कोका कोलाको वर्ल्ड कप २०२६ अभियान सुरु


काठमाडौं।

कोका कोला नेपालले फिफा वर्ल्ड कप २०२६ अभियान औपचारिक रूपमा सुरु गरेको छ । यस अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरू सहभागी भएका थिए । कार्यक्रममा कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर सार्वजनिक पनि गरिएको थियो । साथै फिफा वर्ल्ड कप २०२६ का स्टारहरू, अभियानसँग सम्बन्धित अडियो–भिजुअल सामग्री पनि प्रस्तुत गरियो । त्यस्तै छिट्टै बजारमा आउने सीमित संस्करणका आधिकारिक कोका–कोला फिफा प्याकहरूको पहिलो झलक पनि देखाइएको थियो ।

कार्यक्रममा बोल्दै बोतलर्स नेपालका प्रबन्ध निर्देशक अजय कोनालेले यो अभियान केवल फुटबलको उत्सव मात्र होइन, फिफाको विश्वव्यापी आकर्षणलाई नेपाली उपभोक्ताको जीवनसँग जोड्ने प्रयास भएको बताउनु भयो । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका अभिनेता प्रदीप खड्कालाई कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर घोषणा गरिएको थियो । त्यसैगरी, अभियानका मुख्य अनुहारका रूपमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अन्जल विष्ट र अन्जन राना मगर तथा अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत गरिएका थिए ।

कोका कोलाको फिफासँगको सहकार्य विश्व खेलकुदकै सबैभन्दा लामो साझेदारीमध्ये एक हो । यो सम्बन्ध सन् १९७४ मा सुरु भएको हो भने सन् १९७८ देखि कोका कोला फिफा विश्वकपको आधिकारिक प्रायोजक रहँदै आएको छ । नेपालमा पनि यो ब्रान्ड पाँच दशकभन्दा बढी समयदेखि लगातार सक्रिय रहँदै आएको छ ।