नवलपरासी।
विगत ४ दिनदेखि अविरल वर्षाका कारण जिल्लाको जनजीवन आइतबार पनि प्रभावित बनेको छ । भारी वर्षा सहितको हावाहुरीले पाकेकाे धान लडाएको छ । कतिपय पहाडी भित्री सडक अवरुद्ध बनेका छन् ।
नारायणी नदीमा पानीकाे बहाव खतराकाे तह भन्दा माथि रहेकोले पुलकाे अवस्थालाई ध्यानमा राख्दै सवारी आउजाउ रोकिएको हाे ।
जिप्रका नवलपरासी पूर्वका अनुसार अपराह्न १ : १५ देखि सवारी सञ्चालन रोकिएकोमा १:४५ बाट साना र हलुका सवारीलाई पुल माथि बाट आउजाउ गर्न दिइएकाे छ ।
वर्षादकै कारण पूर्वपश्चिम महेन्द्र राजमार्गकाे दाउन्ने सडक खण्ड १ तर्फी संचालनमा रहेको छ भने कालीगण्डकी करिडाेरकाे घुमारी क्षेत्रमा खसेकाे पहिराे हटाउने प्रयास भई रहेको जिल्ला ट्राफिक कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।
जिल्लाकै उत्तरी पहाडी क्षेत्र डेडगाउँ स्थित कालीगण्डकी नदी माथिकाे पक्की पुलकाे पहुँचमार्ग शनिबार दिउसाे बाढीले बगाउँदा यातायात ठप्प भएको छ ।
तनहुँकाे श्रृङ्गपथ हुदै पाेखरा जाेड्ने उक्त पुलकाे नवलपरासी डेडगाउँ तर्फकाे मुखकाे बाढीले कटान गरी लगे पछि आउजाउ ठप्प भएको प्रहरीले जनाएको छ ।
यसै गरी नारायणी नदीमा जल सतह बढेसंगै जिल्लाको गैडाकाेट २ बाेटे टाेल र कावासाेती १७ अमलटारी र मध्यविन्दु २ भुताहा तथा विनयी त्रिवेणी १ वघुवनमा बाढी पसेकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार नदीको बाढी बस्तीमा पसे पछि गैडाकाेट २ का १८ घरबाट १ सय १४ जनालाई आफन्त कहाँ व्यवस्थापन गराई अन्य मालसामान सुरक्षित स्थानान्तरण गरिएको छ ।
यस्तै भुताहा गाउँमा नारायणीकाे भेल पस्दा यहाँका १७ घरधुरीका ६१ परिवारलाई प्रहरीले स्थानीय लिटिल फ्लावर स्कुल तथा आफन्तका घरमा लगेर सुरक्षित गरेकाे छ ।
त्यसैगरी अमलटारी राेयल ग्यालेक्सी हाेटल र नाना जंगल रिसाेर्टमा नदीको भेल पसेपछि नेपाल प्रहरी,सशस्त्र र नेपाली सेनाकाे टाेलीले त्यहाँ रहेका मानिसहरूकाे उद्धार तथा बस्तुभाउलाई सुरक्षित गरेकाे जनाइएको छ ।
प्रहरीले नारायणी नदीको माथिल्लो जलाधार क्षेत्र म्याग्दी,पर्वत,कास्की,लमजुङ ,गाेर्खा,धादिङ लगायतका स्थानमा निरन्तर वर्षा भई रहँदा नदीको सतह झनझन बढ्ने खतरा रहेकोले सबैलाई सुरक्षित र सतर्क रहन माइकिङ गर्ने काम पनि गरी रहेको छ ।
पछिल्लो जानकारी अनुसार नेपाल भारत सिमा क्षेत्र त्रिवेणी स्थित गण्डक बाधमा जल सतह बढ्दो क्रममा रहेको पाईएकाे छ ।
बाढीकै कारण गण्डकबाधका सबै ढाेका तथा साईफन खुला गरिएको र बाढी खतराकाे तह माथि रहेकोले चेतावनी स्वरूप साईरन बजाईएकाे छ ।
झण्डै ८ लाख ५० हजार क्युसेक जल प्रवाह थेग्ने गरी करिव ६५ वर्ष अघि बनेको गण्डक बाध पुरानाे हुदै गएकाे तथा बालुवाकाे सतह बढ्दै गएकाेले उच्च बाढी थेग्न बाधलाई गाह्रो पर्ने अनुमान विज्ञहरूकाे रहेको छ ।
नारायणी नदीमा बाढीकाे बहाव बढेर खतराको तह काटेसंगै देवघाटमा आइतबार अपराह्न १:०० बजे पानीकाे सतह ११.८१ विन्दु पुगेकाे र गण्डक ब्यारेजमा ४ लाख ४० हजार ७ सय ५० क्युसेक बहाव मापन गरिएको छ ।
नदी जलाधार मानिने हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर वर्षा भई रहँदा तटीय क्षेत्रमा देखिएको बढ्दो जाेखिमले स्थानीयलाई त्रसित पार्दै आएकाेले सतर्कता अपनाउनु पर्ने त्रिवेणीका विश्वमर्दन शाहले बताए ।
जिप्रका नवलपरासी पश्चिमका अनुसार नदीमा बहाव बढेसंगै सुस्ता गाउँ पालिका ५ सुस्ताको थारूटाेलमा नारायणीकाे भेल पसेर डुवान भए पछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
सुस्तामा तैनाथ सशस्त्र सहितको संयुक्त सुरक्षा बलले मानिस,पशु चौपाया तथा धनमाललाई सुरक्षित गर्ने कार्यमा लागि रहेको बताइएको छ ।











प्रतिक्रिया