इलाम।
मानिसहरुमा माया, ममता, स्नेह जस्ता कुरा हराइसकेको हो ? खानका लागि अब मानिसले मानवता समेत भुल्दै गएको हो ? सोचनिय बन्दै गएको छ । मासुको लागि मान्छेहरु कतिसम्म मरिहत्ते गर्छन् र कुन हदसम्म अपराध गर्न सक्छन् भन्ने कुरा इलाममा भएको एक घटनाले छर्लङ्ग पारिदिएको छ ।
सुन्दा अनौठौ अनि पत्याउनै नसक्ने घटना घटेको छ, पूर्वी इलामको सूर्योदय नगरपालिकामा । गत शुक्रवार अर्थात् चैत्र ८ गते राती सूर्योदय नगरपालिका ६ कन्यामका किसान राम राईको गोठमा बाँधिएको गोरुको एकापटिटको फिला काटेर मासु निकालेर चोरी भएको छ । जिउँदो गोरुको फिलाको मासु काटेर लगिएको घटनाले धेरैलाई चिन्तित बनाएको छ । यो घटना पहिलोपटक भने होइन । यसभन्दा अघि पनि उनकै गोठमा रहेको गोरुको फिला काटेर मासु चोरी भएको थियो । फिला काटिएको उक्त गोरु मरेको छ । यही गोरुको फिला काटेर मासु लगिएको यो दोस्रो पटक हो ।
औषधिउपचार गरेर मासु काटेको भाग पुरिन लागेको अवस्थामा पुन त्यहि खुटटाबाट फिला काटेर मासु लगेको पिडित किसान राईले दुखेसो गरे । करिब पाँच किलो हाराहारी मासु काटेर लगेको बताइएको छ । यस भिडियो हेर्दा एकदमै क्रुरतापूर्वक जिउँदै गोरुको फिला काटिएको दृश्यले सबैलाई दुखित तुल्याउँछ ।
घरबाट केही टाढा गोठ रहेको र बिहान घाँस हाल्न गोठमा जाँदा आफूले थाहा पाइसक्दा गोरु समेत मरिसकेको उनले जानकारी गराए । यस्तै घटनाका कारण उनको अर्को गोरु यसअघि नै मरेको थियो । अर्को गोरु समेत मरेपछि राईको गोठै रित्तिएको छ । अर्काको जग्गा भाडामा लिएर बसेका किसान राई बनिबुतो गरेर परिवार पाल्दै आएका छन् ।
गाउँमा यस किसिमको घटना घट्न थालेपछि स्थानीयले प्रहरीले जानकारी गराएका छन् । जिल्ला प्रहरी कार्यालय इलामका डिएस्पि मानबहादुर राईका अनुसार घटना घटाउनेको बारेमा केही सुराक मिल्न नसकेपनि अनुसन्धान प्रकृया अघि बढाइसकेको बताए ।
प्रतिक्रिया