ट्रमामा टाउकोको सचेतना, किष्टमा विश्व मुख स्वास्थ्यको सचेतना कार्यक्रम 


काठमाडौँ। 

ट्रमाका बिरामीको चाप बढीरहेको बेला राष्ट्रिय ट्रमा सेन्टरले टाउकोको चोटपटकको सचेतना दिवस–२०२५ को अवसरमा बिहीबार काठमाडौँमा प्रभातफेरी कार्यक्रमको आयोजना गरि जनचेतना जगाउने कार्यक्रम गर्‍यो । 

राष्ट्रिय ट्रमा सेन्टरको आयोजनामा भएको प्रभातफेरीमा चिकित्सक नर्स, नागरिक समाज, पत्रकार, समाजसेवी लगायतका स्वास्थ्यकर्मी, ट्राफिक प्रहरी, तथा सर्वसाधारणको सहभागिता थियो ।

प्रभातफेरी ट्रमा सेन्टरबाट सुरु भएर रत्नपार्क शान्तिबाटिका, पुरानो बसपार्क, शहीदगेट, सुन्धारा हुँदै पुनः सेन्टर पुगेर टुङ्गिएको थियो ।

सेन्टरले प्रभातफेरी पछि सेन्टरमा औपचारिक कार्यक्रम पनि गरेको थियो । कार्यक्रममा टाउकोमा लाग्ने चोटकपटकलाई न्यूनीकरण गर्न सकिने भन्दै व्यक्ति सचेत हुनुपर्ने र राज्यले पनि विशेष सचेतना एवम् नीतिगत व्यवस्था गर्नुपर्ने सहभागीहरुले बताएका थिए । टाउकोको चोटपटकको सचेतना दिवस हरेक वर्ष मार्च २० मा मनाउने गरिन्छ ।

यसपटक नेपालमा ‘टाउकोको चोटपटक रोकौँ, प्रभाव बुझौँ, जिम्मेवारी निभाऔँ’ भन्ने मूल नाराकासाथ दिवस मनाइएको थियो ।

त्यसैगरी किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिहीबारै विश्व मुख स्वास्थ्य दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो । नगरपरिक्रममा पछि र्‍याली अस्पतालमा पुगी सभामा परिणत भएको थियो । 

सभामा किस्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा.बलमान सिंह कार्कीले स्वागत गर्दै मुखको सुरक्षाका विषयमा प्रकाश पारेका थिए । त्यसैगरी विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा.ग्याम्पो दोर्जे, प्रा.डा.सुरज बज्राचार्य लगायतले मुख स्वास्थ्यको विषयमा जोड दिएका थिए ।