काठमाडौं।
नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि पर्यटन तथा लजिस्टिक व्यवसायी दुर्गा प्रसाद सुवेदीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । व्यवसायी नरेश लाल श्रेष्ठको प्यानलबाट उनले उम्मेदवारी दिएका हुन् ।कुरियर सेवा (लजिस्टिक)मा प्रवेश गरेका सुवेदीले यो क्षेत्रमा निरन्तर २१ वर्षभन्दा बढी समयदेखि काम गर्दै आएका छन् । उनी नेपाल कुरियर सेवा संघका निवर्तमान अध्यक्ष समेत हुन् ।
‘मेरो उम्मेदवारी पदको लागि मात्र होइन । नीतिगत सुधार, व्यावसायिक सम्मान र हाम्रो उद्योग वाणिज्य क्षेत्रको सही प्रतिनिधित्वका लागि मैले उम्मेदवारी दिएको हुँ ।’ सुवेदीले बताए । उनले पर्यटन तथा आतिथ्य क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका छन् । हाल उनी डिवाइके ग्रुपका अध्यक्ष छन् । डिवाइके ग्रुप अन्तर्गत एपेक्स विजनेस होटेल सञ्चालन गर्दै उनले हस्पिटालिटी क्षेत्रमा काम गरिरहेका छन् । डिवाइके ग्रुपले कुरियर, लजिस्टिक्स, हस्पिटालिटी, ऊर्जा, घरजग्गा र सैलुन लगायत विभिन्न क्षेत्रमा सेवा प्रदान गर्दछ ।
सुवेदीले एपेक्स वल्र्डवाइड एक्सप्रेस प्रा.लि., एपेक्स वल्र्डवाइड एक्सप्रेस (भारत र अमेरिका)पनि सञ्चालन गरिरहेका छन् । नेपालमा मात्र नभइ विदेशका विभिन्न ठाउँमा सामान ढुवानीको लागि एपेक्स ग्लोबल लजिस्टिक प्रा.लि.नामक ग्लोबल ब्राण्ड पनि सञ्चालन गर्दै आइरहेका छन् । यसबाहेक उनले बज्र इनर्जी भेन्चर्स प्रा.लि., भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड, कन्भिनियन्स प्रोडक्ट प्रा.लि. र राजवाला ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि. समेत स्थापना गरी सञ्चालन गरिरहेका छन् । उम्मेदवारी घोषणा गर्दै सुवेदीले भने–‘मेरो विगतको अनुभव र नेतृत्व क्षमताको प्रयोग गर्दै उद्यमीहरूको साझा आवाज बन्न र व्यवसायी समुदायले भोगिरहेका वास्तविक समस्या समाधान गर्न म निरन्तर प्रयास गर्नेछु ।’ व्यावसायिक क्षेत्रमा लामो अनुभव बोकेका सुवेदी विभिन्न संघ–संस्था पनि आवद्ध छन् । उनी नेपाल कुरियर सेवा संघ, रोटरी इन्टरनेशनल, जेसिस नेपाल, पतञ्जली योगपीठ र एभरेष्ट चेम्बर अफ कमर्स (भारत) लगायतका संस्थामा सक्रिय छन् ।











प्रतिक्रिया