नयाँ दिल्ली, (एजेन्सी)
डिफेन्डिङ च्याम्पियन कोलकाता नाईट राइडर्स (केकेआर) इन्डियन प्रिमियर लिग २०२५ को पहिलो खेलमै स्तब्ध हुनुपर्यो । शनिबार भएको उदघाटन खेलमा केकेआर रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) सँग ७ विकेटले हारेको हो ।
टस हारेर ब्याटिङ गरेको केकेआरले १ सय ७५ रनको विजयी लक्ष्य दिएको थियो । यो लक्ष्य ठूलै देखिए पनि केकेआरले आफ्नै घरेलु मैदान इडेन गार्डेनमा रक्षा गर्न सकेन । सो लक्ष्यलाई आरसीबीले ३ विकेटको नोक्सानीमा २२ बल बाँकी राखी पार गर्यो ।
आरसीबीको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक ५९ रन जोडे । उनले ३६ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि ओपनर फिल साल्टसँग ९५ रनको साझेदारी गरेका थिए ।
साल्ट ३१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ५६ रन जोड्दै आउट भए । कप्तान रजत पाटीदार १६ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३४ रनमा आउट भए ।
देवदत्त पटिकल १० रनमा आउट हुँदा लियाम लिभिङ्गस्टोन ५ बलमा १५ रन बनाएर नटआउट रहे । कोलकाताका लागि बैभव अरोरा, वरुण चक्रवर्ती र सुनिल नारायणको नाममा समान १ विकेट रह्यो ।
त्यसअघि केकेआरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ को स्कोर बनाएको थियो । टोलीका लागि कप्तान अजिन्क्या राहाणेले सर्वाधिक ५६ रन जोडे । उनले ३१ बलको सामना गर्दै ६ चौका र ४ छक्का प्रहार गरेका थिए । दोस्रो विकेटका लागि सुनिल नारायणसँग राहाणेले १ सय ३ रनको शतकीय साझेदारी गरेका थिए । सुनिलले २६ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४४ रन जोडेका थिए । आरसीबीका लागि कु्रनाण पाण्ड्याले ३, जोस हेजलवुडले २, यश दयाल, रसिक सलाम र सुयस शर्माले समान १ विकेट लिए ।
प्रतिक्रिया