लमजुङ।
गुरुङ समुदायको मौलिक कला, संस्कृति र परम्परागत सीपसँग जोडिएको राडीबख्खु बुन्ने परम्परालाई निरन्तरता दिन लमजुङको क्व्होलासोथार गाउँपालिका–४, भुजुङका बुद्धिप्रसाद गुरुङले १३ वटा चर्खा निर्माण गरी बिक्री गर्नुभएको छ । भेडाको ऊनबाट धागो काट्न प्रयोग गरिने चर्खा निर्माण गरेर उहाँले परम्परागत सीपको संरक्षणसँगै स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत योगदान पु¥याउनुभएको छ ।
नेपाल आदिवासी जनजाति महासंघले बुद्धिप्रसादले निर्माण गर्नुभएका चर्खा प्रतिगोटा पाँच हजार रुपैयाँका दरले खरिद गरेको हो । १३ वटा चर्खाको कुल मूल्य ६५ हजार रुपैयाँ रहेको छ । महासंघले ती चर्खा भुजुङमा सञ्चालित राडीबख्खु बुन्ने तालिममा सहभागी १३ जनालाई प्रदान गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा गत भदौ १० गतेदेखि असोज १३ गतेसम्म भुजुङमा राडीबख्खु बुन्ने तालिम सञ्चालन गरिएको थियो । तालिममा सहभागी प्रत्येकलाई एक–एकवटा चर्खा उपलब्ध गराइएको क्व्होलासोथार गाउँपालिकाकी पालिका सदस्य तथा स्थानीय हेमन्त गुरुङले जानकारी दिनुभयो ।
गुरुङ समुदायको पहिचानसँग जोडिएको राडीबख्खु केवल ऊनबाट तयार गरिने परम्परागत कपडा मात्र होइन, यो समुदायको मौलिक सीप, श्रम, कला र सांस्कृतिक विरासत पनि हो । भेडाको ऊनबाट धागो तयार पार्ने, त्यसलाई प्रयोग गरी राडीबख्खु बुन्ने र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यो सीप गुरुङ समुदायको परम्परागत जीवनशैलीसँग अभिन्न रुपमा जोडिएको छ ।
राडीबख्खु बुन्ने प्रक्रियामा चर्खाको महत्वपूर्ण भूमिका रहन्छ । भेडाको ऊनलाई प्रशोधन गरी धागो काट्न चर्खा प्रयोग गरिन्छ । त्यसैले राडीबख्खु बुन्ने सीप सिकेका व्यक्तिका लागि चर्खा उपलब्ध हुनु परम्परागत सीपलाई व्यवहारमा उतार्ने महत्वपूर्ण आधार हो ।
स्थानीय बुद्धिप्रसाद गुरुङले गाउँमै चर्खा निर्माण गर्नु र त्यसको उपयोग समुदायका सदस्यले नै गर्न पाउनुले परम्परागत सीपको संरक्षणमा स्थानीय सहभागिताको महत्व समेत उजागर गरेको छ। स्थानीय स्रोतसाधन, सीप र अनुभवको उपयोग गरेर तयार गरिएका यस्ता सामग्रीले मौलिक हस्तकलालाई निरन्तरता दिन सहयोग पु¥याउँछन् ।
तालिमपछि सहभागीले चर्खा प्राप्त गरेसँगै सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्दै राडीबख्खु बुन्ने कामलाई निरन्तरता दिन सक्ने अपेक्षा गरिएको छ । यसबाट गुरुङ समुदायको मौलिक कला तथा संस्कृतिको संरक्षण हुनुका साथै परम्परागत सीपलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।
आधुनिक प्रविधि र बजारमा उपलब्ध विभिन्न सामग्रीको प्रयोग बढिरहेका बेला गुरुङ समुदायको पहिचान बोकेको राडीबख्खु बुन्ने परम्परालाई जीवित राख्न स्थानीयस्तरबाट भइरहेका यस्ता प्रयास महत्वपूर्ण छन् । बुद्धिप्रसाद गुरुङको चर्खा निर्माणको सीप र तालिममार्फत सीप सिकेका स्थानीयलाई चर्खा उपलब्ध गराउने पहलले परम्परागत कला, स्थानीय उत्पादन र सांस्कृतिक पहिचानलाई एकसाथ जोडेको छ ।
गुरुङ समुदायको मौलिक पहिचानका रूपमा रहेको राडीबख्खु बुन्ने परम्परालाई संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्न सके यसले सांस्कृतिक सम्पदाको जगेर्ना मात्र होइन, स्थानीय सीपमा आधारित उत्पादनलाई निरन्तरता दिनसमेत महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।











प्रतिक्रिया