काठमाडौँ।
बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई जना बालकको घट्नास्थलमै मृत्यु भएको छ।आइतबार अपरान्ह स्थानीय नौरीगौढी ईंगलिश मेडियम स्कुलबाट पढेर घर फर्कंदै गरेका दुईजना बालकलाई भे १ ख १४१७ नम्बरको ट्यांकरले ठक्कर दिंँदा दुबैजना बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
मृत्यु हुनेमा नौ वर्षीय शिब कुमार गोडिया र आठ वर्षीय विशाल गोडिया रहेका छन्।
घटनापछि बेतहनी क्षेत्र तनावग्रस्त बनेको छ। आक्रोशित भएका स्थानीयले ठक्कर दिने ट्यांकरलाई आगो लगाएर ध्वस्त पारिदिएका छन्।
प्रहरीका अनुसार सो घट्नाको विरोधमा बेतहनी चोकमा चक्काजाम गरेर स्थानीयले प्रदर्शन गरिरहेका छन् भने ट्यांकर चालकलाई बेतहनी प्रहरी चौकीमा राखिएकोले बेतहनी चौकी आगजनी गरेका छन्। आगजनीबाट प्रहरीचौकीको केही भाग जलेको छ।
बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको नेतृत्वमा त्यहाँ पुगेको प्रहरी टोलीमाथि पनि स्थानीयले ढुंगा प्रहार गरेकका थिए। आक्रोशित स्थानीयलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र केही राउन्ड हवाई फायरसमेत गरेको छ। केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा चार जना प्रहरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामामा मृत्यु भएका दुवै बालकको शव अझै घट्नास्थलमै रहेको छ भने प्रदर्शन जारी छ।
प्रतिक्रिया