वनवासीलाई ‘पोतपवित्रा–प्रवीण राष्ट्रिय प्रतिभा पुरस्कार’

0
Shares

स्याङ्जा।

नेपाली भाषा, साहित्य, वाङ्मय तथा लोकसंस्कृतिको क्षेत्रमा लामो समयदेखि क्रियाशील अग्रज स्रष्टा देवीप्रसाद वनवासीलाई ‘पोतपवित्रा–प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार–२०८३’ प्रदान गरिएको छ । स्याङ्जाको करादीखोलास्थित कमला–ज्ञानप्रसाद उपाध्यायको घरपरिवारले आफ्ना स्वर्गीय बुबा पोतप्रसाद उपाध्याय, आमा पवित्रादेवी उपाध्याय र छोरा चेतनारायण उपाध्याय ‘प्रवीण’को स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारको पहिलो संस्करण वनवासीलाई प्रदान गरिएको हो । करादीखोलास्थित उपाध्याय निवासमा आयोजित अनौपचारिक समारोहमा वनवासीलाई पुरस्कार समर्पण गरिएको हो । पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । नेपाली साहित्यको क्षेत्रमा निरन्तर क्रियाशील रही भाषा, वाङ्मय तथा लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याउनुभएका वनवासीलाई उहाँको साहित्यिक योगदानको कदरस्वरुप पुरस्कार प्रदान गरिएको परिवारले जनाएको छ ।

स्याङ्जाको वालिङ–त्रियासी, शङ्खरेडाँडामा विसं १९९७ कात्तिक २७ गते जन्मिनुभएका वनवासीले विसं २०२० जेठमा ‘माछापुच्छ्रेको काख’ शीर्षकको कृति प्रकाशित गर्दै आफ्नो साहित्यिक यात्रा प्रारम्भ गर्नुभएको थियो । झ्याउरे लयमा लेखिएका कविताहरु समेटिएको उक्त कृति उहाँको पहिलो साहित्यिक कृतिका रुपमा रहेको छ । त्यसयता उहाँ नेपाली साहित्य तथा लोकसंस्कृतिको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभइको छ । पुरस्कार स्थापनाको उद्देश्य राष्ट्रियस्तरमा सिर्जनशील रहेका अग्रज तथा युवा स्रष्टालाई सम्मान गर्दै नेपाली भाषा, साहित्य, वाङ्मय र लोकसंस्कृतिको क्षेत्रमा योगदान पु¥याउने प्रतिभालाई प्रोत्साहन गर्नु रहेको पुरस्कार कोषका संस्थापक रामचन्द्र उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०८१ मा कमला–ज्ञानप्रसाद उपाध्यायको परिवारको तर्फबाट ‘पोतपवित्रा–प्रवीण स्मृति पुरस्कार कोष’ स्थापना गरिएको थियो ।

कोषले विसं २०८३ देखि हरेक वर्ष विशेष साहित्यिक समारोह आयोजना गरी राष्ट्रियस्तरका एकजना सिर्जनशील अग्रज वा युवा स्रष्टालाई आलोपालो गरी पुरस्कृत तथा सम्मान गर्ने उद्देश्य राखेको छ । यसबाट साहित्य सिर्जनामा निरन्तर लागिरहेका स्रष्टाको योगदानको सम्मानसँगै नयाँ पुस्तालाई नेपाली भाषा, साहित्य र लोकसंस्कृतिप्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ । पुरस्कारको राशि पनि प्रत्येक वर्ष क्रमशः वृद्धि गरिँदै लैजाने व्यवस्था गरिएको छ । पहिलो वर्ष ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएकोमा दोस्रो वर्ष १२ हजार २ सय १२ रुपैयाँ र तेस्रो वर्ष १३ हजार ३ सय १३ रुपैयाँ प्रदान गरिनेछ । त्यसपछि पनि सोहीअनुसार पुरस्कार राशि वृद्धि गर्दै लैजाने योजना रहेको संस्थापक उपाध्यायले बताउनुभयो । स्वर्गीय पोतप्रसाद उपाध्याय, पवित्रादेवी उपाध्याय र स्वर्गीय प्रवीण ज्ञवालीको स्मृतिमा स्थापना गरिएको पुरस्कारले साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पु¥याउने स्रष्टालाई सम्मान गर्ने पारिवारिक परम्परालाई संस्थागत गर्ने प्रयास गरेको छ । पहिलो संस्करणमै अग्रज स्रष्टा देवीप्रसाद वनवासीलाई सम्मान गरिएसँगै पुरस्कारले आगामी दिनमा पनि नेपाली साहित्य र लोकसंस्कृतिको क्षेत्रमा योगदान पु¥याउने प्रतिभालाई प्रोत्साहित गर्ने विश्वास लिइएको छ ।