काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ‘संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१’ जारी गर्दै बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषको न्यूनतम १० प्रतिशत रकम प्रत्येक प्रदेशमा खर्च गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।
मार्गदर्शनअनुसार कोषको ५ प्रतिशतभन्दा बढी रकम एउटै कार्यमा खर्च गर्न पाइने छैन । तर, विशेष सार्वजनिक महत्वका कार्यका लागि राष्ट्र बैंकको पूर्वस्वीकृतिमा थप खर्च गर्न भने सकिनेछ। साथै ब्रान्ड प्रवद्र्धन, बजार विस्तार, राजनैतिक कार्यक्रम तथा विज्ञापनमा गरिएको खर्चलाई सीएसआर मानिने छैन ।
सीएसआर खर्च सरकारी, सामुदायिक वा गैर–नाफामूलक संस्थामार्फत गर्नुपर्नेछ। नगद, पुरस्कार वा दानस्वरूप खर्च गर्न नपाइनेछ । त्यस्तै अन्य कोष वा पूँजीकोषमा पनि रकम स्थानान्तरण गर्न निषेध गरिएको छ।
पहिले सीएसआर कोषमा खुद मुनाफाको कम्तीमा १ प्रतिशत जम्मा गर्नुपर्ने व्यवस्था थियो, जुन संशोधन गरी अब नेपाल राष्ट्र बैंकले तोकेको प्रतिशतअनुसार कोषमा रकम छुट्याउनुपर्ने व्यवस्था गरिएको छ।
सञ्चालक समितिको निर्णयअनुसार तोकिएको प्रतिशतभन्दा बढी रकम जम्मा गर्न र खर्च गर्न सकिनेछ। प्रत्येक आर्थिक वर्षमा कोषमा जम्मा रकमको कम्तीमा ६० प्रतिशत सोही वर्षभित्र खर्च गरिनुपर्नेछ।











प्रतिक्रिया