद्रोह थियो । तर हाम्रा प्रमुख गणतन्त्रवादी दलहरुले केही प्रमुख शहरमा किन नागरिकको तर्फबाट विद्रोह भयो भन्ने विषयलाई गम्भीरतापूर्वक लिएनन् । वास्तवमा स्थानीय तहको निर्वाचमा बालेन, हर्क र गोपीहरुको विजय गणतन्त्रवादी दलहरुका लागि पहिलो धक्का थियो । स्थानीय तहको निर्वाचन भएको केही समयपछिको प्रतिनिधिसभा निर्वाचनमा जनताले अर्को विद्रोह गरी रवि लामिछाने र उनको दल रास्वपालाई एकाएक चौथो दल बनाइदिए ।

निर्वाचनमा रविको उदयलाई गणतन्त्र र यसका नेताहरुमाथिको दोस्रो धक्काको रुपमा लिनुपर्ने हुन्छ । गणतन्त्रवादीहरुले तेस्रो धक्काचाहिँ चैत्र १५ को तीनकुने प्रदर्शन र आन्दोलनबाट खाएका छन् । कुनै पनि सचेत नागरिकले राजावादीको सो कार्यक्रममा भएका हिंसात्मक घटना, लुटपाट र आगजनीलाई राम्रो मान्न सक्दैनन् । तर एउटा कुराचाहिँ स्पष्टसँग स्वीकार गर्नै पर्छ कि तीनकुनेमा लागेको आगो त त्यसै दिन निभ्यो तर गणतन्त्रमाथि आगो झोस्ने काम पनि त्यही दिनबाट शुरु भयो भन्दा अत्युक्ति नहोला ।

नेपाली जनताले गणतन्त्रवादी दलहरुलाई स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभाको निर्वाचनमार्फत नै केही ठाउँमा विद्रोह गरी सच्चिने मौका दिएका हुन् । तर दल र हाम्रा शासकहरु सच्चिएनन् । फलस्वरुप पूर्वराजा र राजावादीहरु सल्बलाए । यसरी राजाको कार्यक्रममा हजारौं मानिस सहभागी भएर राजसंस्था चाहियो भन्ने वातावरण कसले सिर्जना ग¥यो ? तत्कालीन राजाले नारायणहिटी छोडेर नागार्जुन जाँदा उनको पक्षमा बोलिदिने व्यक्तिहरु खासै थिएनन् । त्यसपछि राजा विभिन्न कामले जिल्लाहरुमा भ्रमण गर्दा उहाँसँग मुस्किलले १०–१५ जना मानिसहरु पनि हुँदैनथे ।

तर गणतन्त्रका शासकहरुमा देखिएको भ्रष्टाचारी, स्वार्थी र लोभी प्रवृत्तिका कारण निराश भएका कैयौँ नागरिकले विकल्पका रुपमा फेरि राजा चाहिन्छ भन्न थालेका छन् । यसलाई नजरअन्दाज गर्न मिल्दैन । राजावादी र पूर्वराजाले जनतामा देखिएको निराशालाई आफ्नो पक्षमा पार्न खोज्नु स्वाभाविक पनि हो । तर गणतन्त्रवादीहरुले शासन सञ्चालन गर्दा विधि, पद्धति अपनाएर व्यवस्थित प्रणाली स्थापना गर्न सकेको भए, सुशासन दिन सकेको भए, विकास र समृद्धिका साथै जनताका गाँस, बास, कपास, स्वास्थ्य, शिक्षाको अवस्थामा सुधार ल्याउन सकेको भए आज राजावादीहरु यसरी सलबलाउने अवस्था नै आउँदैनथ्यो ।

उनीहरुले हिम्मत नै गर्दैनथे । यही मौका छोपी राजावादीहरुले चैत्र १५ मा काठमाडौंको मु्टुको रुपमा रहेको तीनकुने क्षेत्रमा नै गणतन्त्रमाथि आगो झोस्ने काम गरेका हुन् । जनताले पटक–पटक सच्चिने मौका दिँदा पनि समयमा नै नसच्चिँदा गणतन्त्रवादीहरुले बारम्बार धक्का खाइरहेका छन् ।

अझै केही बिग्रिएको छैन । गणतन्त्रका सञ्चालकहरु बिचौलिया र माफियाबाट मुक्त हुन सक्नुपर्छ । हरेक नीति, कार्यक्रम र योजना बनाउँदा जनतालाई केन्द्रविन्दुमा राखेर बनाउनुपर्छ, नकि बिचौलिया र माफियाको हित हेरेर । यदि शासकहरुले यस्तो चरित्रको विकास गर्न सकेनन् र भ्रष्ट चरित्रलाई यथावत् राख्दै जनताको भावनालाई कुल्चने प्रयास गरे भने तीनकुनेमा लागेको गणतन्त्रमाथिको आगोले डढेलोको रुप लिन सक्ने र त्यसले गणतन्त्रका सञ्चालकहरुलाई मात्रै नभएर गणतन्त्रलाई नै भष्म पार्न सक्ने जोखिम नआउला भन्न सकिँदैन । आगे शासकहरुकै मर्जी ।