गालीगलौज आरोपमा पक्राउ परेका रोशन पोखरेल छुटे


काठमाडौँ।

प्रधानमन्त्री बालेन्द्र शाहसहित विभिन्न नेताविरुद्ध युट्युबमा अपमानजनक शब्दहरु प्रयोग गरेर भिडियो बनाएको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल रिहा भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णका अनुसार आवश्यक पर्दा उपस्थित हुने सर्तमा उनलाई हजुरआमा र काकाको जिम्मा लगाइएको हो।

फाल्गुनन्द गाउँपालिका–७, पाँचथरका पोखरेललाई चैत २६ गते पक्राउ गरिएको थियो। नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउपछि जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरिएको थियो।

उनको पक्राउपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन्द्र शाहप्रति विभिन्न प्रतिक्रिया देखिएका छन्। केही प्रयोगकर्ताले उनको आलोचना गर्दै पुराना फेसबुक स्टाटस र भिडियोहरू समेत पुनः सेयर गरिरहेका छन्।