भक्तपुर ।
नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशनबाट पुन निर्वाचित पार्टी अध्यक्ष नारायणमान बिजुक्छे(रोहित)ले पार्टीका नेता कार्यकताले पार्टी सम्हाल्ने जिम्मेवारी पुनः आफूलाई दिएको बताउनु भएको छ ।
महाधिवेशन सम्पन्न पछि आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष बिजुक्छेले जहिलेसम्म सकिन्छ त्यही बेलासम्म निःस्वार्थ भावनाले देश र जनताप्रति समर्पित भएर देश र जनताको सेवा गर्ने बताउनुभयो । साथीहरुले नयाँ नयाँ साथीहरुलाई अरु ठाउँमा जिम्मेवारी दिने र तपाई पार्टी सम्हाल्ने भनेर फेरी पार्टी सम्हाल्ने जिम्मेवारी मलाई दिनुभयो,उहाँले भन्नुभयो ।
उहाँले पहिला भन्दा अझै गम्भिर र थप जिम्मेवारी पूर्वक अगाडि बढाउने सपथ खाएको बताउदै पहिला भन्दा अझ सक्रिय भएर देश र जनताको निस्वार्थ रुपले सेवा गर्ने बताउनुभयो । उहाँले जनतलाई राजनीतिक रुपले सचेत पार्ने र देशको सेवामा पार्टीलाई भन्दा देश र जनतको हितका लागि काम गर्ने बताउनुभयो ।
पार्टीका नेताहरु गलत भए देश बर्वाद हुन्छ भन्दै उहाँले आफ्नो देशका लागि काम नगरी नहुने बताउनुभयो । विदेशीलाई मात्रै दोष दिएर के गर्नु आफै खराब भएपछि भन्दै उहाँले योग्ता अनुसारको काम र काम अनुसारको ज्याला दिने गरि देशमा समाजवाद स्थापना गर्नुनै लक्ष्य भएको बताउनुभयो ।
नेपकिपाले बिजुक्छेको अध्यक्षतामा ३३ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । पार्टी स्थापनाकालदेखि अध्यक्ष हुदै आउनु भएका ८५ वर्षीय बिजुक्छेलाई आठौ महाधिवेशनले पुनः अध्यक्षमा निर्विरोध चयन गरेको हो । महाधिवेशनले पार्टीको केन्द्रीय सचिवमा प्रेम सुवाल र कोषाध्यक्ष मोहनप्रसाद प्रजापतिहित केन्द्रीय सदस्यहरुलाई सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै महाधिवेशनले सात प्रदेशमा सात जना संयोजकहरुसहित प्रदेश कार्यसमति समेत सर्वसम्मत चयन गरेको छ ।महाधिवेशनमा ५० जिल्लाहरुबाट करिव तीन सय ५० प्रतिनिधि एवं पर्यवेक्षकहरु सहभागी भएको केन्द्रीय सदस्य सरोजराज गोसाईले जानकारी दिनुभयो । महाधिवेशनले १२ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
पार्टीको पहिलो महाधिवेशन २०४७ पौषमा भैरहवामा सम्पन्न भएको थियो । बिजुक्छेको नेतृत्वमा २०३१ साल माघ १० गते नेमकिपाको स्थापना भएको थियो । भक्तपुरमा जन्मिएका ८५ बर्षका बिजुक्छे नेमकिपा स्थापना भएदेखि नै अध्यक्ष हुनुहुन्छ ।
नेमकिपाले स्थानीय सत्तामा निरन्तर निर्वाचनबाट एकलौटी जीत हासिल गरेपनि संघ र प्रदेशमा भने सँधै प्रतिपक्षको भुमिका निर्वाह गर्दै आएको छ ।
प्रतिक्रिया